इलाममा ओलीले भने- केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौँ
अखबार टुडे
प्रकाशित:
२०८१, १८ बैशाख

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्बाङको विजयी सभालाई सम्बोधन मंगलबार इलाम आएका ओली जात र थरलाई पहिचान बनाउन नहुने बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘पहिचान भनेको के हो ? केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौँ । त्यही पहिचान हो । धनी भए, धनी नेपाली । गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली । पढ्न पायौं भने विद्वान नेपाली, पाएनौं भने बुद्धु नेपाली । कस्तो पहिचान ?’

व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने कोही सफल नहुने उनले भनाइ थियो । ‘समृद्ध नेपाल सुखी नेपाली भनेपछि त्यही हो पहिचान । नेपाली जनता सुखी हुनुपर्छ । प्रदेशको नाम पहिचानको कुरा होइन । पहिचान भनेको नामको कुरा होइन’ ओलीले भने, ‘जाति विशेषको, थर विशेषको कुरा होइन । पहिले पनि जसरी बाँडिएका थिए, मेची, कोशी अञ्चल थिए । तसर्थ यो धेरै ठूलो कुरा होइन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रदेशको नाम साझा राख्दा केही नबिग्रिँने बताउँदै भने, ‘हामी सयौं थुंगा फुलका एउटै माला हौं । इलाममा पनि सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान ।’

एक नम्बर प्रदेशको नामांकनको विषयलाई लिएर कोशीमा पहिचान पक्षधरले विरोध गर्दै आएका छन् । यसैक्रममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा पहिचान पक्षधरले स्वतन्त्र साझा उम्मेदवारका रुपमा डकेन्द्रसिंह लिम्बू थेगिमलाई उठाएका थिए । तर, उनले जित्न सकेनन् । जित्न नसकेपनि थेगिमले सम्मानजनक मत पाएका छन् ।

प्रतिक्रिया