‘दर्शन सलाम गायिका’ सहिमा भन्छिन्- समयले फेशनेवल बनायो
अखबार टुडे
प्रकाशित:
२०८०, ३० आश्विन

पछिल्लो सयमकी चर्चित गायिका हुन्, सहिमा श्रेष्ठ । यतिमात्र नभएर उनी व्यस्त गायिका पनि हुन् । पाश्र्वगायनबाट चर्चामा आइरहेका बेला सहिमाले गाएको नेपाली फिल्म ‘छक्का पञ्जा–४’को ‘दर्शन सलाम’ ब्लकबस्टर बन्यो । जुन गीतले सहिमाको झनै व्यस्तता बढाएको छ । हालैमात्र बेलायतको सांगीतिक टुर सकेर नेपाल फर्केकी सहिमा भन्छिन्, ‘व्यस्त त हुनुप¥यो नि । यही क्षेत्रबाट गरिखानुपर्छ ।’

त्यसो त सहिमा छोटो समयमै चर्चामा आउने गायिकामा पर्छिन् । करिब एक दशकअघि ‘हेरेको हेरै हुन्छु होला’ बोलको गीत हिट भएपछि सहिमाले पछाडि फर्केर हेर्नुपरेको छैन । त्यसयता करिब तीन सय गीतमा स्वर दिएकी सहिमाका एक दर्शनभन्दा बढी गीत ‘ब्लकबस्टर’ छन् । सहिमा ‘भर्सटायल गायिका’का रुपमा समेत चिनिन्छिन् । उनी भन्छिन्, ‘भर्सटायल गायिकाभन्दा मलाई स्वीकार्य छ किनकि मैले सबै जनराका गीत गाउँदै आएकी छु ।’

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु । प्रोगामहरु भइरहेको छ । भर्खरैमात्र बेलायतको सांगीतिक टुर सकेर आएकी हुँ । त्यससँगै रेकर्डिङका कामहरु पनि भइरहेको छ ।

पछिल्लो समय तपाइँ व्यस्त गायिकामा गनिँदोरहेछ नि ?
व्यस्त त हुनुप¥यो । पेसामा व्यस्त भइएन भने गाह्रो हुन्छ । यसै क्षेत्रबाट गरिखानु प¥यो ।

महिना दिनमा कतिवटा कार्यक्रम भ्याउनुहुन्छ ?
हिजोआज त ५/६ वटा गर्दै आएकी छु । सिजनमा त दैनिक नभएपनि १५÷१० वटा स्टेज कार्यक्रम गर्नुपर्छ । अब मेला महोत्सवको सिजन आउँदैछ । जाँडो महिना लागेपछि मेला महोत्सवहरु हुन थाल्छन् । यस्तो अवस्थामा आराम गर्ने समय समेत हुँदैन ।

विदेशका हुने कार्यक्रमहरुमा पनि व्यस्त हुनुहुन्छ होइन त ?
–हो, केही वर्षयता देश–विदेश उत्तिकै कार्यक्रमहरु गर्दै आएकी छु । विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुले नेपाली गीतसंगीतलाई माया गरिदिनुभएको छ । त्यसैले उहाँहरुले बोलाउनुहुन्छ ।

हालसम्म कति वटा देशमा सांगीतिक कार्यक्रम गर्नुभयो ?
युरोपका अधिकांश मुलुक, खाडीमुलुक र हङकङलगायत गरी २५ भन्दा बढी देशमा कार्यक्रम गरिसेकेकी छु । कतिपय देशमा दोहो¥याएर पनि पुगेकी छु ।

अहिलेसम्म चाहेर पनि कार्यक्रममा जाने अवसर नपाएको देश कुन हो ?
मलाई अष्ट्रेलियामा कार्यक्रम गर्ने इच्छा छ । कोरोनाकालअघि कुरा चलिरहेकै बेला लकडाउन भयो । र, मलाई क्यानडा र अमेरिका पनि कार्यक्रम गर्ने इच्छा छ । तर, जाने मौका मिलेको छैन । यी देशका लागि अहिलेसम्म प्रोसेस पनि गरेकी छैन ।

