काठमाडौं, १ मंसिर । अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको छ ।
उक्त परीक्षणका क्रममा एउटा रुसी भू–उपग्रह ध्वस्त भएको छ । त्यसले अन्तरिक्ष केन्द्रमा अवशेषहरू उत्पन्न गर्दा त्यहाँ रहेका चालक दलका सदस्यहरूले पृथ्वीमा अवतरण हुने यानमा शरण लिनु परेको बीबीसीले बताएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने, ‘रुसी सङ्घले लापरबाहीका साथ आफ्नै एउटा भू–उपग्रहमाथि एउटा एन्टी–स्याटेलाइट क्षेप्यास्त्र प्रहार गरेको छ ।’ उनले उक्त परीक्षणले हालसम्म सहजै पत्ता लगाउन सकिने एक हजार पाँच सय टुक्रा अवशेषहरू उत्पन्न गरेको र त्यसभन्दा साना सयौँ हजार त्यस्ता अवशेषहरू उत्पन्न भएको बताए ।
ती अवशेषहरूका कारण सबै देशहरूलाई अहित हुने उनको भनाइ छ । तर, रुसी अन्तरिक्ष एजेन्सीले चाहिँ उक्त घटनालाई कम महत्त्वपूर्ण भनेको छ । उक्त एजेन्सीले ट्वीट गर्दै एउटा मापदण्ड अनुसार चालक दलका सदस्यहरू सुरक्षित स्थानमा सरेको बताएको छ ।
अवशेषहरू कुनै पनि घटनाविनै पार भए पनि अहिले त्यसले विवाद निम्त्याएको हो । ती अवशेषहरू रुसी भू–उपग्रह कसमस–१४०८ बाट आएका जस्तो देखिएका थिए । यो एक जासुसी उपग्रह थियो जसलाई सन् १९८२ मा लञ्च गरिएको थियो । यसको तौल थुप्रै टन थियो र पछिल्लो केही वर्षदेखि यसलाई निस्क्रिय गरिएको थियो । अन्तरिक्षको फोहोरबारे जानकारी राख्ने कम्पनी लियोल्याकका अनुसार उनीहरुको न्युजिल्याण्डस्थित रडार सेवाले लामो समयदेखि एक निस्क्रिय अन्तरिक्षयान भएको स्थानमा थुप्रै भग्नावशेष देखेको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा हाल सात जना चालक दलका सदस्यहरू रहेका छन् । त्यसमध्ये चार जना अमेरिकी, एक जना जर्मन र दुईजना रुसी रहेका छन् । अन्तरिक्ष केन्द्रले पृथ्वीभन्दा करिब ४२० किलोमिटरको उचाइमा परिक्रमा गर्ने गर्छ ।