काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबारको तुलनामा आज केही बढेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन भएको थियो ।
आइतबार बिहान ५ः४५ बजे ४.८ डिग्री सेल्सियस मापन भएको छ । यसअघि अघिल्लो शनिबार काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियससम्म झरेको थियो ।
मौसमविद् शान्ति कँडेलका अनुसार न्यूनतम तापक्रम केही घटबढ भइरहन्छ । बादलको अवस्था र सूर्यबाट आएका किरणहरू कममात्रामा जमिनबाट बाहिर फिर्ता भयो भने न्यूनतम तापक्रम केही बढ्ने उनले बताए । अधिकतम तापक्रम आज पनि १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबार दिउँसो कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना रहेको छ । यस्तै, सोमबार राति वर्षाको सम्भावना रहेकाले पश्चिम नेपालको अधिकतम तापक्रम केही घट्ने सम्भावना रहेको मौसमविद कँडेलले बताइन् ।
पश्चिमी न्यूनाचापीय प्रणालीको असर काठमाडौंसम्म नपर्ने हुँदा काठमाडौंको हकमा केही दिन अधिकतम तापक्रम घट्ने सम्भावना नरहेको उनले बताइन् । एक सातादेखि काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच छ ।
उनले भनिन्, ‘अधिकतम तापक्रम घट्दा घाम पनि ताप्न पाइँदैन । तापक्रम नै कम हुने भएकाले चिसो बढी महशुस हुन्छ ।’