के पेलेले साँच्चै युद्ध रोकेका थिए ?, यस्ता छन् पेलेबारे १० रोचक तथ्य
अखबार टुडे
प्रकाशित:
२०७९, १५ पुष

काठमाडौं, १५ पुस । पेलेको नाम थाहा नपाउने मान्छे सायदै कम होला । उनी त्यस्ता खेलाडी हुन् सबैको मन र दिमागमा बसेका छन् । फुटबल पछ्याउनेहरूले पेलेको निधनसँगै फुटबलको एक युगको अन्त्य भएको पनि भन्न थालेका छन् ।

विश्व चर्चित ब्राजिलका फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए ।

शताब्दीकै महान खेलाडी मानिने पेलेलाई फुटबलका जादुगर भनेर पनि चिनिन्छ । सन् १९५७ मा १७ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका पेलेले सन् १९५८ को विश्वकप खेले । चार पटक विश्वकप खेलेका पेलेले सन् १९५८, १९६२ र १९७० को गरेर ब्राजिललाई तीन पटक विश्वकप दिलाए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् ।

उनले सन् १९९७ मा खेल जीवनबाट सन्न्यास लिएका थिए । फुटबल करियरका क्रममा पेलेले एक हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेको विश्व कीर्तिमान छ । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको पदक दिइएको थियो ।

पेलेको बाबू डोन्डिन्हो अर्थात ओआओ रामोस डो नासिमेन्तो र आमा सेलेस्त अरान्तेस हुन् । पेलेको बाबू डोन्डिन्हो क्लब लेभलका फुटबल खेल्थे । सन् १९४० अक्टोबर २३ तारिखमा मिनास गोराइसमा जन्मिएका पेले बाल्यकालदेखि नै फुटबल खेल्थे । उनलाई बाबुबाटै फुटबल खेल्ने प्रेरणा मिलेको थियो ।

पेलेको बाल्यकालको नाम एडसन आरन्तेस डो नासिमेन्तो हो । तर पछि उनको नाम पेले रहन गयो । पेलेले तीनपटक विवाह गरेका थिए । उनले सन् १९६६ पहिलो विवाह गरेका थिए भने तेस्रो विवाह सन् २०१६ गरेका थिए । पेलेका सात सन्तान छन् ।

पेलेबारे १० रोचक तथ्य
पेलेका कारण रेफ्रीले मैदान छाड्नुपरेको थियो

१८ जुन १९६८ को कुरा हो । बोगोटोमा पेलेको क्लब सान्तोस र कोलम्बियाली ओलम्पिक टोलीबीच मैत्रीपूर्ण खेल चलिरहेको थियो । यसै क्रममा रेफ्री गुइलेर्मो भेलास्क्वेजले पेलेलाई मैदान छोड्न भने (रेड कार्डको प्रयोग सन् १९७० को दशकमा सुरु भएको थियो) । उनीमाथि फाउल गरेको आरोप लागेको थियो साथै पेलेले दुर्व्यवहार गरेको भेलाज्क्वेजले बताएका थिए ।

तर रेफ्रीको यो निर्णयलाई लिएर ठूलो विवाद भयो र विरोध सुरु भयो । सान्तोसका खेलाडीले रेफ्रीलाई घेरे । त्यहाँ उपस्थित दर्शकले पनि उनको विरोध गरे । सन् २०१० को एउटा अन्तर्वार्तामा ती रेफ्रीले त्यो खेलमा आफूलाई मैदानबाहिर जान लगाई एक लाइन्सम्यानलाई सिट्ठी दिन भनिएको बताए । रेफ्री बाहिर गएपछि पेलेलाई तत्कालै खेलमा भित्र्याइएको थियो ।

के पेलेले साँच्चै युद्ध रोकेका थिए ?
सन् १९६० को दशकमा पेलेको सान्तोस एफसी विश्वको सबैभन्दा प्रसिद्ध फुटबल क्लबहरू मध्ये एक थियो । यसैको फाइदा उठाउँदै यो टोलीले विश्वभर धेरै मैत्रीपूर्ण खेल खेल्ने गर्दथ्यो । यस्तै एउटा खेल ४ फेब्रुअरी १९६९ मा नाइजेरियाको युद्धग्रस्त क्षेत्रमा खेलिएको थियो । उक्त खेलमा सान्तोस क्लबले बेनिनी सिटीको स्थानीय क्लबलाई २–१ ले पराजित गरेको थियो ।

त्यतिबेला नाइजेरियामा रक्तपातपूर्ण गृहयुद्ध चलिरहेको थियो । इतिहासकार गुरमान गोर्चेका अनुसार ब्राजिलका खेलाडी र अधिकारीहरू सुरक्षाको बारेमा चिन्तित थिए, त्यसैले दुवै पक्षले युद्धविराम गर्ने निर्णय गरे ।

पेलेले यस कुरालाई आफ्नो दोस्रो आत्मवृत्तान्तमा यसरी उल्लेख गरेका छन्, ‘त्यो कुरा पूरै साँचो हो होइन मलाई थाहा छैन तर नाइजिरियालीहरूले हामी त्यहाँ हुँदा कुनै धावा नबोल्ने सुनिश्चितता गरेका थिए ।’

पेले र बीटल्सको कथा
सन् १९७५ मा पेले न्युयोर्क कसमसका लागि खेल्न अमेरिकाको न्युयोर्क गएका थिए । त्यहाँ उनले अङ्ग्रेजी सिक्न सुरु गर्दा बीटल ब्यान्डका जोन लेनन जापानी भाषा सिकिरहेका थिए ।

उनको भनाइअनुसार लेनन र बीटल्सका अन्य सदस्य सन् १९६६ मा इङ्ल्यान्डमा खेलिएको विश्व कपका बेला ब्रजिली टोलीलाई होटलमा भेट्न आउन खोजेका थिए । तर उनीहरूलाई ब्राजिल फुटबल एसोसिएशनका निर्देशकले रोकेका पेलेले आफ्नो पुस्तकमा लेखेका छन् ।

पेले युरोपको क्लबबाट किन खेलेनन् ?
पेलेका आलोचकहरू भन्छन् कि उनले युरोपको कुनै पनि क्लबबाट खेलेनन्, यो उनका लागि फाइदाजनक साबित भयो । समस्या यो थियो कि अन्य धेरै ठूला र साना ब्राजिलियन खेलाडीहरू जस्तै, जब उनी आफ्नो करियरको शिखरमा थिए, उनलाई विदेश जानबाट रोकिएको थियो ।

सान्तोस क्लबले रियल म्याड्रिड र एसी मिलान जस्ता क्लबहरूको प्रस्ताव अस्वीकार गर्यो । त्यतिबेला खेलाडीले कहाँ खेल्ने भन्ने निर्णय उनीहरुको हातमा थिएन ।

उनलाई ब्राजिलमै राख्न सरकारबाट दबाब पनि आएको थियो । सन् १९६१ मा, तत्कालीन राष्ट्रपति जानियो क्वाड्रोसले पेले एक ‘राष्ट्रिय सम्पत्ति’ भएको र उनर्ला ‘निर्यात’ गर्न नसकिने घोषणा गरे । यद्यपि, सन् १९७५ मा पेले एक विदेशी क्लबको हिस्सा भए । उनले न्युयोर्क कसमस नामको टिमका लागि खेले ।

५० वर्षको उमेरमा ब्राजिलको कप्तान बने
पेले एकपटक मात्रै ब्राजिलको कप्तान बने । यसअघि हरेक पटक क्लब र देश दुबैको टिमको कप्तानीको प्रस्ताव उनले अस्वीकार गरे । राष्ट्रिय टोलीबाट सन्यास लिएको १९ वर्षपछि सन् १९९० मा उनले कप्तानको रूपमा मैत्रीपूर्ण खेलमा भाग लिए । ब्राजिलको प्रतिस्पर्धा ‘रेस्ट अफ द वर्ल्ड’ टिमसँग भयो । यो खेल पेलेको ५० औं जन्मदिनमा खेलिएको थियो । खेलको पहिलो ४५ मिनेटमा पेले मैदानमा उत्रिएका थिए ।

जब पेलेलाई ‘अपहरण’ गरियो
सान्तोस क्लबका खेलाडी सन् १९७२ सेप्टेम्बर ५ मा ट्रिनिडाड एन्ड टोबागोमा खेल्दा सन्तुष्ट थिएनन् । त्यहाँ आन्दोलन भएको र सडकमा ट्याङ्क देखिएको कुरा खेलाडीहरूले सञ्चारमाध्यमहरूलाई पछि बताएका थिए । उनीहरू सक्दो छिटो खेल खेलेर विमानमा फर्किन सहमत भएका थिए ।

