लोक तथा दोहोरी गीतसंगीत क्षेत्रमा छोटो समयमै चम्किएकी नाम हो, अस्मिता डल्लाकोटी । १७ वर्षकै उमेरमा ‘दोहोरी च्याम्पियन’बाट चम्किएकी गायिका अस्मिताले हालसम्म आठ सय बढी गीत गाइसकेकी छन् । अस्मिताका अधिकांश गीत चर्चित छन् । ‘लाईभ दोहोरी’का लागि त अस्मिता छुट्याउनै नहुने नाम बनेको छ । गायनयात्रा तय गर्दैगर्दा उनी ‘भाइरल गायिका’ भनेरसमेत चिनिन्थिन् ।
धादिङ, बेनीघाटकी अस्मिता भन्छिन्, ‘एसएलसी सक्नेवित्तिकै गायनमा लागेकी हुँ । त्यो बेला १७ वर्षकी मात्र थिएँ ।’ गायनमा नाम र दाम कमाइन्छ भन्ने सोचेर गायन रोजेको अस्मिताको भनाइ छ । चितवनबाट करिअर सुरु गरेकी अस्मितालाई हिजोआज भ्याइनभ्याई छ । अस्मिताले गाएको पछिल्लो गीत हो, ‘नरोऊ है आमा’ । लोकप्रिय गीतकार शिव सुवेदीको शब्दरचना रहेको उक्त गीत अहिले चर्चामा छ । प्रस्तुत गायिका अस्मिता डल्लाकोेटीसँगको कुराकानी :
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
गीतसंगीतमै व्यस्त छु । गीत रेकर्डिङ र लाईभ दोहोरी कार्यक्रमहरुमा बढी व्यस्त छु । साथै, मेरो अफिसियल गीतहरु पनि गर्दैछु ।
पछिल्लो गीतबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
एकदमै सकरात्मक प्रतिक्रिया आइरहेको छ । ‘नरोऊ है आमा’ बोलको उक्त गीतलाई दर्शक तथा श्रोताले अत्याधिक मन पराइदिनुभएको छ । शिव सुबेदी दाइको यो गीतको शब्द नै मन छुने छ । सोलो प्लाटममा गाएको यो मेरो पहिलो गीत हो । मेरो प्रायः गीतहरु डान्सिङ र फास्ट प्लाटमका छन् । साथै, यो गीतको भिडियोमा आफैँले मोडलिङ पनि गरेकी छु ।
गायनसँगै अभिनय पनि राम्रो गर्नु हुँदोरहेछ । रुची यतातिर पनि हो ?
रुचीभन्दा पनि म आफ्नो गीतको भिडियोहरुमा आफैंले मोडलिङ र अभिनय गर्दै आएकी छु । अरु कलाकारको गीतमा भने अहिलेसम्म मोडलिङ गरेको छैन ।
मोडलिङकै लागि प्रस्ताव आयो भने गर्नुहुन्छ ?
यदि मलाई राम्रो लाग्यो भने अवश्य गर्छु । मेरो पहिलो प्राथमिकता चाहिँ गायन नै हो । तैपनि, गीत चित्त बुझ्यो भने मोडलिङ पनि गर्छु ।
गायन क्षेत्र किन रोज्नुभयो ?
जब गीत गाउन सक्छु भन्ने लागेपछि लाग्यो– गीत गाउँदा र नाम र दाम दुवै कमाइन्छ । र, अर्को कुरा सहर बजारतिर गीत गाउन पाइन्छ भनेर यो गायन रोजेकी हुँ । त्यो बेला गीत गाउन मात्र पाउँदा पनि के नै पाएजस्तो लाग्थ्यो ।
लोकदोहोरी नै गाउनुको कारण के हो ?
