ओली देशको प्रधानमन्त्री हुनु दुर्भाग्य : लामिछाने
अखबार टुडे
प्रकाशित:
२०८१, ४ कार्तिक

पोखरा । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देशैभरिबाट विरोध गर्न आह्वान गरेका छन् ।

आइतबार प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लैजाने क्रममा अदालत परिसरमै पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो अह्वान गरेका हुन् ।

उनले भने, ‘मलाई न्याय अदालतले दिन्छ, तर यो सरकारको विरूद्ध देशैभरिबाट सबैजनालाई उत्रन आह्वान गर्छु । मेरो लागि होइन, मलाई त अदालतले न्याय दिन्छ । अधिनायकवादी ओली सरकारका विरूद्ध देशैभरि देशका लागि बाहिर निस्कने बेला आउन सक्छ ।’ ओली सरकार रहेसम्म यस्तै हर्कत गरिराख्ने उनको भनाइ थियो ।

‘केपी ओलीको शासन सत्ता रहेसम्म, यो सरकार रहेसम्म यो देश बन्दैन’ रविले भने, ‘मलाईजस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस हो ।’ केपी ओली देशको प्रधानमन्त्री हुनु दुर्भाग्य भएको समेत उनले बताए ।

प्रतिक्रिया