जेरुसेलम, (एजेन्सी) । इजरायलले लेबनानमा बुधबारदेखि लागू भएको युद्धविराम स्वीकार्दा हिजबुल्लाहसँगको एक वर्ष लामो लडाइँको अन्त्यले गाजाको हमास र उसको कट्टर प्रतिद्वन्द्वी इरानतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सहज हुने भएको छ । लेबनानमा युद्धविराम भएपनि इजरायल तत्काल गाजाबाट फिर्ता भने हुने छैन ।
इजरायलले युद्धविरामका शर्तहरू उल्लङ्घन भएमा हिजबुल्लाहमाथि फेरि आक्रमण गर्न नहिचकिचाउने बताएको छ । ‘इजरायलले तेहरानसँग शत्रुता कम गर्ने त कुरै छोडौं, यो सम्झौताले गाजामा यस्तै युद्धविरामको लागि मार्ग प्रशस्त गर्ने सम्भावना पनि देखिँदैन,’ मध्यपूर्वबारे जानका विश्लेषकहरूले बताएका छन् ।
युद्धविराम लेबनानमा मात्र किन ?
लेबनानको हिजबुल्लाहविरुद्ध इजरायलले लगभग एक वर्षको सीमा वारपार हवाई आदानप्रदानपछि यो बर्ष तीव्र हवाई र स्थल अभियान चलाएको थियो । हिजबुल्लाहले यसअघि इजरायल गाजाबाट पछि हटेपछि मात्र युद्धविराम हुने बताएको थियो ।
तर इजरायलरक्षा तथा सुरक्षा मञ्च थिङ्क ट्याङ्कका संस्थापक अमिर अविवीले प्यालेस्टिनी भूमिमा युद्धविरामका लागि सहमत हुनुअघि इजरायलले आफ्ना अन्य उद्देश्यहरू सुरक्षित गर्न चाहेको बताउनुभएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणका क्रममा गाजामा अपहरणमा परेका ९७ जनाबारे प्रसङ्ग जोड्दै उनले एएफपीसँग भने, ‘गाजामा हमाससँग युद्धविराम बन्धकहरूलाई मुक्त गर्ने एउटा उद्देश्यका लागि मात्र हो । जबसम्म बन्धक रिहा हुँदैनन् वा रिहा हुने सुनिश्चितता हुँदैन इजरायल गाजाबाट फर्किने कुरै आउँदैन ।’
‘इजरायलले हिजबुल्लाहलाई लेबनानको सीमा क्षेत्रबाट धकेलेर ६० हजार विस्थापित इजरायलीलाई घर फर्कन सुरक्षित गर्ने लक्ष्य राखेको छ भने गाजामा उसले हमासलाई पूर्णरूपमा निर्मुल पार्न चाहेको छ’ उनले भने, ‘यसको अर्थ मूलतः गाजाको सबै क्षेत्र माथि विजय प्राप्त गर्नु र हमासलाई निर्मुल गर्नु हो ।’
हिजबुल्लाहको क्षमता हमासको भन्दा बलियो भएकाले इजरायलले सम्पूर्ण लेबनानलाई समेट्ने गरी आफ्नो जमीनी अभियान विस्तार गर्न कुनै चासो नदेखाएको इन्टरनेसनल क्राइसिस ग्रुपका विज्ञ मैरव जोन्सजेनले बताए ।
उनले भने, ‘इजरायली सेनालाई हिजबुल्लाहविरुद्ध आक्रमण भएको क्षणदेखि नै स्पष्ट भइसकेको थियो कि इजरायलको लागत उपयोगिताभन्दा धेरै बढी हुन सक्ने भएर उसले कारबाहीलाई सीमित गर्न चाहेको थियो ।’
गाजामा के हुनेछ ?
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाहसँगको युद्धविरामको घोषणा गर्दै यसले इजरायललाई पुनः आपूर्ति गर्न साथै हमास र दुई समूहका मुख्य समर्थक इरानमाथि पुनः ध्यान केन्द्रित गर्ने बताएका छन् ।
अविवीले एएफपीसँग भनेका छन्, ‘यदि युद्धविराम कायम रह्यो भने इजरायलले लेबनानबाट गाजामा आफ्ना सैन्य इकाईहरूलाई परिवर्तन गर्न सक्नेछ र युद्धबाट थाकेकाहरूलाई राहत दिनेछ । अहिले इजरायलले पनि स्थल सैनिकको अभावको अनुभव गरिरहेको छ ।’
‘इजरायली सेना गाजामा थप एकाइहरू सार्न सक्षम हुनेछ, यसले परिवर्तन ल्याउन सक्छ’ उनले थपे, ‘यसले हमासलाई बन्धकहरूलाई मुक्त गर्न दबाब दिनेछ ।’
इजरायली रक्षामन्त्री इजरायल काट्जले बन्धकहरूको रिहाई ‘अन्तिम प्राथमिकता’ भएको र युद्धविरामले प्यालेस्टिनी लडाकूहरूमाथि दबाब बढाउने बताएका छन् । मध्यपूर्वस्थित सुरक्षा परामर्शदाताले बेकका भूराजनीतिक विज्ञ माइकल होरोविट्जले अहिलेका लागि हमास ‘दबाबका लागि अभेद्य रहेको’ बताए ।
उनले भने, ‘डोनाल्ड ट्रम्पको नेतृत्वमा नयाँ अमेरिकी प्रशासनको सुरुवात, इजरायलको लागि स्वतन्त्र हातलाई समर्थन गर्ने ठानिएको छ, नेतन्याहूले यसअघिको हमाससँगको वार्तामा पूर्ण इजरायली सेना फिर्ता गर्ने र विस्थापित बासिन्दालाई घर फर्कन दिने लगायतका विषय समावेश हमासलाई युद्धविरामकोे शर्त त्याग्न बाध्य पार्न सक्ने देखिन्छ ।’ होरोविट्जले भने, ‘सम्झौताका लागि समय लाग्न सक्छ र युद्ध थप जटिल द्वन्द्वमा परिणत हुन सक्छ ।’
इरानसँगको द्वन्द्व किन ?
इजरायल र इरानबीचको दुश्मनी सन् २०२४ मा नयाँ उचाइमा पुगेको थियो । हमास र हिजबुल्लाहका नेता तथा एक इरानी जनरलको मृत्युको बदलामा इरानले यो वर्ष इजरायलमाथि दुई ठूला क्षेप्यास्त्र प्रहार गरेको थियो । इजरायलले इरानमाथि सीमित आक्रमण गरेर दुवै पटक जवाफ दिएको थियो तर हालै अक्टोबर २६ मा धेरै सैन्य स्थलहरूमा बमबारी गरी बदला लिएको थियो ।
नेतन्याहूले लेबनानमा भएको युद्धविरामले इजरायललाई इरानतर्फ ध्यान केन्द्रित गर्न अनुमति दिने बताउनुभएको छ तर, उहाँले कसरी भन्नेबारे विस्तृत जानकारी दिएका छैनन् । इरानले इजरायलसँग शत्रुता रहेका धेरै क्षेत्रीय समूहहरूलाई समर्थन गरेको छ, जसमध्ये हिजबुल्लाह सबैभन्दा ठूलो हो ।
होरोविट्जले भने, ‘युद्धविरामले इरानलाई तनाव कम गर्न समय दिन सक्छ र अक्टोबर २६ मा भएको आक्रमणको कुनै पनि प्रकारको प्रतिक्रिया दिनबाट जोगिन सक्छ ।’
क्राइसिस ग्रपका प्रमुख जोन्सजेनले भने इजरायलले इरानको आणविक कार्यक्रम रोक्न खोजेर आफ्नो फाइदा बढाउन सक्ने र अमेरिकाको समर्थन कायम गर्न खोज्ने बताएका छन् । ‘इरानलाई कमजोर राख्न र आफ्नो आणविक कार्यक्रममाथि थप दबाब सिर्जना गर्न प्रयास गर्न इजरायल अन्य समयको तुलनामा बढी सक्षम भएको महसुस गरिरहेको छ’ उनले भने ।
इरानले यसै साता संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायमा इरानको आणविक कार्यक्रमलाई लिएर इरानविरुद्ध निन्दा सुरु गरेका तीन युरोपेली मुलुकसँग वार्ता गर्ने तयारी गरेको छ ।
केही पश्चिमा शक्तिहरूले तेहरानले आणविक हतियार विकास गर्न खोजेको आशङ्का व्यक्त गरेका समय इरानले वार्ताका लागि इच्छा देखाएका समय वार्तालाई अघि बढाउनेछन् ।
अविवीले अमेरिकाले इरानविरूद्ध इजरायललाई समर्थन गर्ने र मिलेर आक्रमण गर्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन् । उनले भने, ‘इजरायलले यस क्षणको फाइदा उठाउनु पर्छ र इरानसँग सम्झौता गर्न अमेरिकी प्रशासनलाई साथमा लिनु आवश्यक छ ।’