गाउँघरमा पुजा आजामा भजन तथा लोकगीत र दोहोरी गायन हुन्थ्यो । त्यस्तो कार्यक्रमहरुमा म पनि सहभागी हुन्थेँ । अरुसँगै लोकगीत र दोहोरी गाउँथेँ । यहीक्रममा लोकदोहोरी गाउन सुरु गरेकी हुँ ।
गीत गाउनकै लागि काठमाडौं आउनुभएको थियो ?
होइन, मेरो सांगीतिक करिअर चितवनबाट सुरु भएको हो । चितवनमा दोहोरीबाट सांगीतिक यात्रा सुरु गरेकी हुँ ।
१६ वर्षकै उमेरमा दोहोरीमा गाउन कसरी सम्भव भयो ?
त्यो बेला त्यहाँ मेरो फूपु् दिदी हुनुहुन्थ्यो । त्यसैले मैले गाउन पाएँ । दोहोरीमा गाउँदा गाउँदै अरु गीतहरु पनि गाउन थालेकी हुँ ।
तपाइँको गाउन थाल्नुभएको कति भयो ?
औपचारिक रुपमा आठ वर्ष पूरा भयो । मैले २०७२ सालदेखि गाउन सुरु गरेकी हुँ । त्यो बेला भर्खरै १७ वर्षकी थिएँ । एसएलसी सक्ने लगत्तै गाउन सुरु गरेकी हुँ ।
अहिलेसम्म कति गीत गाउनुभयो ?
ठ्याक्कै संख्या यकिन छैन । दुई सयभन्दा बढी नै गाएकी छु । यो रेकर्ड भएको गीतको मात्र कुरा गरेकी हुँ । लाइभ दोहोेरी र कार्यक्रमहरुमा गाएको गीतको गन्ती नै हुन्न । कति गाइयो, कति ।
तपाइँलाई चिनाउने गीत कुन हो ?
गीतभन्दा पनि म ‘दोहोरी च्याम्पियन’ प्रतियोगिताबाट चिनिएकी हुँ । २०७८ सालतिरको कुरा हो । उक्त दोहोरी च्याम्पियनमा भाग लिएपछि सांगीतिक बजारमा ‘गायिका अस्मिता डल्लाकोटी’ भनेर चिनिएँ । त्यसपछि मेरो हरेक गीतले मलाई प्लस गर्दै गयो ।
तपाइँलाई एक समय ‘भाइरल गायिका’ पनि भनियो । खाश किन ?
सायद मैले गाएका गीतहरु टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल भएर होला । तर, आफैँलाई भने भाइरल छु जस्तो लाग्दैनथ्यो । दर्शक÷श्रोताले मेरो गीतहरु रुचाइदिँदा खुसी लाग्थ्यो ।
गीतसंगीतबाहेक अरु के गर्नुहुन्छ ?
म केही गर्दिनँ । फुलटाइमर गायिका हुँ । अहिले म गीतसंगीतमै भ्याइनभ्याई छु । त्यसैले अरुतिर ध्यान दिन पनि पाएकी छैन ।
संगीतके औपचारिक ज्ञान लिनुभएको छ ?
म अहिले पनि संगीत सिक्दै छु । पहिले पनि सिकेकी थिएँ । तर, संगीत भन्ने चिज जति डुब्यो, उत्ति गहिरो हुन्छ । त्यसैले सिक्न छाडेकी छैन ।
तपाइँले सोचेजस्तै गायनबाट नाम र दाम पाइरहनुभएको छ ?
गीतसंगीत क्षेत्रमा सबैले चिन्नुभएको छ । त्यसैले नाम पाएकै छुजस्तो लाग्छ । दामबाट पनि सन्तुष्ट नै छु । आफ्नो काम र कमाइबाट खुसी छु ।
भविष्यको लक्ष्य के हो ?
अहिलेसम्म मेरो सारा संसार गीतसंगीत नै हो । गीतसंगीत विनाको जीवन म कल्पना गर्नै सदिन । त्यसैले भविष्यमा पनि संगीतमै रमाउने सोच छ । जबसम्म ज्यान र स्वरले साथ दिन्छ, तबसम्म गाइरहने छु ।