आइन्स्टाइनको सापेक्षतासम्बन्धी पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलाम बिक्री
अखबार टुडे
प्रकाशित:
२०७८, ८ मंसिर

काठमाडौं, ८ मंसिर । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिकेको छ ।

बीबीसीका अुनसार प्यारिसस्थित क्रिस्टिको लिलामी घरमा भएको यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको किर्तिमान तोडेको छ । सैद्धान्तिक भौतिकशास्त्रीको महान् वैज्ञानिक काम देखिएका उपलब्ध दुई मध्ये यो एउटा कागज हो ।

सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो । सापेक्षिता सिद्धान्त सम्बन्धी हिसाब गरेको यो पाण्डुलिपि आइन्स्टाइन र उनका स्वीस सहकर्मी मिसेल बेसोले सन् १९१३ र १९१४ तयार गरेका थिए । यी कागजात पनि बेसोले नै राखेका थिए ।

क्रिस्टिको लिलामी घरले यी पाण्डुलिपिलाई जोगाएर राख्ने बेसोको सोचको तारिफ गरेको छ । ‘आइन्स्टाइनले त्यस्ता थिए जसले आफूले लेखेका थोरैमात्रै कागजात राखे, त्यसैले यो पाण्डुलिपि रह्यो भन्ने तथ्य मात्रै पनि हाम्रा लागि असाधारण हो,’ लिलामी घरका विज्ञ भिन्सेन्ट बेल्लोएले भने । पाण्डुलिपिमा कालो कलमले हिसाबकिताब गरिएको छ र बेल्लोएका अनुसार सिद्धान्त तर्जुमा गर्ने दौरान त्यहाँ थुप्रै गल्ती देखिन्छ ।

तर ५४ पृष्ठको यो पाण्डुलिपि कसले खरिद गरेको भन्ने खुलाइएको छैन । आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्ड, ग्रहका कक्ष र ब्ल्याक होलको उत्पत्तिमा थप स्पष्टता ल्याएको थियो । गएको मे महिनामा आइन्स्टाइनको सबैभन्दा चर्चित E=mc2 इक्वेशनबारे लेखिएको पत्र १२ लाख डलरमा अमेरिकामा बिक्री भएको थियो ।

प्रतिक्रिया