मेगास्टार राजेशपायलमाथि शंका गरिएको एउटा निम्तो ! (निम्तोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २५ चैत्र

काठमाडौं, २५ चैत । नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राईले सोमबार साँझ पत्रकारहरुलाई ‘सप्राइज सेलिब्रेसन’ भन्दै निम्तो बाँडे । ब्याचलर गायकको ‘सप्राइज’ निम्तो आएपछि सबैले शंका गरे, ‘कतै राजेशपायलको यो सप्राइज विवाहको घोषणा त होइन ।’

यस्तो थियो निम्तो…

गायक राजेशपायल राइको “Surprise Celebration Party” मा यहाँ को उपस्थिती जनाइ कार्यक्रमको सोभा बढाइ दिनुहोला ! स्थान रक हाउस, रातो पुल मिती : चैत्र २४ समय दिउसो को 2:३० बजे प्रार्थी : राजेशपायल राइ दर्शन नमस्ते इन्टर्टेन्मेन्ट प्रा.लि .


निम्तोमा मंगलबार ३ बजे रातोपुलस्थित रकहाउस क्याफेमा उपस्थित हुन भनिएको थियो । सधैं प्रेम र विवाहको प्रश्नमा घेरिरहने राजेशपायलको ‘सप्राइज’ निम्तो पाएपछि युट्युबरमात्र होइन, मूलधारका पत्रकारसमेत हुर्रिएर रकहाउस क्याफे पुगेका थिए । तर, माहोल बेग्लै थियो । त्यहाँ न राजेशपायलको गर्लफ्रेण्ड नै थिइन्, न त विवाहको घोषणा कार्यक्रम नै थियो ।
कार्यक्रम थियो, राजेशपायलले गाएको विभिन्न तीन गीतले यु–ट्युबमा करोड बढी भ्युअर्स पाएको खुसीयालीमा सेलिब्रेसन । करोड क्लवको सेलिब्रेसनमा केक काट्ने कार्यक्रममा राखेका राजेशपायलले भने, ‘यो एउटा सामान्य कार्यक्रममा हो, मिडियाका साथीहरुसँग करोडको खुसी बाँडौँ भनेर निम्तो दिएको हुँ ।’
नेपाली फिल्म ‘ए मेरो हजुर–२’को ‘उकालीका जाँदा जाँदै’, फिल्म ‘विरविक्रम’को ‘टलटल टल्कियो’ र राजेशपायलकै स्वर रहेको आधुनिक गीत ‘फूलेको वन’ गीतको भिडियोले यु–ट्युबमा करोड बढी भ्युअर्स पाएको छ ।
पछिल्लो समय अधिकांश गीतले करोड बढी भ्युअर्स पाउने गरेको छ । तर, त्यस्ता भिडियोहरु भ्युअर्स बढाउन डलर तिरेर बुस्ट गरिएको हुन्छ । राजेशपायलद्वारा स्वरबद्ध यी करोड क्लवमा प्रवेश गरेका गीतका भिडियोहरु बुस्ट गरिएको होइन । बुस्ट नगरी करोड बढी भ्युअर्स पाएपछि गायक राजेशपायलले खुसीयाली बाँडेका हुन् ।
नेपाली फिल्म ‘ए मेरो हजुर–२’को उकालीका जाँदा जाँदै’ गीतको भिडियो तीन वर्षअघि यु–ट्युबमा अपलोड गरिएको हो । यस्तै, ‘विरविक्रम’को ‘टलटल टल्कियो’ चार वर्ष अघि अपलोड गरिएको हो । मिलन चाम्सले निर्देशन गरेको ‘विरविक्रम’का ‘टलटल टल्कियो’मा राजेशपायलसँगै गायिका अनिला राईको स्वर रहेको छ । यस्तै अर्को फूल फूलेको वन’ चार महिनाअघि यु–ट्युबमा अपलोड गरिएको हो ।
कार्यक्रममा राजेशपायलले ती गीतहरु प्रत्यक्ष गाएर सुनाएका थिए । ‘सप्राइज सेलिब्रेसन’का निम्तो पाएर आएका पत्रकार यु–ट्युबरले राजेशपायलको विवाहको घोषणा होइन, गीत सुनेर रमाइलो गरी फर्किए ।

प्रतिक्रिया