तर त्यस खेलमा पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भए । मैदामै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजय जुलुस निकाले । उनलाई उद्धार गर्न असहजरूपमा केही मिनेट समय लाग्यो ।

सिल्भेस्टर स्टेलोन फिक्का भए
सन् १९८० सम्म, सिल्वेस्टर स्टेलोन एक प्रसिद्ध नाम बनिसकेका थिए । उनको फिल्म ‘एस्केप टु विक्ट्री’ को सुटिङ सन् १९८० मा सुरु भएको थियो । यो फिल्म दोस्रो विश्वयुद्धको समयमा नाजी र कैदीहरूको टोलीको काल्पनिक कथा थियो ।

थुप्रै पूर्व खेलाडी र तत्कालीन खेलाडीका साथ पेले पनि यसका हिस्सा थिए । पेलेले एक सिनमा एक्रोब्याटिक बाइसाइकल शट पनि हानेका थिए । पेलेले ब्राजिलको वेबसाइट युओएललाई दिएको अन्तरवार्तामा उक्त शट वास्तवमा स्टेलोनले हान्नुपर्ने बताए । ‘स्क्रिप्ट अनुसार स्टोलेनले शट हान्नुपर्ने थियो र म गोलकिपर थिएँ’, पेले चर्को स्वरमा हास्दै भने, ‘तर उनले बललाई हान्न सकेनन् ।’

पेले गोलकिपर पनि बने
यदि पेले गोलकीपर बनेको भए पनि उनले सायद निराश गर्दैन थिए । सान्तोस क्लबका लागि खेल्दै उनले चार खेलमा गोलकीपरको भूमिका निभाएका थिए । यसमा सन् १९६४ मा खेलिएको ब्राजिलियन कपको सेमिफाइनल पनि छ । ब्राजिलले सबै खेल जित्यो । पेलेले कुनै पनि खेलमा एक गोल पनि हुन दिएनन् ।

विश्वमा एकजना मात्रै पेले छैनन्
पेलेका प्रशंसकहरू ‘देअर इज वन्ली वन पेले !’ गीत गाउँदा निकै रमाउँछन् । तर गीतमा भनिए झैँ वास्विकतामा एक जनामात्र पेले छन् भन्ने होइन । विश्वभर फुटबल मैदानमा र बाहिर पेले नामका धेरै व्यक्तिहरू छन् ।

अफ्रिकाका एक निकै चर्चित फुटबल खेलाडी अवेदी अयु हो । अवेदीे पेलेको नामले प्रसिद्ध थिए । उनले घाना र युरोपका धेरै क्लबबाट खेले । यस्तै इङ्ग्ल्यान्डमा केप भर्डीका डिफेन्डर पेड्रो मोन्टिरो, जो सन् २००६ मा साउथम्टन गए, उनी समेत बाल्यकालको बोलाउने नाम पेलेकै रूपमा चर्चित भए ।

पेलेको ख्यातिको अनुमान यस तथ्यबाट गर्न सकिन्छ किएडसन, त्यो नाम जसबाट पेलेलाई ब्याप्टाइज गरिएको थियो, त्यो पनि निकै चर्चित भयो । ब्राजिलियन इन्स्टिच्युट अफ जियोग्राफी एन्ड स्ट्याटिस्टिक्सका अनुसार सन् १९५० को दशकमा ब्राजिलका ४३,५११ व्यक्तिलाई एडसन नाम दिइएको थियो । दुई दशकपछि पेलेको गोल १००० नाघेपछि यो नामको संख्या बढेर १,११,००० पुगेको थियो ।

राष्ट्रपति बन्न चाहान्थे
सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न आफूले रुचाइरहेको बताएका थिए । त्यो कहिल्यै साकार भएन ।

तर पेलेले राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि १९९८ सम्म उनी ब्राजिलका खेलकुद मन्त्री भए । मन्त्री भएपछि उनले ब्राजिलका फुटबलरहरूलाई आफ्नो क्लब छनोट गर्न थप स्वतन्त्रता दिने कानुन बनाउनमा महत्त्वपूर्ण भूमिका खेले, जुन उनले खेल्दा सम्भव थिएन । –बीबीसीलगायतबाट

प्रतिक्रिया