चीनले नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने
अखबार टुडे
प्रकाशित:
२०८१, १९ मंसिर

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।
मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा सीले नेपालको आर्थिक समृद्धि र विकासका लागि आर्थिक सहायता गर्ने बताएका हुन् ।

भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालले जानकारी दिए । उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताएका थिए ।

‘प्रधानमन्त्रीज्यूले नेपाल र चीनको सम्बन्ध सार्वभौमकिता,राजनीतिक स्वतन्त्रता, आपसी समझदारी र विश्वासमा आधारित रहेको बताउनुभयो,’ ढकालले भने ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट निम्तो पनि दिएका थिए ।

प्रतिक्रिया