अर्थतन्त्र

७ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्राको सञ्चिति १३ खर्ब ८३ अर्ब पुग्यो

काठमाडौं, २८ फागुन । चालु आर्थिक वर्षको सात महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सात महिनामा रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १६ दशमलव चार प्रतिशतले बढेर पाँच अर्ब ३० करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।

सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५७ दशमलव तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ जना पुगेको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या सात महिनामा १० दशमलव एक प्रतिशतले वृद्धि भई एक लाख ६७ लाख सात सय आठ जना पुगेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो सङ्ख्या दुई सय ६६ प्रतिशतले बढेको थियो ।

यस्तै, अर्थतन्त्रका बाह्य सूचकमा सुधार हुँदै गएको देखिएको छ । शोधानान्तर खाता, चालु खाता, विदेश विनिमय सञ्चितिलगायतका सूचकमा सुधार देखिएको हो ।

सात महिनामा चालु खाता २९ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सात महिनामा चालु खाता चार खर्ब ११ अर्ब ३४ करोड रुपैयाँले घाटामा थियो ।

यस्तै साउनदेखि माघसम्म शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सात महिनामा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब तीन करोड रुपैयाँले घाटामा रहेको थियो ।

विदेशी विनिमयको सञ्चितिमा पनि सुधार आएको छ । गएको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव आठ प्रतिशतले वृद्धि भई माघ मसान्तमा १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिना आठ दिनको वस्तु आयात र नौ महिना चार दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यस्तै, सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । तर गत आर्थिक वर्षको तुलनामा चालु खाता घाटा घटेको देखिएको छ । आर्थिक वर्ष २०७८–७९ को माघसम्ममा चालु खाता चार खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो । यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ ।

माघ मसान्तसम्ममा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।

त्यसैगरी, चालु आर्थिक वर्षको सात महिनामा नेपालले भित्र्याएको खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब चार करोड रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले १६ अर्ब २९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो ।

यस्तै, उपभोक्तामा मूल्यवृद्धि कायमै रहेको र थोक बजारमा भने केही सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकको विवरणअनुसार चालु आर्थिक वर्षको माघ महिनामा उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top