…त्यसपछि अमेरिका उडिन् सागरिका
अखबार टुडे
प्रकाशित:
२०८१, १८ भाद्र

काठमाडौं । सागरिक श्रेष्ठ टेलिदर्शकमाझ एक समय चर्चित थिइन् । जतिखेर उनी ‘कल कान्तिपुर’को प्रस्तोता थिइन् । त्योबेला ‘कल कान्तिपुर’ लोकप्रिय थियो । सोही कार्यक्रममार्फत चर्चामा आएकी सागरीका पुनः मिडिया क्षेत्रमै पुनरागमन चाहन्छिन् ।
अध्ययनको सिलसिलामा हाल अमेरिकाको न्यूयोर्क बस्दै आएकी सागरीका भन्छिन्, ‘अध्ययन सकाएपछि मिडिया क्षेत्रमै काम गर्ने सोच बनाएकी छु ।’ पब्लिक रिलेशन विषयमा स्नाकोत्तर गरेकी सागरीका हाल डिजिटल मार्केटिङ एण्ड मिडियासम्बन्धी अध्ययनरत छिन् । उनी भन्छिन्, ‘डिजिटल मार्केटिङ एण्ड मिडियामा मास्टर डिग्री गरेपछि मिडिया क्षेत्रमै काम गर्ने सोच बनाएकी छु ।’

काठमाडौं बालाजुकी सागरीका मोडलिङमा पनि रुची राख्छिन् । केही म्युजिक भिडियो र विभिन्न विज्ञापनमा मोडलिङ गरिसकेकी सागरीका भन्छिन्, ‘फिल्ममा भने इच्छा छैन ।’ उनी न्युयोर्कमा अध्ययनसँगै ‘नेपाल इभेन्टस्’लगायत विभिन्न क्षेत्रमा आवद्ध छिन् । सन् २०२१ मा अध्ययनका लागि न्यूयोर्क पुगेकी सागरीका हालै केही दिनका लागि विदामा नेपाल आएकी थिइन् । छोटो विदामा आएकी सागरीकाले भनिन्, ‘यसपालीको विदा पारिवारिक भेटघाटसँगै अन्तरवार्ताहरुमै बित्यो ।’ उनी अमेरिका फर्किसकेकी छन् । सागरीकासँग गरिएको कुराकानीको संक्षिप्त अंश :

अमेरिकाको कुन सिटीमा बस्नुहुन्छ ?
न्यूयोर्कको क्वीन्समा बस्छु, जहाँ नेपालीहरु धेरै हुनुहुन्छ ।

अमेरिका जानुभएको कति वर्ष भयो ?
चार वर्ष पूरा हुँदैछ । अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी हुँ ।

पढाइ के हुँदैछ ?
पब्लिक रिलेशन सम्बन्धी विषयमा हालै मास्टर डिग्री सकेँ । अब डिजिटल मार्केटिङ एण्ड मिडियामा मास्टर डिग्री गर्दैछु ।

पत्रकारिता तपाइँको रुची हो ?
हो, पत्रकारिता एवं आमसञ्चार क्षेत्रमा रुची भएकै कारण अध्ययन पनि मिडियासँग सम्बन्धीत नै गर्दैछु । अमेरिका जानुअघि नेपालमा हुँदा मिडियामै आवद्ध थिएँ ।

कुन मिडियामा हुनुहुन्थ्यो ?
कान्तिपुर एचडी टेलिभिजनबाट प्रसारण हुने ‘कल कान्तिपुर’मा प्रस्तोता थिएँ । त्यो समय ‘कल कान्तिपुर’ कार्यक्रम लोकप्रिय थियो । साथै, केही समय कान्तिपुर रेडियोमा पनि काम गरेँ । ‘कल कान्तिपुर’मा करिब चार वर्ष काम गरेँ । काम गरिरहेकै बेला अध्ययनका लागि अमेरिका गएँ ।

