नेपालले १५० वटाभन्दा बढी बाघ पाल्न सक्दैन : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०८१, ११ पुष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले धेरै बाघ पाल्न नसक्ने बताएका छन् । बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कोप–२९ को समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेरमात्रै नेपालले बाघ पाल्नुपर्ने बताएका हुन् ।

नेपालको वनको क्षमताअनुसार एक सय ५० वटाभन्दा धेरै बाघ पाल्न नसकिने भएपनि अहिले नेपालमा तीन सय वटाभन्दा धेरै बाघ रहेको उनले बताए । अरूले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघकासंख्या बढाउन नसक्ने उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले साढे तीन सयभन्दा बढी बाघ छन् । जंगलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ कि भनेर हिँड्नुपर्छ । हामीले पनि चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ । उपहार दिऔँ, हाम्रा मित्रहरुलाई ।’

प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जंगल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्याँकन र सम्मान हुन नसके नेपालले अरू देशका लागि जंगलको संरक्षण गर्न नसक्ने बताए ।

नेपाललाई ४७ प्रतिशत जंगल राखेकोमा अरु देशले सम्मान र कदर नगरे ३० प्रतिशत मात्रै जंगल राख्ने र बाँकी भू–भागमा अन्न उब्जाएर खानुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया