काठमाडौं, १४ कात्तिक । लोकप्रिय शोसल मिडिया फेसबुक कम्पनीले केही दिन अघिमात्र आफ्नो कम्पनीको नाम फेरे । नयाँ नाम राखे ‘मेटा’ तर, यो नाम हिब्रु भाषीका लागि ठट्टा अर्थात हाँसो बनेको छ । विशेषगरी फेबसुक कम्पनीको नयाँ नाम ‘मेटा’ इजरायलमा रमाइलो भएको छ । हिब्रु भाषामा ‘मेटा’को अर्थ मृत्यु हुन्छ । त्यसैले पनि ‘मेटा’ अहिले इजरायलमा चर्चामा छ, तर हाँसोका रुपमा ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार मेटाको उच्चारण हिब्रु भाषाको एउटा शब्द स्त्री लिंगी स्वरूपजस्तै हो । फेसबुकको घोषणापछि हिब्रु भाषीहरूले ट्विटरमा ह्यासट्याग ‘फेसबुकडेड’ प्रयोग गर्दै रमाइलो गरिरहेका छन् । जसले फेसबुकलाई समेत सोच्न बाध्य बनाएको भन्ने समाचारहरु आइरहेका छन् । तर, ती समाचारको आधिकारिक पुष्टि भएको छैन ।
ट्विटर प्रयोगकर्ता नीरित वेस ब्लाटले लेखेकी छन्, ‘हिब्रु भाषामा मेटाको अर्थ मृत्यु । हिब्रु भाषीले आउँदा वर्षहरूको यो नाम सम्झेर हाँस्नेछन् ।’ यस्तै, अर्का एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘सबै हिब्रु भाषीलाई हाँस्ने राम्रो कारण दिएकोमा धन्यवाद ।’
सन् १९८० को दशकमा केएफसी चीन प्रवेश गर्दा यसको नाममा जोडिएको फिङ्गर लिकिङ गुड अर्थात् औँला चाट्नेगरी मिठो शब्दावलीको अनुवाद चिनियाँहरूका लागि रुचिकर बनेन । चिनियाँ भाषाको यसको अनुवाद ‘औँला टोकेर खानुहोस्’ भन्ने अर्थ लाग्यो । तर, यसले कम्पनीलाई खासै असर गरेन किनभने अहिले यो चीनमा सबैभन्दा ठूलो रेस्टुराँ हो ।
नाम परिवर्तनको एउटा प्रशंग
रोयल्सले जर्मनीमा आफ्नो कार सिल्भर मिस्टको नाम फेरेर सिल्भर स्याडो राखे । यसको कारण मिस्टको अर्थ जर्मन भाषामा मलमूत्र भन्ने हुन्छ । सन् २०११ नोकियाले लुमिया फोन घोषणा गर्दा चाहेजस्तो सकारात्मक प्रतिक्रिया पाएन । स्पेनिस भाषी एक समूहमा लमियाको अर्थ वेश्या हुन्छ ।
होण्डाले नयाँ कार फिट्टा राख्दा झन्डै समस्यामा परेको थियो । स्वीडेनमा यो शब्द महिला यौनाङ्गलाई जनाउने फोहोरी शब्द हो । अन्य थुप्रै भाषामा पनि यसको नराम्रो अर्थ लाग्यो तर होण्डाले सुरुमै यो कुरा थाहा पाएर सो कारको नाम थुप्रै देशमा ज्याज राख्ने निर्णय गरेको थियो ।
निष्कर्ष
फेसबुकले नाम फेरेर जसरी हिब्रु भाषीलाई हँसाएका छन् । तर, त्यो मजाम मात्र हुनेछ किनकि, यसअघि गुगलले पनि आफ्नो कम्पनीको नाम फेर्दा यसरी नै मजाक गरिएको थियो । नाम परिवर्तन ठूलो कुरा होइन, जसले संसार उल्टाउँछ । अहिले भनिँदैछ, ‘फेकबुकले किन आफ्नो कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरे ? त्यो फेसबुकमा संस्थापक सिईओ मार्क जुमरबर्गले स्पष्ट भनेका छन्, ‘हामी अब नयाँ तरिकाले अगाडि बढ्दै छौँ, हामी संसारका नागरिकसँग अझ नजिक भएर जोडिने छौँ ।’