नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै, दलहरुबीच सहमति नभए के हुन्छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, १० पुष

काठमाडौं, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । राष्ट्रपतिले यही पुस ३ गते नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।

निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

तर पाँचदलीय सत्तागठबन्धनका दलहरू विभिन्न प्रयासमा मात्र जुटिरहेका छन् । दलहरूसँग कि आज सहमति गरिसक्नु पर्ने वा राष्ट्रपति समक्ष समय थप माग्नु पर्ने दुई विकल्प छन् । यी दुवै नभए राष्ट्रपति कार्यालयबाट अपराह्न ५ बजे पछि अर्को विज्ञप्ति जारी हुने छ ।

संविधानको ७६ को उपधारा १ अनुसार कुनै पनि दलको बहुमत नभएको हुँदा उपधारा २ अनुसार पनि सरकार बनाउन नसके उपधारा ३ अनुसार सरकार बन्न सक्छ ।

उपधारा ३ मा प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

यो उपधारामा टेक्दा शेरबहादुर देउवा प्रधानमन्त्री हुने छन् । उनले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ । राष्ट्रपतिले दिएको समय अझै १० घण्टा बाँकी रहेको हुँदा दलहरू बिच सहमतिको अपेक्षा गरिएको छ । नयाँ सरका बनाउन १३८ सांसद आवश्यक पर्छ ।

हालै सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका दुई सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया