प्रतिनिधिसभाको पहिलो बैठकमा दलका शीर्ष नेताले के के बोले ?
अखबार टुडे
प्रकाशित:
२०७९, २५ पुष

काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिनु नहुनेमा समेत जोड दिए ।

उनले भने, ‘हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ । हामी सुशासन दिन सक्छौं कि सक्दैनौं? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं? यो संसद हाम्रो परीक्षाको केन्द्र हो । जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।’

हजारौं शहीद, वेपत्ता, जेलनेल सहेका र घाइते अपांग नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट समावेशी संसद बन्न सफल भएकोतर्फ इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले समावेशी संसद बनेको खुसी व्यक्त गरे ।

फरक राजनीतिक दृष्टिकोण र पृष्ठभूमिबाट आएका भए पनि जनताप्रति गरिएका प्रतिबद्धता साझा भएकोले सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताका अपेक्षाअनुसार कांग्रेसले भूमिका खेल्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले भने, ‘यो प्रतिनिधिसभाबाट जनताले धेरै अपेक्षा राखेका छन् । जनताका अपेक्षा र साथीहरूका भावनाअनुसार कांग्रेसले काम गर्नेछ । कांग्रेसले रचनात्मक भूमिका खेल्छ ।’

देउवाले समृद्धि प्राप्त गर्नु साझा लक्ष्य भएको बताउँदै संविधान रक्षा र संविधानको भावनाअनुसार अगाडि बढ्नुपर्ने पनि बताए । सभापति देउवाले कांग्रेस प्रतिनिधि सभाको ठूलो दल भएकोले जनतालाई धन्यबादसमेत दिएका थिए ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भने, ‘भोलि विश्वासको मत लिँदै हुनुहुन्छ प्रधानमन्त्री जीले, म ढुक्क छु उहाँले प्राप्त गर्नुहुनेछ । आजै पनि म उहाँलाई बधाई दिन चाहान्छु । सरकारलाई बधाई दिन चाहान्छु ।’

उनले सरकार बन्न नपाउँदै भत्काउने षड्यन्त्रमा नलाग्न आग्रह गर्दै आफ्नो समयको सही उपयोग गर्न आग्रह गरे । देशको उन्नतीको लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताउँदै राष्ट्र निर्माणमा लाग्न पर्ने बताए ।

पार्टीहरू थुप्रै भएपनि जनताले परिवर्तनको अपेक्षा राखेकाले नयाँ पार्टीको उदय भएको उनले बताए । अध्यक्ष ओलीले संसद विघटन गरिनु प्रतिगमन नभएको बताएका छन् । उनले अहिलेको गठबन्धन राष्ट्रियताको पक्षमा उभिने बताए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आम नागरिकका अपेक्षा पूरा गर्न आफूहरू सरकारमा गएको बताए ।

उनले दुई ठूला दलका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएपछि काम गर्न आफूहरू सरकारमा गएको बताए । दवाव र प्रभावमा नपरी काम गर्न प्रतिबद्ध र कटिबद्ध रहेको उनले बताए । उनले आफ्नो सम्बद्ध दलबाट अनियमितता नहुने बाचासमेत गरे ।

आम नागरिकका अपेक्षा, माया र विश्वासका कारण आफूहरू संसदमा आइपुगेको उनले बताउँदै काम गर्ने क्रममा कहीँकतै गल्ती भएमा पदमा नबस्ने उनको भनाइ थियो ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘भोलि विश्वासको मत लिने कुरा छ । एकीकृत समाजवादी छिनछिनमा सरकार परिवर्तन होस् भन्ने चाहँदैन यो सरकारको स्थायित्व हुनुपर्छ ।’

वर्तमान सरकारले मुलुकको आर्थिक संकट समाधानका लागि ध्यान दिनुपर्ने उनले बताए । उनले भने, ‘जनतालाई अनुभूति हुने किसिमले काम गर्नुस् । बोली र व्यवहार एकै होस् । गहिरिँदो आर्थिक संकट समाधानका लाग सरकारले काम गरोस् ।’ सरकारले राजनीतिक स्थायित्व, सुशासन र स्वाधिनताका क्षेत्रमा केन्द्रित काम गर्नुपर्ने उनले बताए ।

यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदमा प्रतिनिधित्व गरेका नयाँ दलहरूसँग आवेग मात्र नभई अग्रजप्रति सम्मानसमेत रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दलप्रति लक्षित गर्दै आवेग रहेको बताएका थिए ।

बैठकमा बोल्दै पार्टी अध्यक्ष राउतले भने, ‘प्रधानमन्त्रीज्यूले नयाँ दलप्रतिको आगमनलाई स्वागत गर्नुभयो र भन्नुभयो कि उहाँसँग आवेग पनि छ । हामीसँग आवेग मात्र होइन, हाम्रा अग्रजप्रति सम्मान पनि छ भन्ने कुरामा ढुक्क रहन उहाँलाई आश्वस्त पार्न चाहन्छु ।’

उनले आफूहरूभित्र देखिएको आवेग जनताको परिवर्तनको रहेको पनि उनले बताए । देशमा गणतन्त्र स्थापनाका लागि अग्रजले खेलेका भूमिकाको उनले प्रशंसा गरेका थिए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई शिरमा राखेर मुलुकका समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा बोल्दै उनले देशका हरेक क्षेत्रहरु अहिले ओरालो लागिरहेको भन्दै यसलाई सबै मिलेर समाधान गर्नेतर्फ सोच्नुपर्ने बताए ।

उनले उमेर पुगेको भोलिपल्ट युवाहरु राहदानी बनाएर विदेश जानुपरिरहेको भन्दै यो समस्यालाई तत्काल समाधान गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले कृषकहरूलाई कृषिको लागि मल र बिउ दिने कुरामा सरकारले बेलैमा सोच्नुपर्ने बताए । उनले विकास निर्माणको कामले पछिल्लो समय गति लिन नसकेको भन्दै विकास निर्माणका कामलाई पनि गति दिनुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले कसैले कसैलाई निषेध गरेर अघि बढ्ने अवस्था नरहेको भन्दै सबैले सबैलाई स्वीकारेर आपसी समझदारीमा काम गर्नुपर्ने बताए । अध्यक्ष लिङदेनले राप्रपा देशको अस्थिरताको कारक नबन्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया