लामिछानेविरुद्ध ३१ करोड २६ लाख बिगो दाबीसहित मुद्धा दर्ता, सांसद पद निलम्बन
अखबार टुडे
प्रकाशित:
२०८१, ७ पुष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध तीन कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार रविविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखको विगो मागदाबी गरिएको छ । सरकारी वकिल कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविविरुद्ध सहकारी ठगी मुद्दामा भने ३ करोड ३७ लाखको विगो मागदाबी गरिएको छ ।

सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दालाई बेस मानेर संगठित अपराधमा छुट्टै मागदाबी गरिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेको हकमा भने सहकारी ठगीमा पाँच करोड २६ लाख र सम्पत्ति शुद्धीकरणमा १४ करोड ३४ लाख रूपैयाँको विगो मागदाबी गरिएको छ ।

सांसद पद निलम्बन

यसैबीच रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ । लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ ।

ऐनमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’

संघीय संसद सचिवालयका एक उच्चपदस्थ अधिकारीले पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बनमा पर्ने बताए । उनका अनुसार पत्र आएपछि उनको सांसद पद निलम्बन हुनेछ ।

सरकारी वकिल कार्यालयले रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गरेको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ ।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार अदालतमा मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया