अमेरिकाको अफगान मिसन अन्त्य : अब अफगानिस्तानको भविष्य के होला ?
अखबार टुडे
प्रकाशित:
२०७८, १५ भाद्र


काठमाडौं, १५ भदौं । संयुक्त राज्य अमेरिकाको आफ्नो सेनाले अफगानिस्तानबाट पूर्ण रूपमा फौज फिर्ता गरेको छ । झन्डै २० वर्षपछि अमेरिकाले सेना फिर्ता गरेको हो । अमेरिका राष्ट्रपति जो बाइडनको ३१ अगष्टमा सबै आफ्ना सेना फिर्ता गर्ने शर्तअनुसार अमेरिकी सेनाले अफगान छाडेका हुन् । अमेरिकी सेना फिर्ता भएसँगै तालिबान विद्रोहीहरूले खुसीयाली मनाइरहेका छन् र देश पूर्ण स्वतन्त्र भएको बताइरहेका छन् ।

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ । उक्त फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताए ।

अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीले भने, ‘हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ । योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ । जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएका थिए ।’

उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको बताए ।

अन्तिम सैन्य उद्धार विमान काबुल विमानस्थलबाट बाहिरिएसँगै त्यहाँको आकाशलाई पुनः अनिश्चयका काला बादलले ढाकेको छ । बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेटका अनुसार गत ४० वर्षका विभिन्न यद्ध बेहोरिसकेका अफगानहरूका सामु अहिले जति अनिश्चयपूर्ण सङ्क्रमणकाल पहिले कहिल्यै थिएन । यो अनिश्चय अँध्यारोले ढाकिएको अनि त्रासपूर्ण रहेको उनले बताइन् । आगामी दिनमा के होला भन्ने केही ठेगान छैन ।

‘गत केही दिनयता देश छाडेका हजारौँ अफगानहरूपनि अनिश्चय र त्रासमा छन् । फेरि स्वदेश आफूहरूले हेर्न पाउने हो कि होइन भन्ने उनीहरूलाई लागेको छ’ डुसेटले बताइन् । देशभित्र रहेका ३ करोड ८० लाख अफगानका सामु अब तालिबानले कस्तो शासनशैली अपनाउला भन्ने प्रश्न टड्कारो भएको छ । सन् १९९० ताकाको उनीहरूको अघिल्लो शासनकालमा जस्तै कडा नियम तथा बर्बर सजाय पुनर्स्थापित होलान् कि भन्ने डर पनि छ ।

अफगानिस्तानका तालिबानको नियन्त्रणमा रहेका खासगरि ग्रामीण क्षेत्रहरूमा उनीहरूले गर्दै आएको शासनशैली हेर्दा तालिबान परिवर्तित नभएको धेरैले ठानेका छन् ।

लिज डुसेट भन्छिन्, ‘यो एकदमै परम्परागत समाज हो । पश्चिमा गठबन्धन फौजले शिक्षालाई प्रेरित गरेको हुँदा महिला तथा बालिकाहरूले थोरै स्वतन्त्र हुन पाएका थिए । अहिलेको सबभन्दा धेरै नोक्सानी त ती किशोरीहरूलाई पर्नेछ जो गत २० वर्षमा हुर्किए र जसलाई अब पहिले वाचा गरिएजस्तो जीवन प्राप्त नहुने त्रास बढेको छ ।’ ‘भोलि यो लामो युद्धको नयाँ अध्याय शुरु हुनेछ । अमेरिकाको सबभन्दा लामो युद्ध त सकियो, तर अफगानहरूका निम्ति लडाइँ जारी नै रहनेछ ।’
–एजेन्सी

प्रतिक्रिया