सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
अखबार टुडे
प्रकाशित:
२०८१, २३ बैशाख

काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले विश्वासको मत लिने कार्यक्रम अनिश्चितका लागि स्थगित भएको छ । नेकपा एमालेले विश्वासको मत दिन आलटाल गरेपछि अनिश्चित बनेको हो ।

एमालेकै आनाकानीका कारण मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनका लागि बोलाएको बैठक बस्नै सकेन । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन शुक्रबार बोलाएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गरी शनिबार सारिएको थियो । तर, शनिबार पनि एमालेले आनाकानी गरेपछि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री सोडारीसँग आवश्यक छलफल नभएको, बझाङमा उपचुनावबाट नवनिर्वाचित सदस्यले शपथ नै नलिएको, केन्द्रीय नेतृत्वसँग छलफल नभएको जस्ता कारण देखाउँदै विश्वासको मत दिन आलटाल गर्दै आएका छन् ।

आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत दिन एमाले तयार नहुनुले सत्ता गठबन्धनभित्र आशंका बढेको छ । नेता रावलले छलफल नभएको दाबी गरेपनि एमालेका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालको उपस्थिति रहेको बैशाख १८ गतेको बैठकमा मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने निर्णय गरेको थियो ।

वैशाख ६ गते मा मुख्यमन्त्री नियुक्त भएका सोडारीलाई विश्वासको मत लिन अझै दुई साताको समय लाग्ने देखिएको छ । पहिलो चरणमा मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीले सोडारीलाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आइतबार भएकाले सम्भावित जोखिमको आकलन गर्दै त्यसअगावै विश्वासको मत लिने सोडारीले तयारी गरेका थिए । तर, एमालेको असहयोगपछि उनी विफल भएका छन् ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनेबारे एमाले प्रदेश संसदीय दलमा पनि कुनै छलफल नगरेको एमालेका एक सांसदले बताएका छन् । ती सांसद भन्छन्, ‘हाम्रो तहमा छलफल भएकै छैन । माथिकै निर्देशनमा यो सबै भएको हो ।’

एमाले विश्वासको मत दिन तयार नहुनुको अर्थ सोडारीलाई मुख्यमन्त्रीमा नरुचाएको र विश्वासको मत दिनैपर्ने बाध्यात्मक अवस्थामा पनि एकीकृत समाजवादीलाई गलाउन चाहेको प्रदेशसभाका स्वतन्त्र सदस्य तारा जोशीको दावी छ । उनी भन्छन्, ‘यसले गठबन्धनमै गम्भीर संकट उत्पन्न हुन थालेको स्पष्ट हुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको इगोका कारण पनि मुख्यमन्त्री सोडारीलाई एमालेले गलाउन चाहेको उनको भनाइ छ । ती सांसदले भने, ‘ओली र नेपालको व्यक्तिगत इगोकै कारणले पछिल्लो परिस्थिति उत्पन्न भएको हो ।’

मुख्यमन्त्री सोडारीले भने प्राविधिक कारणले शुक्रबार र शनिबारको तालिका परिवर्तन गर्नुपरे पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउँछन् । उनी भन्छन्, ‘ढिलो चाँडो भएपनि विश्वासको मत पाउनेमा म ढुक्क छु ।’

सुरुमै सोडारीलाई मुख्इमन्त्री बनाउन आनकानी गरेको थियो । केन्द्रीय सत्ता गठबन्धनमै दरार उत्पन्न हुने अवस्था आएपछि मात्र सोडारीलाई मुख्यमन्त्री मान्न एमाले तयार भएको थियो ।

सोडारीलाई एमाले, माओवादी, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसदको समर्थन थियो । त्यसबेलाका समर्थक दल तथा सांसदहरूको संख्याका आधारमा सोडारीले २८ मत पाउने अवस्था छ । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ सांसदको आवश्यकता पर्छ ।

प्रतिक्रिया