मधेशमा एमालेको प्रभावशाली पुनरागमन
अखबार टुडे
प्रकाशित:
२०७९, १५ मंसिर

काठमाडौं, १५ मंसिर । मधेश प्रदेशमा नेकपा एमालेलाई विपक्षीले नकारात्मक रुपले प्रस्तुत गर्ने गर्छन । तर मंसिर ४ गतेको निर्वाचनमार्फत एमालेले मधेशमा प्रभावशाली पुनरागमन गरेको छ ।

मधेशमा एमाले पहिलो शक्तिका रुपमा उदाएको हो । २०७२ सालमा भारतले गरेको अघोषित नाकाबन्दीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोध गरेका थिए । त्यसयता एमालेले मधेसका माग र मुद्दामा प्रतिकूल बन्ने गरेको आरोप लाग्दै आएको थियो ।

तर, विपक्षीले ओलीलाई मधेश विरोधी नेताको रुपमा स्थापित गर्न खोजेपनि मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट मधेशले एमालेसँग साइनो जोडेको छ । त्यहाँका जनताले कांग्रेसको भरोसा र मधेसवादी दलको ‘साथ’ तोड्दै एमालेलाई साथ दिएका हुन् ।

मधेसले एमालेलाई साथ दिनुको मुख्यत दुई देखिन्छ । पहिलो– मधेसको मुद्दा र माग सम्बोधन गराउन मधेसवादी दल जसपा र लोसपा एमाले सरकारमा सहभागी हुनु । दोस्रो – एमाले मधेशविरोधी नरहेको प्रस्ट्याउनु ।

चुनावी अभियानका क्रममा अध्यक्ष ओली मधेशमा लगभग ४ पटक पुगे । उनले त्यहाँ सम्बोधन मात्र गरेनन्, अरू दलबाट थुप्रै नेता–कार्यकर्तालाई पार्टीमा प्रवेश गराए । गत भदौ २७ गते जनकपुरको चुनावी सभामा अध्यक्ष ओलीले ‘एमाले पहाडीको मात्र नभई मधेसीको पनि पार्टी रहेको’ उद्घोष गरेका थिए ।

मधेसका मुद्दा र मागलाई उठाउने दल जसपा र लोसपा दुबै ओली सरकारमा सहभागी भइसकेका छन् । आफ्ना माग र मुद्दा एमालेसँगै ठोक्किने र एमाले पहाडीको मात्र नभई मधेशीको पनि पार्टी रहेको बुझेपछि उनीहरुले एमालेलाई नै रोजेका हुन् ।

मधेशमा रहेका प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्रमध्ये एमालेले ९ क्षेत्र जितेको छ । जसमा कांग्रेसले ७, जनता समाजवादी पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ३, नेकपा एकीकृत समाजवादी २, माओवादी केन्द्र १, जनमत पार्टी १ र स्वतन्त्रले ३ सिट जितेका छन् ।

यता प्रदेशसभाका ६४ क्षेत्रमध्ये १५ क्षेत्रमा एमाले विजयी भएको छ । त्यस्तै नेपाली कांग्रेस १३, जनता समाजवादी पार्टी ९, लोकतान्त्रिक समाजवादी पार्टी ७, जनमत पार्टी ६, नेकपा माओवादी केन्द्र ४, नेकपा एकीकृत समाजवादी ४ र स्वतन्त्र ६ क्षेत्रमा विजयी भएका छन् ।

एमालेका विजयी हुने उम्मेदवारहरूमा सिरहाबाट रामशंकर यादव, लिलानाथ श्रेष्ठ, धनुषाबाट जुलीकुमारी महतो महासेठ, रघुवीर महासेठ, महोत्तरीबाट लक्ष्मी महतो कोइरी, सर्लाहीबाट हरिप्रसाद उप्रेती, बाराबाट अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी शाह, पर्साबाट राजकुमार गुप्ता रहेका छन् ।

यसपटकको निर्वाचनमा नेता प्रभु साहले एमालेलाई धोका दिए । उनले मधेशमा एमालेको उम्मेदवारी नै पर्न नदिने ‘षड्यन्त्र’ गरेको आरोप लागेको थियो भने आफु स्वयमले पनि एमाले दिएको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिए । साहलाई मधेशमा स्थापित नेता मानिन्छ । तर, उनै नेताले षड्यन्त्र गर्दा समेत मधेशमा एमाले ठूलो दल बनेको छ ।

मधेशका कतिपय क्षेत्रमा एमाले र जसपाबीच चुनावी तालमेल भएको थियो । तालमेलको फाइदा दुवै दलले लिएका छन् । एमाले ९ सिट जितेर पहिलो हुँदा जसपा ६ सिट जितेर तेस्रो भएको छ । सत्तारुढ गठबन्धनसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल ३ सिटमा सीमित भएको छ ।

मधेशमा एमाले उदाउँदा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई धक्का लागेको छ । प्रतिनिधिसभामा नेकपा एस २ र माओवादी १ सिटमा सीमित भएको छ । मधेशका चर्चित माओवादी नेताहरू मात्रिकाप्रसाद यादव लगायत पराजित भएका छन् ।

प्रतिक्रिया