एमआरडीएफद्वारा नयाँ कक्षा सञ्चालन सुरु, मनकारीहरुलाई सहयोगको अपिल
अखबार टुडे
प्रकाशित:
२०८१, ८ बैशाख

काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु भएसँगै संगीत अनुसन्धान तथा विकास मञ्च नेपाल (एमआरडीएफ)ले पनि नयाँ कक्षा सुरु गरेको छ । नक्सालस्थित बाल मन्दिरमा बस्दै आएका बालबालिकाहरुलाई संगीत अध्यापन गराउँदै आएको यस संस्थाले शनिबारबाट नयाँ कक्षा सुरु गरेको हो ।

‘हामीले पनि आजदेखि नयाँ कक्षा सुरु गरेका छौँ’ एमआरडीएफका अध्यक्ष तथा गायक एवं संगीतकार ओम सुनारले भने, ‘संगीत सिक्न चाहनेका लागि पनि आजदेखि भर्ना खुला गरेका छौँ ।’ यस संस्थाले प्रतिभा भएका अनाथ, दृष्टिविहीन बालबालिका, कैदीबन्दी तथा वृद्धवृद्धालाई निःशल्क संगीत शिक्षा प्रदान गर्दै आएको छ ।

संस्थाका अध्यक्ष तथा संगीत प्रशिक्षक ओम सुनारका अनुसार हाल बाल मन्दिरमा बस्दै आएका बालबालिका मात्रै विद्यार्थी छन् । तर, संगीत सिक्न चाहने अन्य अनाथ, बृद्धा आश्रम र दृष्टिविहीन प्रतिभाहरुलाई पनि कक्षामा सामेल गराइने अध्यक्ष सुनारले बताए ।

काठमाडौंको कमलादीमा कार्यालय रहेको यो संस्था खाशगरी नेपाली मौलिक गीतसंगीतको अध्ययन र जर्गेना गर्ने उद्देश्यले स्थापना भएको हो । तैपनि यस संस्थाले स्थपनाकालदेखि नै अनाथ तथा दृष्टिविहीन बालबालिका तथा बृद्धबृद्धालाई संगीत सिकाउँदै आएको अध्यक्ष सुनार बताए ।

उनले भने, ‘खाशगरी यो हाम्रो संस्था गैरनाफामूलक संस्था हो । हाम्रो संस्थाको मुख्य उद्देश्य भनेको नेपाली मौलिक गीतसंगीतको अध्ययन र जर्गेना गर्नु हो । यसै अन्तर्गत बालबालिकालाई निःशुल्क संगीत शिक्षा प्रदान गर्दै आएका हौँ ।’

गैरनाफामूलक संस्था भएरपनि अनाथ तथा बृद्धबृद्धालाई निःशुल्क संगीत शिक्षा दिन पाउँदा खुसी लागेको उनले बताए । ‘अहिलेसम्म यहाँहरुको साथ, माया र हौसला पाइरहेको छु । त्यसैमा खुसी छु । र, राम्रो काम गरिरहन प्रतिबद्ध छु’ अध्यक्ष सुनार भने, ‘यस्तो राम्रो काम गर्न पाउँदा मेरो सम्पूर्ण टिमलाई पनि धन्यवाद दिन चाहन्छु ।’

उनले देशविदेशमा रहेका मनकारीहरुलाई सहयोगका लागिसमेत आग्रह गरेका छन् । अध्यक्ष सुनारले भने, ‘हाम्रो संस्था भनेको सहयोगमा चल्ने हो । आय छैन । त्यसैले अहिले संस्थामा संगीत वाद्यवादन सामग्रीहरुको समेत आवश्कता छ । त्यसैले देशविदेशमा रहेका मनकारीहरुलाई हामीलाई सहयोग गरेर पुण्य कमाउन आग्रह गर्दछु ।’

प्रतिक्रिया