चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान, हङकङ र मकाउबारे के भने ?
अखबार टुडे
प्रकाशित:
२०७९, ३० आश्विन

काठमाडौं, ३० असोज (एजेन्सी) । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनसँग पुर्नएकता गर्नका लागि ‘बल प्रयोग गर्नसमेत पछि नपर्ने’ आशय व्यक्त गरेका छन् ।

आइतबार बेइजिङमा सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सीले घुमाउरो पारामा ताइवानलाई चीनमा गाभ्न सक्ने आशय व्यक्त गरेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीले भने, ‘ताइवानको प्रश्न समाधान गर्ने विषय चीनको हो । हामी शान्तिपूर्ण एकीकरणका लागि इमानदारिताका साथ सक्दो प्रयास जारी राख्नेछौँ । तर हामी कहिले पनि शक्तिको प्रयोग गर्दैनौँ भनेर वचन पनि दिँदैनौँ । हामी आवश्यक सबै विकल्पहरू प्रयोग गर्न सक्छौँ ।’

राष्ट्रपति सीले यसो भनिरहँदा हलमा भरिभराउ प्रतिनिधिहरूले लामो ताली बजाएका थिए । चीनले ताइवनालाई आफ्नो भूभाग दाबी गर्ने गर्दै आएको छ । तर, स्वशासित ताइवानले आफूलाई मुख्य भूमिभन्दा भिन्न ठान्दै आएको छ ।

यस्तै, राष्ट्रपति सीले चीन प्रशासित हङकङ र मकाउका लागि ‘एक देश, देश दुई प्रणाली’ को व्यवस्था उत्कृष्ट साबित भएको र यही व्यवस्थालाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने आवश्यक्ता रहेको औंल्याए ।

सीले देशभक्तहरूद्वारा प्रशासित हुने र त्यहाँका नागरिकहरूले स्वायत्ततापूर्वक अधिकार उपभोग पाउने बताए । उनले भने, ‘हामीले एक देश, दुई प्रणालीअन्तर्गत हङकङका नागरिकले हङकङमा शासन गर्ने र मकाउका नागरिकले मकाउमा शासन गर्ने र उच्च तहको स्वयत्ततासहित कानूनी शासन लागू गर्नैपर्छ । त्यसो हुँदा हङकङ र मकाउका सरकारलाई माथिबाट केन्द्रीय सरकारले हेर्छ ।’

उनले दुवै मुलुकलाई विशेष प्रशासननिक क्षेत्र भन्दै त्यहाँ रहेका आर्थिक र सामाजिक समस्या समाधानका लागि दुई चीनको राष्ट्रिय रणनीतिमा अझैं बलियो गरि जोडने प्रतिबद्धतासमेत जनाए ।

‘हामीले हङकङ र मकाउलाई उनीहरूको अर्थतन्त्रको विकास, नागरिकको जीविकोपार्जनमा सुधार र आर्थिक र सामाजिक विकासमा रहेका अन्तरविरोधहरूलाई हल गर्न सहयोग गर्नुपर्छ,’ उनले भने, ‘जसले गर्दा हङकङ र मकाउलाई देशको समग्र विकास प्रक्रियासँग एकीकृत गरेर चीनको विकासमा कायापलट गर्न सकियोस् ।’

यस्तै, राष्ट्रपति सी जिन्पिङले आफ्नो विवादास्पद शून्य कोभिड रणनीतिको बचाउ गरेका छन् । शून्य कोभिडलाई उनले भाइरसको फैलावट रोक्न गरिएको पूर्ण आकारको जनताको लडाइँ भएको बताए ।

बिहीबारमात्रै बेइजिङमा लामो समयको लकडाउनले गर्दा पीडित बनेका व्यवसायी र सर्वसाधारणले सीको आलोचना गर्दै विरोध कार्यक्रम गरेका थिए । उनीहरुले दुर्लभ र नाटकीय रूपमा हुने आमविरोधमा सी र शून्य कोभिड नीतिको आलोचना गरेका थिए ।

पार्टी नेताहरूको चयन गर्न र मुख्य नीतिहरूमा बहस गर्नका लागि झण्डै २,३०० नेताहरू यतिखेर बेइजिङमा भेला भएका छन् । कङ्ग्रेस प्रतिनिधिहरूले यसबिचमा पोलिटब्युरो स्थायी समितिसहित कैयौँ नेताहरू निर्वाचित गर्ने अपेक्षा गरिएको छ ।

पोलिटब्युरोलाई चीनको राष्ट्रपतिय मन्त्रीमण्डल सरह ठानिन्छ । तर, जानकारहरूका भनाइमा २०औँ पार्टी कंग्रेसमा सी जिन्पिङको एउटा मात्र पक्ष भएको देखिन्छ । यस कंग्रेसमा उनले महासचिव र सेनाध्यक्षको कार्यकाल थप गर्ने ठानिएको छ ।

दशकौँ लामो परम्पराभन्दा भिन्न प्रतिनिधिहरूले सीलाई यस सम्मेलनमार्फत् तेस्रो कार्यकालका लागि पार्टी प्रमुख बनाउने सम्भावना छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेताका रूपमा तेस्रो कार्यकालले सीलाई माओत्सेदोङ पछिको सबैभन्दा शक्तिशाली नेता हुने बाटो खोल्नेछ ।

प्रतिक्रिया