काठमाडौं, ७ कार्तिक । नेपाली युवा राष्ट्रिय फुटबल टोलीले इरानविरुद्ध खेल्दै एएफसी यू–२३ एसियन कप छनोटको यात्रा सुरु गर्दैछ ।
ताजिकिस्तानमा भोलिदेखि सुरु हुने छनोट खेलमा निकै बलियो मानिएको टोली इरानविरुद्ध खेल्दै नेपालले छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीले उच्च प्रदर्शन गर्ने भन्दै राम्रो नतिजाको आशा राखेका प्री म्याच कन्फरेन्समा बताए ।
उनले विपक्षी टोली बलियोे भए पनि आफ्नो टोलीले नतिजाका लागि सक्दो प्रयास गर्ने बताए । तेइस खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली यसअघि मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको थियो ।
छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् । नेपालले आफ्नो दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल कात्तिक १४ गते लेबनानसँग खेल्नेछ ।
एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई विभिन्न ११ समूहमा विभाजन गरेको छ । नेपालले हालसम्म एएफसी यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको छैन ।
गोलरक्षकः अर्पण कार्की, विशाल सुनार र अभिषेक बराल
डिफेन्डरः सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, अभिषेक लिम्बू र शिव गुरुङ
मिड फिल्डरः नितिन थापा, सुरज ज्यू ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट तथा रोशन पहारी
फरवाडः मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ र ऋतिककुमार खड्का
इतिहास
नेपाली यू-२३ टोलीले यस पटक एसियन कप छनोटमा समूह ‘बी’ बाट यात्रा गर्दैछ । जस्मा आयोजक ताजिकिस्तान, इरान र लेबनानसँगै रहेको छ ।
नेपालले अहिलेसम्म भएका चारवटै छनोट खेलिसकेको छ । पाँचौ पटक छनोट खेल्न लागेको नेपालका प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले राम्रो नजिता निकाल्न तयार रहेको बताएका छन् । तर, इतिहास हेर्दा एएफसी यू–२३ एसियन कपमा नेपालको अघिल्ला छनोट प्रतियोगिताहरु खासै उत्साहजनक भने छैन ।
नेपालले अघिल्ला चारवटै छनोटमा सहभागिता जनाउँदा १४ वटा खेल खेलेको छ । जसमध्ये केवल एउटा खेल जित्दा बाँकी १३ खेलमा पराजय भोगेको छ । नेपालले एक मात्र जित सन् २०१२ मा काठमाडौंस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्ध निकालेको थियो ।
छनोटको पहिलो खेलमै नेपालले ४–१ ले जितेको थियो । तर, त्यसपछि भने नेपालले जितको स्वाद चाख्न सकेको छैन । छनोट अन्तर्गत नेपालले उज्वेकिस्तान, अफगानिस्तान र साउदी अरेबियासँग समान दुई–दुई पटक पराजय भोग्दा अन्य सातवटा देशसँग एक–एक खेलमा हार्न पुगेको छ ।
नेपालले उज्वेकिस्तानसँग सन् २०१२ मा ४–२ तथा सन् २०१७ मा २–० ले पराजय भोगेको थियो । त्यसैगरी, अफगानिस्तानसँग सन् २०१५ र सन् २०१९ मा समान २–० गोल अन्तरले पराजित भयो । यता साउदी अरेबियासँग २०१५ मा ६–० र २०१७ मा साउदी अरेबियासँग ५–० ले हार व्यहोरेको थियो ।
त्यसबाहेक नेपालले सन् २०१२ मा जोर्डनसँग ३–० र यमनसँग १–०ले पराजित हुँदा सन् २०१५मा इरानसँग ५–० तथा प्यालेस्टाइनसँग ४–०, सन् २०१७ मा लेबनानसँग २–० तथा सन् २०१९ मा कतारसँग ५–० र ओमानसँग १–० को पराजय भोगेको थियो ।
तर, पछिल्लो समय इतिहासले खासै फरक नपार्ने प्रशिक्ष तथा फुटबल जानकारहरुले बताउने गर्छन । यस पटक प्रशिक्षक महर्जन राम्रो नजिता ल्याउनेमा आशावादी छन् र उनको आशा विश्वासमा बदलिने हो वा आशामै सिमित हुने हो सो सोमबार हुने पहिलो खेलको नजिताले देखाउने छ ।