नेपालमा बैंकहरूको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले असर गर्दैन : गभर्नर अधिकारी
अखबार टुडे
प्रकाशित:
२०७९, २८ चैत्र

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन् । मंगलबार चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

अधिकारीले वित्तीय संस्थामा पुँजी प्रयाप्तता ,बढ्दो रेमिटेन्स,अघिल्लो वर्षको तुलनामा चालु खर्च घाटा सुधारिनुलगायत कारणले वित्तीय क्षेत्र सुरक्षित रहेको बताए । उनले भने, ‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ । सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन । तथ्यांकहरू पनि बलिया छन् ।’

उनले बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभावका कारणले समस्या आउने अवस्था नभएको बताए । गभर्नर अधिकारीले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको बताए ।

उनले बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गरे । गभर्नर अधिकारीले व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको बताए । उनले फागुनदेखि कर्जाको ब्याजदर स्थिर भए पनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केहीमाथि रहेको बताए ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार पछिल्लो चार महिनामा निरन्तर रुपमा १ अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिरहेको अवस्था देखिएको छ । चालु आर्थिक वर्षको औषत रेमिट्यान्स ९९ अर्बप्रति महिना भित्रिएको छ । यता सरकारको चालु खाता घाटामा सुधार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा छ । अघिल्लो वर्षको ८ महिनामा ४ सय ६० अर्बले ऋणात्मक रहेको चालु खाता घाटामा उल्लेख्य सुधार भएको हो ।

त्यस्तै, विदेशी विनिमय सञ्चिति पनि सुविधाजनक अवस्थामा देखिएको छ । गत असार मसान्तमा १२ सय १५ अर्बको सञ्चिति रहेकोमा अहिले १४०१ अर्ब सञ्चिति रहेको छ । फागुन मसान्तसम्म शोधनान्तर स्थिति (नेपालबाट बाहिरिने र भित्रीले विदेशी मुद्राको अन्तर) १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा गएको छ । माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो ।

गत वर्ष फागुन मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब रुपैयाँले घाटामा थियो । असोज यता शोधनान्तर स्थिति निरन्तर बचतमा छ । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४।८ प्रतिशतले बढ्नुको साथै आयात २० प्रतिशतले घटेपछि शोधनान्तर स्थिति बचतमा गएको हो । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ । माघमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ७।४४ प्रतिशत कायम भएको हो । माघ मसान्तसम्म महँगी ७।८८ प्रतिशत थियो । गत वर्षको तुलनामा भने महँगी बढेको हो ।

प्रतिक्रिया