प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने माओवादी तर्क, देउवाको आफ्नै दाउ
अखबार टुडे
प्रकाशित:
२०७९, १ पुष

काठमाडौं, १ पुस । आम निर्वाचनको मतपरिणाम आइसकेसँगै दलहरु सरकार गठनका लागि जोड घटाउमा जुटेका छन् ।
निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको परिणामसहित प्रतिवेदन बुझाइसकेको छ । यससँगै दलहरुले सरकार गठनका लागि ३० दिनको समय पाएका छन् ।

संविधानको धारा ७६ को १ मा निर्वाचनमा बहुमत प्राप्त गर्ने दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । तर, यसपटक कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेका छैनन् । एउटा दलको बहुमत नभएकाले यसपटक संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्री बन्ने अवस्था सिर्जना भएको छ । तर, अहिलेसम्म कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबार दलहरु छलफलमै रहेका छन् ।

नयाँ सरकार गठनका लागि काउन्ट डाउन सुरु भइसकेको अवस्थामा वर्तमान सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरु प्रधानमन्त्री बन्ने होडमा लागेका छन् ।

वर्तमान सत्ता गठबन्धनको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः प्रधानममन्त्री बन्ने दाउमा रहेका छन् । निर्वाचनमा सबैभन्दा धेरै सीट ल्याएर कांग्रेस पहिलो दल बनेकाले पनि आफू प्रधानमन्त्री बन्नुपर्ने देउवाको सोच छ । कांग्रेसभित्र अन्य नेता पनि भावी प्रधानमन्त्रीका दावेदार रहेका छन् । तर, यदि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने हो भने देउवा निर्विकल्प प्रधानमन्त्री हुनेछन् ।

तर, सत्ता गठबन्धनकै साझेदार नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रधानमन्त्रीका लागि अगाडि सरेका छन् । प्रचण्डलाई पार्टीले पनि प्रधानमन्त्रीका रुपमा अगाडि सार्दै आएको छ ।

सरकार गठनका लागि निर्णायक भूमिकामा रहेका माओवादी केन्द्रले अब बन्ने सरकारको प्रधानमन्त्री प्रचण्ड हुनुपर्ने बताउन थालेको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन पार्टी महासचिव महासचिव देव गुरुङलगायतका नेताहरु लागेका छन् । ओवादीका गुरुङले अब बृहत शान्ति सम्झौताको हस्ताक्षरकर्ताको भूमिकाले पनि प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव गुरुङले भने, ‘नर्मल अवस्थामा सरकारको जसले नेतृत्व गरेपनि हुन्छ । संकट पैदा भइसकेको बेलामा अहिलेको परिवर्तनका संवाहक भनेको दशवर्षे जनयुद्ध हुँदै वृहत शान्ति सम्झौता भएपनि नै परिवर्तनको प्रक्रिया सुरु भएको छ । यसको जग नै वृहत शान्ति सम्झौता हो । त्यसैले देशलाई संकट परेको बेलामा बचाउने भनेका नै शान्ति सम्झौताका हस्तारक्षकर्ता नै हुन् ।’

देशको अभिभावक र संरक्षकर्ता नै प्रचण्ड भएको उनको भनाइ छ । ‘यो परिवर्तनको संवाहक र मुलुकको अभिभावक पनि उहाँहरु हो । यतिबेला गिरिजाप्रसाद कोइराला हुनुहुन्न’ उनले भने, ‘एउटा सिंगो प्रचण्डमात्रै बाँकी हुनुहुन्छ । संकटपर्दाको अवस्थामा स्टेटमेन्टसिप लिएका पात्रहरु अघि बढ्ने कि नबढ्ने भन्ने प्रश्न छ ।’

अहिले मुलुकको संकटमा परेको बेलामा अभिभावकको रुपमा प्रचण्डले व्यवस्थाको प्रस्तावक, मुलुकको व्यवस्थाको संरक्षकको रुपमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

‘अहिलेको जस्तो संकट रोक्न माओवादी, चिन्तन, दृष्टिकोणबाट अघि बढ्नुपर्छ भन्ने मान्यता हो’ महासचिव गुरुङले भने, ‘संसदमा त्रिशंकुको अवस्था छ । त्यसले सम्झौता, सहमतिको बाटो नगइ सहमति हुँदैन । सहमति र सम्झौताको बाटो खोज्न माओवादी तयार छ ।’

प्रतिक्रिया