तपाइँ पाश्र्वगायिका कि सुगमगायिका ?
म सबै प्रकारका गीत गाउँछु । तर, मैले गाएका फिल्मी गीतहरु हिट भएका छन् । त्यसैले मानिसहरु मलाई पाश्र्वगायिका पनि भन्छन् । तर, समग्रमा एउटी गायिका हुन् ।

तपाइँलाई ‘आइटम गायिका’ पनि भन्दारहेछन् नि । स्वीकार्नुहुन्छ ?
मैले भनिसके नि, सबै जनराका गीत गाउँछु । मैले लोकआधुनिक, आधुनिक, पप, फिल्म र आइटम सङ पनि गाउँदै आएकी छु । त्यसैले दर्शक तथा श्रोताले जे भन्नुहुन्छ, मलाई स्वीकार्य छ ।

गायनमा हिट भएसँगै ‘गेटअप’ पनि परिवर्तन गर्नुभएको हो ?
यो त समयको माग हो । समयअनुसार परिवर्तन हुनै प¥यो । त्यसमाथि हामी कलाकार फिल्डमा देखिने हो । त्यसैले बाहिरी लुक्स पनि चाहिन्छ ।

सुरुमा दिनहरुमा सिम्पल हुनुहुन्थ्यो । कसरी आयो ग्ल्यामरस बन्ने सोच ?
समयले नै सिकाएको हो । समयसँगै परिवर्तन हुँदै जाँदा फेसनेवल पनि हुनुपर्ने रहेछ भन्ने अनुभूति भयो । ग्ल्यामरस हुनु त राम्रो हो नि, भल्गर पनि हुनु भएन ।

‘मिनि स्कर्ट’मा स्टेजमा सांगीतिक प्रस्तुती दिने अवस्था आयो भने गर्नुहुन्छ ?
गर्छु । स्टेज पर्फमेन्स गर्दा स्कट लगाउनु हुँदैन भन्ने त छैन नि । त्यो लगाउनकै लागि बनाइएको हो । तर, अवस्था हेरि स्टेजमा प्रस्तुुत हुनुपर्छ ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
यो क्षेत्रमा लागेको एक दशक पु¥यो । यस अवधिमा आधुनिक, फिल्मी सबै गरी तीन सय बढी भयो होला । तर, कतिपय गीत रेकर्ड भएर पनि बाहिर आएको छैन ।

तपाइँले गाउनुभएका अधिकांश गीत चर्चित छन् । गीत छनोट गरेर मात्र गाउनुहुन्छ ?
त्यस्तो होइन । संगीतकारहरुले गाउन दिनुहुन्छ । गाउँछु । अर्को कुरा गीत गाउनुअघि कुन गीत हिट र फ्लप हुन्छ भन्ने थाहा हुँदैन । गीत हिट हुनु लक हो ।

तपाइँका हिट गीतहरु भन्नुपर्दा ?
पछिल्लो समय हिट भएको ‘छक्का पञ्जा–४’को ‘दर्शन नमस्ते’ हो । यो गीत अत्याधिक हिट भयो । जसले मलाई ‘दर्शन सलाम गायिका’को रुपमा समेत चिनाएको छ । त्यसबाहेक ‘डोला डोला’, ‘पिक्चर हिट’, ‘शिल्की कपाल’, ‘ल्याङल्याङ’, धर्ति आकाश’लगायत छन् । मैले गाएका प्रायः फिल्मी गीतहरु चर्चित छन् ।

देश–विदेश घुमिरहनुहुन्छ । प्रेम प्रस्ताव कतिको आउँछ ?
प्रेम प्रस्ताव आउनु सामान्य हो, जो सबैलाई आउँछ । कसैले कसैलाई मन पराउनु राम्रो कुरा हो । स्वीकार्नु वा अस्वीकार्नु आफ्नो कुरा हो ।

तिमीविना बाँच्नै सक्दिनँ भन्नेहरुलाई के भन्नुहुन्छ ?
मलाई यस्तो कुरामा विश्वास नै लाग्दैन किनकि यहाँ कसैविना कोही बाँच्नै नसक्ने भन्ने छैन ।
–दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया