संसारकै लामो ! राजेशपायललाई १० घण्टा निरन्तर सुन्न सकिन्छ …(जुकबक्स)
अखबार टुडे
प्रकाशित:
२०७७, १३ मंसिर

काठमाडौं, १३ मंसिर । ‘राई इज किङ’का रुपमा चर्चित नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राई गीतमात्र होइन, कामसमेत फरक गर्न रुचाउँछन् । गायनमा चर्चा र व्यस्तताका बाबजुद पनि सामाजिक तथा विभिन्न कार्यमा सक्रिय उनी सधैँ चर्चाका पात्र बन्छन् ।
यस्तै, यसपटक उनले केही फरकरुपमा चर्चामा आउने काम गरेका छन् । राजेशपायलले आफ्नो अफिसियल यु–ट्युब च्यानल ‘दर्शन नमस्ते इन्टरटेनमेन्ट प्रालि’मा आफ्ना गीतहरुको संगालो जुकबक्समा ल्याएका हुन् । १० घण्टा १८ मिनेट लामो उक्त जुकबक्स सम्भवतः संसारकै लामो जुकबक्स भएको उनको दावी छ । राजेशपायलले ‘बेस्ट अफ राजेशपायल राई’ शीर्षकमा अपलोड गरिएको जुकबक्सको क्याप्सनमै लेखेका छन्, ‘मस्ट लार्जेस्ट सङ्स कलेक्शन इन द वल्र्ड’ ।
शनिबार उनको नीजि कार्यलयमा भेटिएका राजेशपायलले भने, ‘यो जुकबक्स सम्भवतः संसारकै लामो हो ।’ यस जुकबक्समा उनका अधिकांश गीत अँटाएका छन् । उनका अनुसार म्युजिक नेपालमा निहित गीतबाहेक हालसम्मका अधिकांश एउटै जुकबक्समा नन् स्टप सुन्न सकिन्छ ।
लामो समययता नेपाली सांगीतिक क्षेत्रमा एकछत्रजस्तो राज गर्दै आएका राजेशपायलले हालसम्म कति गीतमा स्वर दिए भन्ने उनैलाई समेत थाहा छैन । त्यसैले जुकबक्समा कति गीत सुन्न सकिन्छ भन्ने पनि उनलाई थाहा छैन ।
हजारौँ गीत गाइसकेका उनका दर्जनौँ एल्बम प्रकाशित छन् । हरेक शैली र भाषामा गीत गाउँदै आएका राजेशपायल यतिखेर भने ‘दर्शन नमस्ते–५’ ल्याउने तयारीमा छन् । शनिबार उक्त एल्बमकै गीत रेकर्डिङका लागि स्टुडियो जानुअघि राजेशपायलले भने, ‘दर्शन नमस्ते–५’ चाँडै श्रोता तथा दर्शकमाझ आउनेछ ।’

प्रतिक्रिया