
काठमाडौं । बैंकर बन्न चाहन्थिन् उनी । त्यही सपनाले उनलाई काठमाडौंसम्म तान्यो । कलेज पढ्दैगर्दा उनी सोच्थिन् रे, ‘उच्च शिक्षा हासिल गरेपछि बंैकर बन्नेछु ।’ तर, हिजोआज उनी अर्थात एलिजा लामिछाने टेलिभिजनमा समाचार पढ्छिन् । समाचार वाचन तथा रिर्पोटिङ गर्नु उनका लागि दैनिकीमात्र नभएर प्यासन बनेको छ ।
चितवनकी एलिजा हाल एपीवन एचडी टेलिभिजनमा समाचार वाचिका ‘न्युज एन्कर’का रुपमा कार्यरत छिन् । उनी भन्छिन्, ‘यो मेरो नसोचेको क्षेत्र हो । तर, अहिले खुसी छु ।’ दैनिक देश–विदेशका ताजा गतिविधि तथा समाचार वाचन गर्न थालेपछि उनलाई धेरैले चिन्न थाले, र प्रशंसा पनि बटुल्न थालिन् । त्यसैले पनि उनी टेलिभिजनको रंगीन पर्दामा रमाउन थालिन् । एलिजा भन्छिन्, ‘हरेकदिन टेलिभिजनमा देखिन थालेपछि धेरैले चिन्न थाले । अहिले यसैमा सन्तुष्ट छु ।’ समाचार वाचिका एलिजा लामिछानेसँग कुराकानी ।
सधैं देश–विदेशको हालखबर सुनाउँनुहुन्छ, आज तपाइँकै खबर सुनाउनुस् न ?
मेरो हालखबर ठीकठाक छ । अहिले एपीवान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छु । टेलिभिजिन धाउनु, समाचार वाचन गर्नु र घर आउनु मेरो दैनिकी नै हो ।
तपाइँको टेलिभिजनको यात्रा कसरी सुरु भयो ?
म उच्च शिक्षाका लागि चितवनबाट काठमाडौं आएकी थिएँ । तर, काठमाडौं आएपछि पढाईमात्र गरेर बस्न सम्भव नभएपछि काम गर्ने निधो गरेँ । त्यसपछि टिभी टुडेमा तीन महिनाको टेनिङपछि समाचार भन्ने मौका पाएँ । त्यहाँ लामो समय काम गरेपछि अभिन्युज टिभीमा अफर आयो । त्यहाँ पनि पाँच बर्ष काम गरेँ । अहिले एपीवानमा कार्यरत छु ।
टेलिभिजनमा समाचार वाचिका बन्छु भनेर सोच्नुभएको थियो ?
यो सपनाभन्दा बाहिरको कुरा थियो । यो क्षेत्रमा मेरो कोही छैनन् । मेरो बाल्यकालदेखि नै बैंकर बन्ने रहर र इच्छा थियो । मलाई बैकको काम राम्रो लाग्छ । त्यसैले बैंकर बन्ने तयारीका लागि काठमाडौं आए । तर, काठमाडौ आएपछि सपना फेरियो । आज यही काममा रमाइरहेको छु ।
बैंकर बन्ने इच्छा अपुरो हुँदा दुःख लागेको छ कि छैन ?
छैन । अहिले म यही क्षेत्रमा खुशी छु । र, मलाई रमाईलो लागेको छ । नदेखेको सपनामा काम गर्ने मौका पाएको छु । यो पनि निकै रमाईलो काम हो । टेलिभिजनबाट सबैले चिन्छन् । नाम र दाम कमाएको छु ।
टेलिभिजनमा समाचारमात्र पढनुहुन्छ कि ?
होइन, आवश्यक परेको खण्डमा समाचार लेख्छु र रिपोर्टिङ पनि गर्छु । कहिलेकहीँ बाहिर जानुपर्ने हुन्छ । यसमा पनि बिबिध कामहरु हुन्छन् । म चाहिँ खाशगरी न्युुज बनाएर पढ्ने गर्छु ।
टेलिभिजनमा समाचार वाचन गर्नु कतिको चुनौती छ ?
धेरै चुनौती छ । हामी सधैं नागरिकलाई ताजा खबर दिन तयार भइरहको हुन्छौँ । चार्डवार्डहरु केही भन्न पाइँदैन । दशैँ–तिहार जस्ता पर्ब केही नभनी काम गर्नुपर्छ । झरी, बादल केही भन्न पाइँदैन । आफनो लागि खासै समय दिन पाइँदैन ।
घरपरिवारले के भन्नुहुन्छ ?
बुबा–आमाले यसपालि पनि दशैँमा आउन पाउदिनस् भनेर पहिले नै सोध्नुहुन्छ । पहिले–पहिले ‘बरु राम्रो सरकारी जागीर भइदिए कति राम्रो हुन्थ्यो’ भन्नुहुन्थ्यो । तर, अहिले ‘छोरीले बिशेष दिनमा पनि समाचार पढेर घरघरमा पुगेकी छस् । राम्रो गरेकी छस्’ भन्नुहुन्छ । खुशी लाग्छ त्यति भनिदिँदा ।
पहिलोचोटी समाचार वाचन गर्दा कस्तो अनुुभव भयो ?
डर थियो । के होला, कसो होला भन्ने भएको थियो । तर, नआत्ती समाचार पढेकी थिएँ । समाचार हेर्ने आफन्त र साथीभाइ मेरो कन्फिडेन्ट देखेर छक्क परेका थिए । पहिलोचोटी टिभीमा मलाई देख्दा मेरो बाबा–ममी रुनुभएको थियो रे ।
टिभीमा समाचार पढ्न ट्यालेन्टसँगै सुन्दर पनि हुनुपर्छ भन्छन् नि ?
मलाई त्यस्तो लाग्दैन । खाशमा सुन्दर केलाई भन्ने ? मैले आजसम्म त्यो बुुझेको छैन ।
आफ्नो कामबाट सन्तुष्टि हुनुहुन्छ ?
टेलिभिजनमै काम गरेर काठमाडौंमा सबै इच्छाएको पुरा गरेर अलिअलि सेभिङ पनि गरेकी छु । यसलाई सन्तुष्टि नै मान्नुपर्छ ।
सिंगल हुनुहुन्छ । विवाह पछि पेसामा समस्या पर्छ कि ?
हेरौँ । बुझ्ने मान्छेसँगै विवाह भए हुन्थ्यो । यो पनि भाग्यकै कुरा हो । त्यसो त यस क्षेत्रमा विवाहित साथी तथा दिदीहरुले समय मिलाएर काम गरिराख्नुभएको छ, जसले घरपरिवार पनि समाल्नुभएको छ ।
पछिल्लो समय सम्बन्धबिच्छेदका खबरहर धेरै आउँछ, किन होला ?
मान्छेको आफनो बिचार हो । यही क्षेत्रमा राम्रो र उदाहरणीय जोडी पनि छन् । एकअर्कामा सहकार्य पनि गरेका छन् । घरपरिवार सबैलाई मिलाएर राखेका पनि छन् । तर, हामी नकरात्मक पक्षलाई मात्र ध्यान दिरहेको हुन्छौँ ।
समाचार पढिरहँदा र्सिनन नसक्ने केही घटना याद छन् ?
धेरै यस्ता घटनाहरु वाचन र लेखेको छु । त्यस्ता समाचार लेख्दा हात पनि कामेका थिए भने आवाजहरु लर्वराएका छन् । २०७९ माघ १ गते पोखरामा हवाई दुर्घटना भएको दिन म कहिल्यै बिर्सन सक्दिनँ । खबर पढन निकै गाह्रो भएको थियो । एकै ठाउँमा विमानमा सवार सबैको मृत्यु भएको दृश्य दर्दनाक थियो । यो समाचार पढ्दा भकानिएको थिएँ ।
अहिले टेलिभिजनको क्रेज घट्यो भन्छन् नि ?
टेलिभिजन भनेको टेलिभिजन नै हो । आधिकारिक न्युजमात्र दिन्छौँ । पृष्टि भएका खवरहरुमात्र टेलिभिजनबाट प्रसारण गरिन्छ । त्यसैले टेलिभिजनको क्रेज वा ट्रेण्ड कहिल्यै घट्दैन ।
-दृष्टिबाट