कोरोना संक्रमण उच्च दरमा बृद्धि : ‘चेन ब्रेक’ गर्न कति समय लाग्छ ?
अखबार टुडे
प्रकाशित:
२०७८, १७ बैशाख

काठमाडौं, १७ बैशाख । नेपालमा कोरोना संक्रमण उच्च दरमा बृद्धि भइरहेको छ । संक्रमणको दोस्रो लहर बढ्दै गएपछि त्यसलाई ‘चेन ब्रेक’ गर्न सरकारले उपत्यकालगायत देशका २२ जिल्लाभन्दा बढी स्थानमा लकडाउन जारी गरेको छ ।
शुक्रबार मात्रै नेपालमा ५ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

दाङको बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पताल कोरोनाका विरामीले खचाखच भरिएपछि बेडको अभावमा अस्पतालको बाहिर बरण्डामा राखेर उपचार गरिँदै । तस्वीर/ रासस

शुक्रबारको यो ग्राफले समेत नेपालमा संक्रमण भयावह बन्ने संकेत गरेको छ । नेपालमा कोरोना संक्रमितको संख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्ने समयलाई लिएर विज्ञहरूको मत समेत विभाजित देखिन्छ । बिबीसी नेपाली सेवासँग चिकित्सक तथा अनुसन्धानकर्ता डा. किरण पाण्डेले हर्ड इम्युनिटीको विकास र कोभिड खोप पनि दिन थालिएको अवस्थामा लामो समयसम्म संक्रमण अनियन्त्रित गतिमा फैलिन नसक्ने दाबी गरेकी छन् ।
उनले भनेकी छन्, संक्रमित हुने तथा रोगप्रतिरोधी क्षमताको विकास हुने मानिसहरूको संख्या ४५÷५० प्रतिशत पुगिसकेपछि महामारीलाई ओरालो लाग्नुको अर्को विकल्प हुँदैन ।’
तर, डा. पौडेलका अनुसार प्रतिबन्धात्मक कदमहरू कत्तिको प्रभावकारी हुन्छन् त्यसमा पनि निर्भर पर्छ ।
सरकारले संक्रमणमा चेन ब्रेक गर्न विभिन्न जिल्लामा अहिले एक साताका लागि निषेधाज्ञा लागु गरिएको छ । तर, डा. पौडेल नै त्यो पर्याप्त नहुने बताउँछन् । उनले चेन ब्रेक गर्नका लागि त कम्तीमा तीनदेखि चार हप्ताको लकडाउन आवश्यक रहेको बिबिसी नेपाली सेवालाई बताएकी छन् ।
एक हप्ते निषेधाज्ञा चेन ब्रेकका लागि पर्याप्त नहुने कुरामा सहमत डा. पाण्डे प्रतिबन्धात्मक कदमसँगै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण उत्तिकै आवश्यक हुने बताउँछिन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा जेनरल शय्याको संख्या १८,९१७ छ । त्यसैगरी देशभरि आईसीयूको संख्या १,४८६ र भेन्टिलेटरको संख्या ६३४ रहेको छ । कोरोनाभाइरस महामारीपछि केही थपिएर तिनीहरूको संख्या अहिले यति पुगेको हो ।
महामारीअघि जेनरल शय्याको संख्या १४,८९६ थियो भने आईसीयूको संख्या १,१४८ र भेन्टिलेटरको संख्या ४४२ थियो ।
तर प्रक्षेपण अनुसार संक्रमण बढ्दै गएका धान्न सक्ने अवस्था छैन । अध्ययनअनुसार दैनिक ११,००० संक्रमित थपिएमा त्यसको १५ प्रतिशत अर्थात् १,६०० बिरामी दैनिक भर्ना गर्नुपर्ने र ती अक्सिजन आवश्यक पर्ने बिरामी हुन सक्छन् ।
तीमध्ये तीनदेखि पाँच प्रतिशतलाई आईसीयू सेवा आवश्यक पर्न सक्ने अध्ययनको आकलन छ । यसको अर्थ दिनहुँ पाँच सय जनालाई आईसीयू सेवा आवश्यक पर्नसक्ने छ । नयाँ भेरिअन्ट फैलिँदै गए असार मसान्तसम्ममा संक्रमितको संख्या नौ लाखसम्म पुग्न सक्ने डा. पौडेल बताउँछन् । अहिले देखिएको सङ्क्रमण दरले भारतमा जस्तै स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आउनतर्फ विज्ञहरूले सचेत गराउँदै आएका छन् ।

प्रतिक्रिया