रानी एलिजाबेथ द्वितीय: कर्तव्यको मार्गमा आत्मसमर्पणको लामो यात्रा
अखबार टुडे
प्रकाशित:
२०७९, २४ भाद्र

काठमाडौं, २४ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनपछि अब ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् । उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो ।

ब्रिटेनकी महारानी एलिजाबेथको करिब सात दशक लामो शासनकाल निकै उथलपुथलयुक्त रह्यो । उनी बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी थिइन् ।

महारानी एलिजाबेथलाई आफ्नो जिम्मेवारी पूरा गर्ने दृढ संकल्पका लागि सधैं सम्झिनेछन् । उनले आफ्नो सम्पूर्ण जीवन आफ्नो ताज र जनताको नाममा समर्पण गरेकी थिइन् । हरेक जिम्मेवारी उनी निपूण तरिकाले निभाइन् ।

उनको ७० वर्षको शासनकालमा इङ्ल्यान्ड मात्रै होइन, सारा विश्व ठूलो उथलपुथलको अवधिबाट गुज्रियो । कहिले आर्थिक चुनौती, कहिले राजनीतिक संकट । तर यस उथलपुथलमा, जनतामा विश्वास जगाउने एउटा मात्र नाम थियो, रानी एलिजाबेथ ।

सारा विश्वमा बेलायतको हैसियत घट्दै गएको बेला एलिजाबेथ बेलायतकी महारानी बनेकी थिइन् । समाजमा क्रान्तिकारी परिवर्तनहरू भइरहेका छन् । बेलायतमा धेरै मानिसहरूले राजतन्त्रको भूमिकामाथि प्रश्न उठाइरहेका थिए ।

तर उनले यी चुनौतीहरूको दृढतापूर्वक सामना गरिन् । उनले आफ्नो जिम्मेवारी निकै बुद्धिमानीपूर्वक पूरा गरिन् र बेलायती राजपरिवारमा जनताको विश्वास कायम राख्न ठूलो भूमिका निभाइन् ।

एलिजाबेथ एक दिन बेलायतकी महारानी बन्छिन् भन्ने कसैले सोचेका थिएनन् । उनको जन्म २१ अप्रिल १९२६ मा बर्कलेमा भएको थियो । एलिजाबेथ, त्यतिबेलाको ब्रिटेनका राजा जर्ज पञ्चमका दोस्रो छोरा, ड्युक आफ योर्क, अल्बर्टकी जेठी छोरी हुन् ।

एलिजाबेथ कहिल्यै विद्यालय गइनन् । उनको र कान्छी बहिनी मार्गरेटको शिक्षा दरबारमा नै भएको थियो । एलिजाबेथ आफ्ना बुबा र हजुरबुबा दुबैका धेरै प्रिय थिइन् । ६ वर्षको उमेरमा घोडा चढ्न सिक्दै गर्दा, उनले आफ्ना उस्तादलाई आफू एक गाउँले केटी बन्न र धेरै नै घोडा र कुकुर पाल्न चाहेको बताएकी थिइन् ।

बाल्यकालदेखि नै उनी असाध्यै व्यवहारिक थिइन् । पूर्व बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल पनि उनीबाट धेरै प्रभावित थिए । चर्चिलले महारानी एलिजाबेथ बारे बोल्दै यति कम उमेरमा पनि उनी निकै प्रभावशाली देखिन्छिन् भनेका थिए ।

कहिल्यै स्कूल नगए तापनि एलिजाबेथले धेरै भाषाहरू सिकिन् । उनले बेलायतको संवैधानिक इतिहास पनि राम्ररी अध्ययन गरिन् । एलिजाबेथ र उनकी बहिनी मार्गरेटलाई उनीहरूको उमेरका केटीहरूसँग भेटघाट गराउनका लागि बकिंघम प्यालेसको नाममा गर्ल्स गाइड कम्पनी बनाइएको थियो ।

सन् १९३६ मा बेलायतका राजा जर्ज पाँचौंको मृत्युपछि उनका जेठा छोरा डेभिड, एडवर्ड आठौंको नामले सिंहासनमा बसे तर एडवर्डले अमेरिकी महिला वालिस सिम्पसनलाई आफ्नो जीवनसाथी रोजे । सिम्पसनको दुई पटक सम्बन्धविच्छेद भएको थियो । उनको धार्मिक झुकाव बारे पनि बेलायतमा धेरै विरोध भएको थियो । यस कारण एडवर्ड आठौंले सिंहासन त्यागे ।

