‘म्हेन्दोमाया साम्राज्ञी’ रमलाको नयाँ म्हेन्दोमाया गीत (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, ३ जेष्ठ

काठमाडौं, ३ जेठ । चर्चित म्हेन्दोमाया गायिका रमला पाख्रिन तामाङले नयाँ गीत ल्याएकी गरेकी छन् । रमलाले केही दिनअघि ‘म्हेन्दोरी लोई’ बोलको म्हेन्दोमाया गीत आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । ‘म्हेन्दोमाया’ गीतका लागि रमला चर्चित रमलालाई ‘म्हेन्दोमाया साम्राज्ञी’को रुपमा समेत चिनिन्छन् । रमलाको यो पछिल्लो गीतको भिडियोमा उनी आफैंले अभिनय गरेकी छन् ।

झण्डै अढाई दशकदेखि नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशील रमला ‘म्हेन्दोमाया’ गीतको संरक्षण र प्रवद्र्धन गर्ने आफ्नो उद्देश्य रहेको बताउँछिन् । करिब २५ वर्षअघि ‘म्हेन्दोमायाँ युवा समाज’ नामक संस्था स्थापना भएको थियो, उनी त्यतिबेलादेखि ‘म्हेन्दोमाया’ गीतसंगीतमा लागेकी हुन् । रमलाले हालसम्म ६ सयभन्दा बढी गीत गाइसकेकी छन् ।

‘अहिलेसम्म जति गाएकी छ्ु, अधिकांश म्हेन्दोमाया गीत नै गाएकी छु’ रमला भन्छिन्, ‘धादिङ र नुवाकोटको भाकालाई प्रवद्र्धन र संरक्षण गर्ने मेरो उद्देश्य हो ।’

२०५६ सालमा ‘म्हेन्दोमाया’ गीतिसंग्रह ल्याएपछि औपचारिक गायनयात्रा प्रारम्भ गरेकी धादिङ खनियाबासकी रमला भन्छिन्, ‘सानैदेखि मलाई गीतसंगीतमा रुची थियो । रुचीसँगै म्हेन्दोमाया गायनयात्रा प्रारम्भ गरेकी हुँ । अहिले आएर म्हेन्दोमाया गायिकाकै रुपमा चिनिन पाउँदा खुसी छु ।’

पछिल्लो समय गण्डकीका अधिकांश जिल्लामा ‘म्हेन्दोमाया’ भाका गाइन्छ । तर, धादिङ र नुवाकोटमा गाइने ‘म्हेन्दोमाया’ भाकालाई मौलिक मानिन्छ । त्यही मौलिकता जोगाउनेक्रममै रमलाले आफूलाई ‘म्हेन्दोमाया गायिका’को पहिचान बनाउन सफल भएकी छन् ।

रमलाका ‘कतो तङच्यो रोमा’, ‘अम्बले अम्बले’, ‘लक्पर योन्दोङ’, कस्र्योल पोङ’, ‘साइकोले कोउ’, ‘सिङ्ल म्हने’ ‘गङजोरी तामर म्हेन्दो’, ‘रन्ता तपरीम’, र ‘म्हेन्दोमायाँ ब्याटल’जस्ता गीतहरु चर्चित छन् ।

दर्जनभन्दा बढी सोलो एल्बमकी गायिका रमलाले भनिन्, ‘२०५६ सालमा औपचारिक रुपमा गीतसंगीतमा लागेँ, त्यसपछि ६० को दशकमा आएर मेरो गीतहरु श्रोता तथा दर्शकले रुचाए । विशेषगरी मैले गाएको म्हेन्दोमाया भाका रुचाइएको छ ।’

‘म्हेन्दोमाया गायिका रमलाले गायनकै क्रममा दर्जनौं मुलुक भ्रमण गरिसकेकी छन् । पहिलो विदेशयात्रा दुवईबाट सुरु भएको बताउँदै उनले भनिन्, ‘हालसम्म दुवईसँगै कुवेत, कतार, कोरिया, मलेसिया, जापान, सिंगापुर, बेलायत, भारत, भुटान, थाइल्याण्डलगायत दर्जनौं देशको भ्रमण गरेकी छु ।’

स्नातक तहसम्म अध्ययन गरेकी रमलाले डोरेमी संगीत पाठशाला जमलबाट शास्त्रीय संगीतको आधारभूत शिक्षा लिएकी हुन् । गायिका रमलाले म्हेन्दोमायाका अलावा थुपै नेपाली लोकगीत र दोहोरी पनि गाएकी छन् । उनी भन्छिन्, ‘तर, मेरो मुख्य गायन विधा भनेकै म्हेन्दोमाया हो । जसलाई संरक्षण गर्नुका साथै नाम पनि यसैबाट पाएकी छु ।’

प्रतिक्रिया