विश्वको उत्कृष्टमध्ये मुस्ताङको शिन्ता मणि होटल, के छ विशेषता ?
अखबार टुडे
प्रकाशित:
२०८०, १७ माघ

काठमाडौं । मुस्ताङस्थित शिन्ता मणि होटल ‘अ बेन्स्ली कलेक्सन नेसनल ज्योग्राफिक’को उत्कृष्ट होटल सूचीमा परेको छ । नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘बेस्ट अफ दि वल्ड’अन्तर्गत ‘२०२४ का उत्कृष्ट नयाँ होटल’मा शिन्ता मणि परेको हो ।

सो सूचीमा विश्वभरका २२ वटा होटल परेका छन् । एसियाबाट शिन्ता मणि परेको हो । ‘शिन्ता मणिको सर्वसमावेशी लजका पाहुनालाई गाइडसँग सम्पर्क गराइन्छ । जसले तिनलाई नेपालको तल्लोको मुस्ताङ क्षेत्रको पर्वत र मरुभूमिले ढाकिएको परिदृश्यबीच रोमाञ्चक यात्रामा लैजान्छन्,’ यो होटलबारे नेसनल ज्योग्राफिकले भनेको छ, ‘शताब्दियौँ पुराना गुम्बासम्म बाइक चलाएर जाने, डुम्बा तालसम्म ट्रेकिङमा जानेजस्ता अनुभव लिन सकिन्छ ।’

बाग्लुङ गलकोटको ढुंगा र काँचले परारम्परागत नेपाली घरजस्तै भवन तयार गरिएको र पाहुनाघर बाघको छालाजस्तो देखिने गलैँचा तथा प्रचीन वस्तुहरुले सजिएको पनि ज्योग्राफिकले उल्लेख गरेको छ । यो होटलमा ६० सिटको नीलगिरि रेस्टुरेन्टमा हिमालयन याक मःम र तिब्बती थुक्पाजस्ता परिकार पाइने ज्योग्राफिकको भनाइ छ ।

शिन्ता मणि यती समूहअन्तर्गत शेर्पा हस्पिटालिटीको स्वामित्वमा जोमसोममा सञ्चालित होटल हो । यसको व्यवस्थापन भने लक्जरी होटल सञ्चालनमा ख्याति कमाएको शिन्ता मणिले गरिरहेको छ । शिन्ता मणि अमेरिकी नागरिकले सुरु गरेको कम्बोडियामा आधारित चर्चित ब्रान्ड हो ।

ज्योग्राफिकको उत्कृष्ट होटलमा एसियाबाट अन्य दुई उत्कृष्ट होटलमा श्रीलंका र भुटानका छन् । मुस्ताङको शिन्तामणि मुस्ताङ रिसोर्ट संसारभरबाट हिमाली क्षेत्रका साथै गुम्बा र स्थानीय जनजीवनसँग घुलमिल गर्न चाहने पर्यटकहरूले सर्वाधिक रुचाइएकोमा परेको नेशनल जोग्राफिक डट कमले उल्लेख गरेको छ ।

शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ब्राण्ड हो । १ अर्ब १० करोड रूपैयाँ लगानीमा निर्माण भई सञ्चालनमा मुस्ताङ मोक्ष रिसोर्टको व्यवस्थापन उसले सम्हालेपछि रिसोर्ट विश्वकै उत्कृष्ट गन्तव्यमा दरिएको यति ग्रुप अफ कम्पनीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले बताएका छन् ।

नेपालमा रहेका होटल तथा रिसोर्टमध्ये सबैभन्दा महँगो होटलका रूपमा शिन्तामणि रहेको यसका सञ्चालकको दाबी छ । यो होटलमा एक रातकै १८ सय डलर तिर्नुपर्छ र यसले एक दिनको मात्र प्याकेज बेच्दैन । न्यूनतम तीन दिनमा एकजना पर्यटकले कम्तीमा ५ हजार डलर तिर्ने यो रिसोर्ट खर्चालु पर्यटक लक्ष्य गरी निर्माण गरिएको हो ।

शेर्पा हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत नाम्गेल शेर्पाले शिन्तामणि मुस्ताङले पर्यटकलाई प्रकृतिसँग नजिक राखेर बिदा मनाउने उत्कृष्ट गन्तव्यका रूपमा आभाष दिलाउन सफल बताए ।

संसारभरिका पर्यटकलाई थकाइ मार्ने मुख्य गन्तव्य जोमसोम बनाउने उद्देश्यले पाहुनाको यात्रालाई हिमालयमा सबैभन्दा उल्लेखनीय ३ सय ६० डिग्री, विलासी अनुभव प्रदान गर्ने थलोका रूपमा विस्तार गरिएको छ ।

समुद्र सतहबाट २ हजार ८ सय मिटर उचाइ तथा कालिगण्डकी नदीछेउ जोमसोममा रहेको होटलमा २९ कोठा छन् । होटलका कोठा अमेरिकी आर्किटेक्ट कम्पनी बेन्सलेकै डिजाइनअनुसार पुनर्निर्माण गरिएका छन् ।

प्रतिक्रिया