दोधारा चाँदनी नगरपालिकाद्वारा तीन महिने ढाका बुनाई प्रशिक्षण
अखबार टुडे
प्रकाशित:
२०८१, २८ बैशाख

काठमाडौं । कन्चनपुरको दोधारा चाँदनी नगरपालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न प्रशिक्षण तथा तालिम दिँदै आएको छ । यसै अन्तर्गत नगरपालिकाले नगरका महिलालाई ढाका बुनाई प्रशिक्षण दिन सुरु गरेको छ ।

ढाका बुनाई प्रशिक्षणको शुक्रबार नगरका मेयर किशोरकुमार लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । दोधारा चाँदनी नगरपालिकाले काठमाडौंको गोकर्णस्थित द हाईल्याण्ड आर्ट फेसन एण्ड ट्रेनिङको संयोजत्वमा ढाका बुनाई प्रशिक्षण सुरु गरेको हो ।

ढाका बुनाइ प्रशिक्षणमा सुरुमा पाँच जनाले सहभागी जनाएका छन् । ढाका बुनाइ प्रशिक्षण लिन उनी कन्चनपुरबाट काठमाडौं आइसकेका छन् । तालिममा सहभागीहरुलाई आवासको समेत व्यवस्था गरिएको मेयर लिम्बूले बताए ।

ढाका बुनाइ प्रशिक्षकको उद्घाटन गर्दै मेयर लिम्बूले भने, ‘नगरपालिकाको उद्देश्यअनुरुप स्थानीय तहमै युवालाई स्वरोजगार बनाउने उद्देश्यल सिपमूलक तालिमको सुरुवात गरेका छौँ । यसै अन्तर्गत महिला दिदीबहिनीहरुलाई ढाका प्रशिक्षण दिन सुरु गरेका हौँ ।’ अहिले सुरुवात मात्र भएको बताउँदै उनले ढाका बुनाई प्रशिक्षणमा अरु पनि सहभागी हुने बताए ।

द हाइल्याण्ड आर्ट फेसन एण्ड ट्रेनिङले लामो सयमदेखि ढाका बुनाइ प्रशिक्षण गर्दै आएको छ । हाल ३० जनाले प्रशिक्षण लिइरहेको द हाईल्याण्ड आर्ट फेसन एण्ड ट्रेनिङकी प्रोपाइटर तथा ढाकाविद् कल्पना योङहाङ लिम्बूले बताइन् । उनले भनिन्, ‘हामीले विभिन्न ठाउँबाट आएकाहरुलाई ढाका बुनाई प्रशिक्षण दिँदै आएका छौँ । अहिले द हाईल्याण्ड आर्टलाई सम्झेर सुदूरपश्चिमको कन्चनपुरदेखि उहाँहरु आउनुभएको छ । धेरै खुसी लागेको छ ।’

ढाका बुनाई प्रशिक्षण लिने प्रशिक्षार्थीहरुलाई आवाससहितको व्यवस्था गरेको बताउँदै फेसन डिजाइनरसमेत रहेकी प्रोपाइटर कल्पना योङहाङले भनिन्, ‘हामी प्रशिक्षार्थीहरुले ढाका बुनाईमा दक्ष बनाएर पठाउँछौँ । यहाँबाट सिकेका थुप्रै दिदीबहिनीहरु अहिले आत्मनिर्भर भएका छन् ।’

द हाईल्याण्ड आर्ट फेसन एण्ड ट्रेनिङमा राम तामाङ र सविना राई प्रशिक्षण दिने गरेका छन् । प्रशिक्षणको संयोजन कल्पना आफैँले गर्दै आएकी छन् ।

नेपाली ढाकाका लागि देश विदेशमा लोकप्रिय द हाईल्याण्ड आर्टको आफ्नै शोरुम समेत रहेको छ । चाबहिलको चुच्चेपार्टीका रहेको शोरुममा दैनिक दर्जनौँ ढाका पहिरनमा पारखीहरु आउने गरेका छन् ।

प्रोपाइटर कल्पना योङहाङ भन्छिन्, ‘द हाइल्याण्ड आर्ट फेसन एण्ड ट्रेनिङको उद्देश्य भनेको ढाका उत्पादन माध नभएर नेपाली युवालाई सिप सिकाएर आत्मनिर्भर बनाउने पनि हो । जो अहिले गर्दै आएकी छु ।’

प्रतिक्रिया