काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । उनको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।
आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा भएको दुर्घटनामा राष्ट्रपतिसँगै विदेशमन्त्री र अन्य धेरैको मृत्यु भएको समाचारमा बताइएको छ । यसअघि समाचारसंस्था रोएटर्सले इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको जनाएको थियो ।
त्यसअघि इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका थिए ।
इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि गरेका थिए । उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि थिए ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नुपरेको थियो । त्यसपछि उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरानको सत्तामा अब के हुन्छ ?
इस्लामिक गणतन्त्रको संविधानले राष्ट्रपतिको मृत्यु भएको वा स्वास्थ्या अथवा महाभियोगका कारण काम गर्न नसक्ने अवस्थामा सत्ताको नेतृत्व उपराष्ट्रपतिलाई दिने व्यवस्था गरेको छ ।
बीबीसीले उल्लेख गरेअनुसार यस्तो अवस्थामा उपराष्ट्रपति मोहम्मद मोखबरले सभामुख र प्रधान न्यायाधीशसँग मिलेर संयुक्त रूपमा राष्ट्रपतिको कामकाज गर्न सक्छन् ।
इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ । इरानका सर्वोच्च नेताले त्यसका लागि स्वीकृति दिनुपर्छ ।
सरकारी सञ्चारमाध्यमले राष्ट्रपतिको मृत्यु भएको पुष्टि गरिसकेको अवस्थामा इरानमा अब निर्वाचन हुने निश्चित छ । तर, अब हुने निर्वाचनमा मतदाताहरूको रुचि कम हुने सम्भावना पनि छ ।
अघिल्लो चुनावमा रइसीलाई चुनौती दिन सक्ने नेताहरूलाई उम्मेदवार बन्न दिइएको थिएन । कुल मतदाताको ३० प्रतिशत अर्थात् निकै कम मतदान भएको निर्वाचनबाट रइसी राष्ट्रपति चुनिएका थिए ।