अफगानिस्तानका आधा प्रान्त तालिबान नियन्त्रणमा : राष्ट्रपतिद्वारा अस्थिरता रोक्ने अठोट
अखबार टुडे
प्रकाशित:
२०७८, ३० श्रावण

काबुल, ३० साउन (एजेन्सी) । अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकूको नियन्त्रणमा पुगेको छ ।
तालिबान लडाकूले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका हुन । पछिल्लो पटक तालिबान लडाकूको नियन्त्रणमा परेका प्रान्तमा कन्दाहर, हेल्मान्ड, हेरात, बाड्घीस, घोर, लोगार, जाबुल र ओर्जुगान प्रान्त रहेका छन् ।

ती बाहेक पाक्तीया र वार्डाक प्रान्तका भने राजधानी मात्रै सरकारी नियन्त्रणमा रहेका छन् । अन्य सवै भाग तालिबान लडाकूको नियन्त्रणमा रहेका छन् ।

लडाकूले पूर्वमुजाहिद्धिन नेता तथा जमात ए इस्लामी पार्टीका वरिष्ठ नेता इस्माइल खानलाई पनि नियन्त्रणमा लिएका छन् ।
पछिल्लो समय अफगानिस्तानमा सङ्घर्षरत तालिबान लडाकू बढी आक्रामक देखिएका छन् । उनीहरुले धेरै ठाउँमा आक्रमण गरेका छन भने दैनिकरुपमा विभिन्न ठूला सहर आफ्नो नियन्त्रणमा पार्न सफल भएका छन् ।

एकपछि अर्काे सहर कब्जा गरिरहेको तालिबान लडाकुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार पनि केही दिन अगाडि नै कब्जा गरेको छ । कन्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो भने रणनीतिक हिसावले समेत महत्वपूर्ण क्षेत्र हो ।
अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकूको गतिविधि पनि बढी आक्रामक भएको देखिएको छ । उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन् ।

संयुक्त राष्ट्रसंघलगायतका अन्तरराष्ट्रिय निकायले पनि अफगानिस्तानमा बढ्दै गएको हिंसा र नियन्त्रणको अभियान प्रति चासो र चिन्ता व्यक्त गरेका छन् ।

अफगानिस्तानका राहतकर्मीले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले बताएको छ ।

देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्याङ्कन गरिएको राष्ट्रसङ्घका मानवीय सहयोगमामिला अधिकारीले बिहीबार बताएका हुन् ।

अफगान राष्ट्रपतिद्वारा देशमा अस्थिरता रोक्ने अठोट

यसैबीच अफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिवान समूहले गतिविधि तीब्र पारेको भएपनि यसलाई छिट्टै रोकिने बताएका छन् ।

अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिवान समूहले नियन्त्रणमा लिएको भनी समाचार आइरहेका समय उनले द्वन्द्वग्रस्त आफ्नो मुलुकमा राजनीतिक अस्थिरता रोक्ने प्रतिवद्धता व्यक्त गरे ।

‘अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गरेको र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ’ घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भने ।

उक्त सम्बोधनमा उनले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने बताएका हुन् । उनले भने, ‘अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्न म तपाईंहरुलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हो ।’
राष्ट्रपति घानीले ‘अफगानिस्तानका जनता, राजनीतिक दल तथा तीनका नेता र अन्तर्राष्ट्रिय मित्रहरूसँग परामर्श’ सुरु गरेको र परिणाम चाँडै आउने पनि बताए ।

प्रतिक्रिया