दक्षिण कोरियामा चालक दलसहित १८१ जना सवार विमान दुर्घटना, दुई जनाको जिवितै उद्दार
अखबार टुडे
प्रकाशित:
२०८१, १४ पुष

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको छ ।

योनहाप समाचार संस्थाका अनुसार दुईजनाको जीवितै उद्धार गरिएको छ । चालक दलसहित १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार १ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७–८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए ।

आपतकालिन सेवाका अधिकारीहरूले उद्धार गरिएका बाहेक सबैको ज्यान गएको जनाएको छ । सामाजिक सञ्जालमा सार्वजिनक भिडियोमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखिएको छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ । दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । तर, चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको छ ।

प्रतिक्रिया