सियोल । दक्षिण कोरियाको विपक्षी पार्टीले कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध पनि महाभियोग प्रस्ताव दर्ता गरेको छ । कार्यवहाक राष्ट्रपति हानले आफ्ना पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेपछि विपक्षीले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको हो ।
हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा सैनिक कानुन घोषणा गरेपछि दक्षिण कोरिया राजनीतिक संकटमा परेको छ । यस कार्यलाई लिएर डिसेम्बर १४ मा संसद्ले युनको अधिकार खोसेको थियो । तर, महाभियोग प्रक्रिया पूरा गर्न सांसदहरूको निर्णयलाई समर्थन गर्न संवैधानिक अदालतको फैसला आवश्यक छ ।
तर, कार्यवाहक राष्ट्रपति हानले संवैधानिक अदालतको ९ सदस्यीय बेन्चलाई पूर्णता दिन तीनजना मनोनीत न्यायाधीशको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेका थिए । त्यसैले विपक्षी डेमोक्रेटिक पार्टीले हानलाई पनि महाअभियोग लगाउन खोजिरहेको छ ।
सांसद पार्क सुङ–जुनले हानविरुद्धको कारबाहीबारे राष्ट्रियसभामा भने, ‘हामीले प्रस्ताव पेस गरेका छौं । र, यसलाई आज पूर्ण अधिवेशनमा रिपोर्ट गर्ने छौं ।’ उनले हानले तीन न्यायाधीशको औपचारिक नियुक्ति गर्न अस्वीकार गर्नुले उनीमा संविधान कायम राख्ने इच्छा वा योग्यता नभएको भन्ने प्रमाणित गर्ने बताए ।
यदि अदालतले थप तीन न्यायाधीशबिना नै महाअभियोग प्रक्रिया अगाडि बढाउने हो भने हालका सबै ६ न्यायाधीश युनलाई पदबाट हटाउन सर्वसम्मतिले सहमत हुनुपर्नेछ ।