प्याङयोङ किन वाशिंगटनको सम्पर्कमा आउन चाहँदैनन् ? (कारण यस्तो छ)
अखबार टुडे
प्रकाशित:
२०७७, २ चैत्र

काठमाडौं, २ चैत । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले महिना दिनदेखि उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास असफल हुँदै आएको छ । गएको फेबु्रअरी महिनायता ह्वाइट हाउसले किमलाई सम्पर्क गर्ने प्रयास गरेपनि अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बताइएको छ ।
अधिकारीहरूका अनुसार बढ्दो तनावलाई रोक्न भन्दै वाशिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो । उत्तर कोरियाको परमाणु कार्यक्रम र बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमका कारण दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहेको छ । बाइडनका पूर्ववर्ती डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ–अनबीच तीनवटा वार्ता भएका थिए । तर, तिनले उल्लेखनीय प्रतिफल दिन सकेका थिएनन् । तर, कोरिया आणविक अस्त्र परित्याग गर्न सहमत होस् भन्ने अमेरिका र पाश्चात्य देशहरूको मुख्य चाहना छ । तर, ती वार्ता फलदायक भएनन् ।
किम जङ–अन र उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले अझै जो बाइडन अमेरिकी राष्ट्रपति बनेको कुरालाई आत्मसात् गरिसकेका छैनन् । प्योङ्याङसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत ‘न्यूयोर्क च्यानल’ भनिने संयुक्त राष्ट्रसंघमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको बताइएको छ ।
एक अमेरिकी अधिकारीले समाचार संस्थालाई रोएटर्स बताएअनुसार उत्तर कोरियासँग ‘कैयौँ पटक’ सम्पर्क गर्न खोजिएपनि १२ महिनाभन्दा बढी समयमा कुनै अर्थपूर्ण सम्पर्क स्थापना हुन सकेको छैन ।
उक्त अवधिमा डोनल्ड ट्रम्पको कार्यकालको अन्तिम वर्षको धेरैजसो समय समेत समेटिन्छ ।
बाइडनले यसअघि नै उत्तर कोरियाका लागि आफ्नो नीतिको समीक्षा गर्ने घोषणा गरेका छन् । त्यस्तो समीक्षा एप्रिल महिनामा सार्वजनिक गरिने अपेक्षा छ ।
उनले किमलाई घातक भन्दै उत्तर कोरियामाथिको चर्को प्रतिबन्ध खुकुलो पार्नुअघि प्योङ्याङको आणविक निरस्त्रीकरण हुनुपर्नेमा जोड दिएका छन् । तर किमले आफ्नो देशको देशको सैन्य क्षमता विस्तार गरिरहेका छन् ।
उनको दाबीअनुसार उत्तर कोरियाले अझ स्पष्ट निसाना गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र, ठूला आणविक हतियार, जासुसी भूउपग्रह र आणविक ऊर्जाचालित पनडुब्बीहरू विकास गरेको छ । तर उनले अमेरिकालाई ‘शत्रुवत् नीति’ त्याग्न पनि आग्रह गरिरहेका छन् ।
सन् २०१७ मा उत्तर कोरियाले अमेरिकी सहरहरूमा मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्र परीक्षण गरेपछि दुई देशबीचको सम्बन्ध झन् बिग्रिएको थियो । यतिखेर कोरोनाभाइरस महामारीका कारण उत्तर कोरिया बाह्य विश्वको सम्पर्कबाट एकदमै अलग्गिएको छ । उसका सीमा एक वर्षदेखि बन्द छन् । (बिबिसी)

प्रतिक्रिया