जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
अखबार टुडे
प्रकाशित:
२०८१, २३ बैशाख

काडमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अलगिएका अशोककुमार राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीका कारण पार्टी विभाजन भएको बताएका छन् । आइतबार निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएपछि उनले पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवकै कार्यशैलीले पार्टी विभाजन भएको बताएका हुन् ।

नेता राईले नयाँ पार्टी जसपा गठनका लागि आयोगमा निवेदन दिएका छन् । राई प्रस्तावित केन्द्रीय समितिका अध्यक्ष छन् । उनले भने, ‘यो पार्टी विभाजन हो, संघीय संसदका संसदीय दलका सांसदहरूले पार्टी विभाजन गरेको हो । यस्तो निर्णय लिनुपर्ने आवश्यकता प¥यो । किनभने पार्टी महाधिवेशनको संघारमा थियो, स्वच्छ र निष्पक्ष ढंगले महाधिवेशन हुने देखिएन ।’ उनले एकताको महाधिवेशन भने पनि अध्यक्ष यादव पक्षले हतार र विधानविपरीत काम गरेको आरोप लगाए ।

‘हामी अलग भएर नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं,’ राईले भने, ‘उपेन्द्रजीको कार्यशैलीसँग असहमतिले यो परिस्थिति उत्पन्न भयो ।’ आफूहरू अस्थिरताको कारक नबन्ने पनि उनले बताए ।

नेता राईले अहिलेको सत्ता समीकरण फेरबदल हुन खोजेकोले पार्टी फुटेको भन्ने कुरा प्रष्ट रूपमा देखा नपरेको बताउँदै भने, ‘अस्थिरताका संकेत भने अभिव्यक्तिमा देखा परेका थिए, त्यस्तो पनि हुन सक्थ्यो कि भन्ने अनुमान हो । यो सरकारलाई समर्थन निरन्तर रहन्छ ।’

२०७८ मा जारी अध्यादेश र त्यसलाई कार्यान्वयन गर्न बनेको नियमावलीअनुसार नयाँ दल दर्ताका लागि निवेदन दिएको उनको भनाइ छ । जसपा नेपालको ठाउँमा नयाँ दलको नाम जसपा मात्रै राख्न प्रस्ताव गरिएको उनले बताए ।

प्रतिक्रिया