पत्रकारका पीडा : पारिश्रमिक नपाउँनेदेखि समाचार लेख्दा ज्यानै जोखिमसम्म
अखबार टुडे
प्रकाशित:
२०७७, ९ पुष

इलाम, ९ पुस । पत्रकारले प्रायः अरूका विषय प्रकाशन र प्रशारण गर्छन् । जो कोहीका समस्या सुनाउनु परेमा पहिलो लहरमा पत्रकार नै आइपुग्छन् । सडक वा सत्ता सबैका मर्का सुन्नुपर्ने बाध्यता पत्रकारको हो । यसरी सधैँ अर्काका विषय बाहिर ल्याउने पत्रकारकै पीडाचाहीँ कस्ता हुन्छन् होला ?
अरूका पीडा सुन्ने माध्यम बन्ने पत्रकारका पीडा यस्तासम्म हुँदारहेछन् । नेपाल प्रेस युनियन इलामद्वारा सदरमुकाममा आयोजित एक कार्यक्रममा पत्रकारहरुले वर्षदिनदेखि तलब नपाएकोदेखि समाचार लेख्दा ज्यानै जोखिममा पर्ने गरेकोसम्मका समस्या पोखेका छन् । इलाम एफएमका स्टेशन म्यानेजर रमेश पराजुलीले आर्थिक संकटका कारण रेडियो बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको बताए ।
अर्का रेडियोका प्रतिनिधि विक्रम सुन्दासले नचाहेर पनि सञ्चार क्षेत्रमा राजनीति छिर्नाले पेशागत मर्यादा गुम्न सक्ने बताउँदै सञ्चार क्षेत्र नै धरासायी भएकाले पत्रकार पलायन हुने अवस्थामा पुगेको गुनासो गरे । नागरिक दैनिकका इलाम संवाददाता भीम चापागाईंले भने, ‘सञ्चारमाध्यमले नियुक्ति पत्र नदिएकाले पनि धेरै पत्रकारले पारिश्रमिक नपाउने गरेका छन् । नियुक्तिपत्र नभएकाले धेरै पत्रकार मिडियाबाट निस्किँदा आवाज उठाउन सक्दैनन् ।’
सधँै अरूका नियम÷कानूनका विषयमा बहस गर्ने पत्रकार नै नियुक्तिपत्र नलिई काम गर्छन् भन्ने सुन्नु नौलो विषय लाग्न सक्ला तर याथार्थ यही हो । केही समयअघि इलामकै एक सञ्चारमाध्यमले विभिन्न बाहनामा पत्रकार निकालेको थियो । शुरुमा ‘पछि बोलाउने’ भन्दै बिदा गरे पनि हालसम्म कसैलाई बोलाइएको छैन ।
पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिम्सिनाले सञ्चारमाध्यमबीच समन्वयकारी भूमिका नहुँदा अपेक्षाकृत विज्ञापन नआएको बताउँदै सुरक्षा चुनौतीकै कारण कतिपय समाचार लेख्न नसकेको बताए ।
सञ्चारकर्मी सुजता सुनुवारले पत्रकारितामा महिला पत्रकार टिक्न नसकेको बताइन् । उनले भनिन्, ‘त्यसै पनि महिला पत्रकार कम छन् । भएकाले पनि धेरै सकस मोल्नुपर्छ । हामी त सूचना माग्न जाँदासमेत सही र गलत सूचना जान्न मुस्किल पर्छ ।’ प्रविधिको युगमासमेत कतिपय सरकारी संस्थाले कार्यालय अगाडि सूचना टाँस्ने गरेको पत्रकार राम योङहाङले बताए ।
कार्यक्रममा स्थानीय सरकारले सञ्चारमाध्यमलाई विज्ञापन नदिने गरेको आरोप सञ्चारकर्मीहरूले लगाएका छन् । पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले कोरोनाका कारण नेपालमा ४० प्रतिशत पत्रकारले आम्दानी गुमाएको, चार प्रतिशतले रोजगारी गुमाएको, छ प्रतिशतले बेतलबी बसेको, नौ प्रतिशतको तलब कटौती गरिएको जानकारी दिए ।
केही समयअघि पत्रकार महासंघले गरेको सर्वेक्षणबारे जानकारी गराउँदै २० प्रतिशतले नियमित तलब नपाएको, ४० प्रतिशतले पत्रकारिता पेशा गर्ने वा छाड्ने अन्यौलमा परेको, १५ दशमलब ५ प्रतिशतले घरबाटै काम गरेको र चार दशमलब एक प्रतिशतले पेशा नै परिवर्तन गर्ने सोचमा पुगेको र दुई तिहाइलाई घरखर्च टार्न समस्या भएको बताए ।

प्रतिक्रिया