काठमाडौंमा लगानी सम्मेलन सुरु, राष्ट्रपतिद्वारा अध्यादेश जारी
अखबार टुडे
प्रकाशित:
२०८१, १६ बैशाख

काठमाडौं । तेस्रो लगानी सम्मेलन आजबाट सुरु भएको छ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना,उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । सम्मेलनमा लगानीका निम्ति १५१ परियोजना प्रस्तुत गरिँदैछ ।

सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवं कानुनी सुधारका प्रयासबारे सहभागीलाई जानकारी गराइनेछ । ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायत क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने तयारी छ ।

सरकारले लगानी सम्मेलनका लागि करिब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सम्मेलनमा प्रस्तुत हुने १५२ आयोजनामध्ये ४ आयोजनाहरूको आयोजना विकास सम्झौता हुन सक्ने लगानी बोर्ड नेपालका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । त्यसमध्ये ३ को आयोजना विकास सम्झौता (पीडीए) र १ को आयोजना कार्यान्वयन सम्झौता (पीआइए) हुँदैछ ।

नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

यस्तै, भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योगमन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एसिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिङमिङ याङ, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसर, त्यसबाट प्राप्त हुने प्रतिफललगायत लगानीका तुलनात्मक क्षेत्रबारे जानकारी दिने छन् ।

राष्ट्रपति पौडेलद्वारा लगानीमैत्री अध्यादेश जारी

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक लगानी सम्बन्धी केही अध्यादेश जारी गरेका छन् । लगानी सम्मेलन सुरु भएलगत्तै अन्तर्राष्ट्रिय लगानीका लागि बाधक र झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाउन सरकारले सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गरेका हुन् ।

नीतिगत र व्यवसाय सुरू गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधारका लागि सरकारले ९ वटा ऐनलाई अध्यादेशमार्फत् संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ती ऐन २०३४, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६, औद्योगिक व्यवसाय ऐन २०७६ संशोधन गरिएको हो ।

प्रतिक्रिया