‘कल कान्तिपुर’मा कसरी छिर्नुभएको थियो ?
त्यो अवसर पनि इन्टरभ्युकै क्रममा जुरेको थियो । म एउटा कार्यक्रममा लागि सुरजसिंह ठकुरीको अन्तरवार्ता लिन गएकी थिएँ । त्यही बेला कान्तिपुर एचडी लन्च हुन लागेको थियो । कुराकानीकै क्रममा सुरज सरले होस्टको खोजी भइरहेको छ, इच्छा छ भने एप्लाई गर्नु भन्नुभयो । सानैदेखि टेलिभिजनमा कार्यक्रम चलाउने मेरो रुची थियो । मैले आवेदन दिएँ । त्यसपछि स्क्रिन टेस्ट भयो । पास पनि भएँ । त्यसपछि सुरुमा मैले ‘के छ आज घरमै’ भन्ने कार्यक्रम होस्ट गरेँ, जुन लाईभ हुन्थ्यो । त्यसपछि ‘कल कान्तिपुर’मा होस्ट भएँ । त्यस समयमै रेडियो कान्तिपुरमा पनि आवद्ध भएँ । त्यो बेला रेडियो कान्तिपुरमा ‘गुड मर्निङ नेपाल’ कार्यक्रम चलाएकी थिएँ ।

अमेरिकामा पढाइबाहेक के गर्नुहुन्छ ?
एउटा कलेजमा ग्राजुएट असिस्टेन्टको काम गर्छु । उक्त कलेजेको म शोसल मिडिया हेर्छु । साथै, नेपाल इभेन्टस्मा पनि होस्टका रुपमा आवद्ध छु ।

न्यूयोर्कमा तपाइँको परिवारका कोही हुनुहुन्छ कि ?
कोही छैन । न्युयोर्कमा एक्लै बस्छु । भर्जिनियामा मेरो भाइ छ । मेरो भाइ म भन्दा अगाडि अमेरिका आएको हो ।

त्यहाँ नेपाली कम्युनिटी कस्तो छ ?
म बस्ने क्वीन्समा हो । जहाँ थुप्रै नेपाली बस्छन् । नेपालीहरु त्यहाँ मिलेर बसेका छन् । खाशगरी, केही पर्दा एकआपसमा साथ सहयोग हुने गरेको छ ।

अध्ययनका लागि किन अमेरिका नै रोज्नुभयो ?
मुख्य कुरा अर्पचनिटी नै हो । नेपालमा पढेर पनि अवसर पाइँदैन । तर, अमेरिकामा अवसर पनि पाइन्छ । पढाइका लागि त्यहाँ वातावरण पनि राम्रो छ ।

समयको व्यवस्थापन गर्न त गाह्रै होला नि ?
मैले पढाइसँगै काम गर्न पनि भ्याइरहेकी छु । म सातामा ४ देखि पाँच दिन कलेज जान्छु । यो भनेको कलेजको फुलटाइम हो । साथै, मैले काम पनि गर्न भ्याएकी छु ।

तपाइँको लक्ष्य के हो ?
मास्टर कम्प्लिट गरेपछि मिडिया हाउसमै काम गर्ने सोच छ । अमेरिकामै वा नेपालमै किन नहोस्, राम्रो मिडिया हाउसमा आवद्ध भएर काम गर्ने सोच छ ।

मोडलिङतिर रुची छ कि छैन ?
मोडलिङमा पनि रुची छ । नेपालमा हुँदा केही म्युजिक भिडियो र विभिन्न विज्ञापनहरुमा मोडलिङ पनि गरेकी थिएँ । साथै, क्यालेण्डर मोडलिङ र फोटोसुटहरु पनि गरेकी छु ।

फिल्ममा काम गर्ने इच्छा छ कि छैन ?
त्यस्तो केही सोचेकी छैन । तत्काल फिल्ममा काम मेरो कुनै योजना र इच्छा छैन । तर, मोडलिङ भने गर्छु ।

यो पटक नेपालका केका लागि आउनुभएको नि ?
कलेज विदाको समय भएकोले नेपाल आएकी हुँ । विदाको सदुपयोग गर्दै घरपरिवार र साथीभाइ पनि भेटौँ भनेर छोटो विदामा आएकी हुँ । दुई साताको विदामा आएकी थिएँँ, यो समय भेटघाट र मिडियाहरुमा अन्तरवार्तामै वित्यो ।

अमेरिका गएदेखि पहिलोपटक आउनुभएको हो ?
होइन, सन् २०२२ मा आएकी थिएँ । त्यो बेला एउटा फेसन शोको होस्ट गर्न नेपाल आएकी थिएँ ।

यो पटकको नेपाल बसाइँ कस्तो रह्यो ?
घरपरिवार, साथीभाइ, मिडियाकर्मी साथीहरुसँग भेट भयो । छोटो समय भएपनि धेरै उपलब्धीपूर्ण भेटघाटले गर्दा यो विदा मेरो लागि रमाइलो र अविस्मणीय रह्यो ।

प्रतिक्रिया