भारतमा बनेका खोकीका यी औषधिको उत्पादन रोक्ने डब्ल्यूएचओको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७९, २१ आश्विन

काठमाडौं, २१ असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतमा उत्पादित रुघाखोकी रोक्ने विभिन्न औषधिहरूलाई उत्पादन रोक्ने चेतावनी दिएको छ । द गाम्बियामा ६६ जना बालबालिकाको मृत्युलाई लिएर डब्लूएचओले यस्तो चेतावनी जारी गरेको हो ।

पश्चिम अफ्रिकी मुलुक गाम्बियामा बच्चाहरूको मिर्गौलामा खराबी आएर मृत्यु भएकोमा गरिएको अनुसन्धानपछि डब्ल्यूएचओले यसबारे उत्पादक मेइडन फार्मास्युटिकल्स र भारतीय अधिकारीहरूसँग मिलेर थप अनुसन्धान गर्ने जनाएको छ ।

डब्लूएचओले उक्त खोकीको औषधिको विक्री रोक्न नियामक निकायहरूलाई सुझाव समेत दिएको छ । डब्ल्यूएचओले आफ्नो वेबसाइटमा उत्पादन चेतावनी राखे पनि भारतको स्वास्थ्य मन्त्रालय र औषधि नियामक निकायले औपचारिक प्रतिक्रिया दिएको छैन ।

भारतीय सरकारी अधिकारीहरूले बीबीसीलाई नाम नखुलाउने सर्तमा जनाएअनुसार भारतको नियामक निकायले २९ सेप्टेम्बरमा उक्त विषयबारे सूचना प्राप्त गरेपछि अनुसन्धान शुरू गरिसकेको छ । नियामक निकायले डब्ल्यूएचओलाई प्रश्न उठेको उत्पादन र त्यसको मृत्युसँगको सम्बन्ध स्थापित हुने उसको रिपोर्ट गर्न भनेको अधिकारीहरूले बताएका छन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहनम गेहब्रेयससले बुधबार उक्त उत्पादनबारे बोलेका थिए । उनले खोकी रोक्ने ती चारवटा औषधिको नमुनाको परीक्षण गरेपछि उक्त निर्णयमा पुगेको बताएका थिए ।

डब्ल्यूएचओले त्यस्ता समस्याग्रस्त खोकीको औषधिको नाम कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप रहेको जनाएको छ ।

यो स्वास्थ्य निकायले भनेको छ– प्रयोगशाला अनुसन्धानपछि ती कफ सिरपहरूमा डाइइथाइलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोलको ‘अस्वीकार्य मात्रा’ रहेको पाइएको थियो । ती तत्वको त्यस्तो मात्रा मानवका लागि विषाक्त तहको भएको र त्यसको सेवन गरेमा मृत्यु हुन सक्ने बताएको छ ।

डब्ल्यूएचओका अनुसार ती उत्पादनहरू अहिलेसम्म गाम्बियामा मात्र पाइएका छन्, तर अनौपचारिक बजार प्रणालीमार्फत् अन्य मुलुकमा पनि पु¥याइएको हुन सक्छ ।

उसले भनेको छ, ‘ती औषधीका सबै ब्याचका उत्पादन सम्बन्धित नियामक निकायले विश्लेषण नगरेसम्म असुरक्षित मानिनुपर्छ ।’ तर माथिका स्रोतले जनाएअनुसार उक्त कम्पनीले खोकीका ती औषधिहरू अहिलेसम्म गाम्बियामा मात्र निर्यात गरिएको जनाएको छ । अति तीव्र गतिमा विकास भइरहेका फार्मास्युटिकल कम्पनीहरूले भारतमा औषधि उत्पादन गर्ने गर्छन् ।

त्यसैकारण भारतलाई विश्वको औषधि पसल भन्ने गरिन्छ र भारतले नै अफ्रिकी देशहरूको धेरैजसो औषधीय माग पूरा गर्छ ।
उत्तरी राज्य हरियाणास्थित मेइडन फार्मास्युटिकल्सले आफ्ना उत्पादनहरू एशिया, अफ्रिका र दक्षिण अमेरिकामा निर्यात गर्ने गरेको रोयटर्स समाचार संस्थाले जनाएको छ ।

गाम्बियाका मेडिकल अधिकारीहरूले दर्जनौँ बालबालिकामा गम्भीर किसिमको मिर्गौलाको समस्या भएको पाइएपछि त्यसमाथि प्रश्न उठाएका थिए ।

गाम्बियाको स्वास्थ्य सेवा निर्देशक मुस्तफा बितायेले रोयटर्सलाई जनाएअनुसार पछिल्ला हप्ताहरूमा मृत्यु हुनेको सङ्ख्या घटेको छ र देशले ती उत्पादनको विक्रीमा प्रतिबन्ध लगाएको छ ।
(बीबीसी नेपालीबाट)

प्रतिक्रिया