नेपालबाट भएको विमान अपहरणबारे बनेको शृँखला विवादमा : कसरी विवाद सुरु भयो ?
अखबार टुडे
प्रकाशित:
२०८१, २० भाद्र

काठमाडौं । डिसेम्बर २४ सन् १९९९ मा नेपालबाट उडेपछि अपहरणमा परेको भारतीय यात्रुवाहक विमानबारे बनेको वेब शृँखलामा केही पात्रको नामको विषयमा भारतमा प्रश्न उठेको छ ।

अनुभव सिन्हाले निर्देशन गरेको वेब शृँखला ‘आईसी ८१४ : द कान्दहार हाइज्याक’को कथावस्तु काठमाडौंबाट दिल्लीका लागि उडेको भारतीय यात्रुवाहक विमान अपहरणमा केन्द्रित छ । भारतीय जेलमा रहेका आफ्ना लडाकुहरूको रिहाइ माग गर्दै तालिबानले विमान अपहरण गरेर अफगानिस्तानको कान्दहार पु¥याएको थियो ।

उक्त शृङ्खलाका पात्रको नामको विषयलाई लिएर सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले बहस सुरु गरेका थिए । विवादपछि भारतको संघीय सरकारले वेब शृङ्खलाको निर्माता ‘नेटफ्लिक्स’लाई सोधपुछका लागि बोलाएको समाचार प्रकाशित भएको छ । त्यसपछि नेटफ्लिक्सले शृङ्खलाको सुरुमा देखाउने सूचनामा परिमार्जन गरेको समाचार बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ ।

सन् १९९९ मा के भएको थियो ?

विमान आठ दिनसम्म अपहरणकारीको नियन्त्रणमा रहेपछि भारत सरकार र अपहरणकारीबीच सम्झौता भएको थियो । विमान र यात्रु फिर्ता ल्याउन भारतले मसूद अजहरसहित अरू लडाकुहरूलाई मुक्त गरेको थियो ।

रिहाइपछि जैस–ए–मोहम्मद समूह स्थापना गरेका अजहरले भारतले कैयौँ आक्रमण गरेको आरोप दिल्लीले लगाउँदै आएको छ । संयुक्त राष्ट्रसङ्घले समेत उनलाई आतङ्ककारी घोषणा गरेको छ । सन् १९९९ मा सत्तामा रहेको भारतीय जनता पार्टीले उक्त निर्णयका कारण विपक्षी दलहरूबाट आलोचना खेप्नु परेको थियो ।

विवाद के हो ?
कुल छवटा छोटाछोटा भाग भएका यो शृङ्खला अपहरित विमानका क्याप्टेन देवी शरणको पुस्तक ‘फ्लाइट इनटू फिअरः द क्याप्टन्स् स्टोरी’मा आधारित छ । उक्त पुस्तक पत्रकार श्रीञ्जय चौधरीसँगको सहलेखनमा प्रकाशित भएको थियो ।

गत साता प्रदर्शनमा आएको उक्त शृङ्खला अपहरणकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्दै गर्दाको दृश्यबाट सुरु हुन्छ । उक्त विमानमा पाँच अपहरणकारी र चालकदलका ११ सदस्यसहित १७९ जना थिए। उडेको केही मिनेटमै अपहरणकारीहरूले विमान अपहरणमा परेको घोषणा गर्छन् ।

यो शृङ्खला अपहरणकारी, चालकदलका सदस्य र यात्रुहरूबीचको कुराकानीमा केन्द्रित छ । सँगसँगै यसले सङ्कट समाधानका लागि भारतीय सरकारी अधिकारीहरूले गरेको काम पनि देखाएको छ ।

कसरी विवाद सुरु भयो ?

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अपहरणकारीहरूले एकअर्कालाई भोला र शङ्कर भनेर बोलाएको प्रसङ्ग उल्लेख गर्दै शृङ्खलाका निर्माताहरूको आलोचना गरेपछि विवाद सुरु भएको थियो । अपहरणकारीहरूको वास्तविक नाम इब्राहिम अतहर, शाहिद अख्तर सैयद, सन्नी अहमद काजी तथा मिस्त्री जहूर इब्राहिम र शकीर थियो । उनीहरू सबै पाकिस्तानी थिए ।

भारतीय जनता पार्टीका नेता अमित मालवियले सामाजिक सञ्जाल ‘एक्स’मा उक्त शृङ्खलामा अपहरणकारीहरूलाई गैरमुस्लिम नाम दिएर त्यसका निर्माताले मानिसमा उक्त विमान अपहरण हिन्दूहरूले गरेको धारणा बनाउन खोजेको आरोप लगाए ।

एक हिन्दू कट्टरपन्थी समूहले उक्त शृङ्खलामा प्रतिबन्ध लगाउन माग गर्दै दिल्लीको अदालतमा मुद्दा दायर गरेको छ । भारतीय समाचारसंस्था पीटीआईका अनुसार उक्त रिट निवेदनमा चलचित्रका निर्मातालाई ऐतिहासिक घटनाक्रमको तथ्य बङ्ग्याउन खोजेको आरोप लगाइएको छ ।

स्रोतहरूलाई उद्धृत गर्दै कैयौँ भारतीय सञ्चारमाध्यमले भारतको सङ्घीय सरकारले नेटफ्लिक्सका वरिष्ठ कार्यकारीहरूसँग छलफल गरेको उल्लेख गरेका छन् । बीबीसीले नेटफ्लिक्स र भारतको सूचना तथा प्रसारण मन्त्रालयसँग यस विषयमा प्रतिक्रिया माग गरे पनि उनीहरूले कुनै जबाफ दिएका छैनन् ।

–नेपाली बीबीसी सेवाबाट

प्रतिक्रिया