यसरी तेस्रो पटक सिंहदरबार छिर्न सफल भए प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, १० पुष

काठमाडौं, १९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।

सत्ता गठबन्धनमा नयाँ सरकार निर्माण गर्नेबारे सहमति नभएपछि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रभु साहलगायत ७ पार्टीका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन् ।

नेपाली कांग्रेस माओवादीसहितको सत्ता गठबन्धनबाट स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव सहभागी भएका थिए । चुनावलगतै बन्ने सरकारको नेतृत्व प्रचण्डलाई दिने कांग्रेस र माओवादीबीच भद्र सहमति भएको थियो । तर, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले भद्र सहमति उल्लंघन गरेपछि प्रचण्ड एमालेसहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री हुन सफल भएका छन् ।

शुक्रबारको छलफलमा देउवाले पार्टीभित्रकै नेताहरू पहिलो चरणमा प्रधानमन्त्री दिन नमानेको जवाफ प्रचण्डलाई दिएका थिए । तर, पार्टीका नेताहरुसँगको छलफलमा भएकाले मिलाउने बचनसमेत दिएका थिए ।

शनिवार बेलुका पुनः देउवा र प्रचण्डसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताबीच छलफल सहभागी भएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिने अडानमा यथावत् राखेका थिए ।

राष्ट्रपति कांग्रेसकै भएपनि प्रधानमन्त्रीको पहिलो कार्य आफूले पाउनुपर्ने प्रचण्डले पूर्ववत् भद्र सहमतिसमेत सम्झाएका थिए । तर, देउवा आफ्नो अडानमा टस न मस भएपछि प्रचण्डले गठबन्धन टुटेको भन्दै खुमलटार लागेका थिए ।

बालुवाटारबाट खुमलटारमा केही बेर विश्रामपर्छि प्रचण्ड सिधै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट प्रस्थान गरेका थिए । प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनलगायत नेताहरू लाइन लागेर बालकोट पुगेका हुन् ।

बालकोटमा एमाले अध्यक्ष ओली सहित उपाध्यक्ष विष्णु पौडेल,महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायत नेताहरू सहभागी थिए । यस्तै ओली प्रचण्डसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत सहभागी भएका थिए ।

ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डको नेतृत्वमा बहुमत पु¥याएर नयाँ सत्ता गठबन्धनका नेताहरू शीतलनिवास पुगेका थिए ।

आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो ।

‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दाबी पेस गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको ब्यहोरा अनुरोध गर्दछौं । हामी हस्ताक्षरकर्ता दलहरूले प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सङ्ख्या कुल प्रतिनिधिसभा सदस्य सङ्ख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा(२)० बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गरिदिनुहुन अनुरोध छ’, निवेदनमा भनिएको छ ।

निवेदनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको थियो ।

संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । त्यस्तै प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।

तीन पटक प्रधानमन्त्री

प्रचण्ड पहिलेपटक २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए । तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवाल काण्डमा प्रचण्डले नौ महिना पुग्दा नपुग्दै राजीनामा दिन बाध्य भए ।

वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएपछि प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री हुन सफल भएका थिए । २०७३ साल साउन १९ गतेदेखि २०७४ साल जेठ २३ गते झण्डै १० महिना प्रधानमन्त्री हुने अवसर पाएका थिए ।

पहिलो संविधान सभा चुनावमा रोल्पा २ र काठमाडौँ १० बाट प्रत्यक्ष निर्वाचित हुन सफल भए । दोस्रो संविधान सभा चुनावमा काठमाडौँ १० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित हुन सफल भए । २०७४ सालको चुनावमा चितवन ३ बाट र यस निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया