इलाम-२ मा एमालेका सुहाङ विजयी, १६ उम्मेदवारको जमानत जफत
अखबार टुडे
प्रकाशित:
२०८१, १८ बैशाख

इलाम । इलाम–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

बैशाख १५ गते भएको उपनिर्वाचनमा रास्वपालाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको थियो । तर, अन्तिम मत परिणाम आउँदा रास्वपाका उम्मेदवार मिलन लिम्बूले जमानत जोगाउन सकेनन् । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए भने पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । रास्वपाका मिलन लिम्बूको ५ हजार ५० मात्रै मत पाए । रास्वपाका पाएको यो मत कूल सदर मतको १० प्रतिशतभन्दा कम भएकाले जमानत जफत भएको हो ।

यद्दपि, इलाम–२ मा रास्वपाले अघिल्लो पटकभन्दा बढी मत पाएको छ । २०७९ को निर्वाचनमा इलाम–२ मा रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३८० मत पाएका थिए । समानुपातिकतर्फ भने इलाम–२ मा रास्वपाको मत ४ हजार ६४६ थियो ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाममा ६९ हजार ३७४ मत खसेको थियो । त्यसमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो ।

इलाम–२ मा रास्वपासहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशनलगायत १६ उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिक्रिया