यसपछि, एलिजाबेथका पिता, ड्यूक अफ योर्क, राजा जर्ज छैठौंको नाममा सिंहासनमा बसे । एलिजाबेथका बुबा राजा बन्न चाहँदैनथे । पिता सिंहासनमा बसेपछि एलिजाबेथलाई आफ्नो आउँदो जिम्मेवारी महसुस हुन थालेको थियो । पछि उनले यो अनुभवलाई निकै राम्रो बताइन् ।

त्यतिबेला हिटलरको शक्ति तीव्र गतिमा बढिरहेको थियो । युरोपमा बढ्दो द्वन्द्वको बीच, राजा जर्ज छैठौं आफ्नो परिवारसँग देश भ्रमणमा निस्किए । एलिजाबेथले आफ्नो बुबाको यस भ्रमणबाट धेरै कुरा सिकिन् ।

सन् १९३९ मा, १३ वर्षको उमेरमा, एलिजाबेथ आफ्नो बुबा र आमासँग डार्टमुथको रोयल नेभल कलेज गइन् । यहाँ उनले आफ्ना भावी पति, ग्रीसका राजकुमार फिलिपलाई भेटिन् । तर, यी दुईबीचको यो पहिलो भेट भने थिएन । तर जब दुई जना नेभल कलेजमा भेटे, एलिजाबेथले प्रिन्स फिलिपमा चासो लिन थालिन् ।

बिदाको समयमा राजकुमार फिलिप पनि आफ्ना शाही आफन्तहरूलाई भेट्न लन्डन पुगेका थिए । सन् १९४४ आइपुग्दा सम्म, एलिजाबेथ राजकुमार फिलिपको प्रेममा परिसकेकी थिइन् । उनीहरुले एकअर्कालाई चिठी लेख्न थालिसकेका थिए । एलिजाबेथले राजकुमार फिलिपको तस्बिर आफ्नो कोठामा राख्न थालिसकेकी थिइन् ।

दोस्रो विश्वयुद्धको अन्त्यमा, राजकुमारी एलिजाबेथ सहायक क्षेत्रीय सेवामा सामेल भइन् । त्यहाँ उनले कार चलाउन र त्यसको मर्मत गर्न सिकिन् ।

८ मे, १९४५ मा, राजकुमारी एलिजाबेथले शाही परिवारसँग मिलेर विश्व युद्ध समाप्तिको उत्सव मनाइन् । यसमा ब्रिटेनको जीत भएको थियो ।

पछि उनले लेखेकी थिइन्, ‘हामीले आफ्ना अभिभावकसँग आम जनतामाझ जान अनुमति मागेका थियौँ । ताकि हामी जनताको खुशी महसुस गर्न सकौं । हामीलाई कसैले चिन्ने होे कि भन्ने डर थियो । त्यतिबेला लण्डनको मलमा यति धेरै भीड थियो कि एउटा रेल आयो र हामीलाई पनि लिएर गयो । ’

युद्ध पछि, उनी राजकुमार फिलिपसँग विवाह गर्न चाहन्थिन् । तर विभिन्न बाधा आए । एलिजाबेथका बुबा राजा जर्जले आफ्नी प्यारी छोरीलाई टाढा पठाउन चाहेनन् । यस्तै, प्रिन्स फिलिप अन्य देशको हुनु पनि आपत्तिको कारण थियो ।

तर, सबै बाधा हटे । २० नोभेम्बर १९४७ मा, दुबैले लन्डनको शाही क्याथेड्रल वेस्टमिन्स्टर एबेमा विवाह गरे । शाही परिवारमा विवाह पछि, प्रिन्स फिलिपले एडिनबर्गको ड्यूकको उपाधि प्राप्त गरे तर शाही नौसेनामा आफ्नो जागिर छोडेनन् । उनीहरुले बिहेपछि सामान्य जोडीजस्तै केही समय माल्टामा सँगै बिताए ।

प्रिन्स फिलिप र राजकुमारी एलिजाबेथको पहिलो सन्तान, प्रिन्स चार्ल्सको जन्म १९४८ मा भएको थियो । दुई वर्षपछि छोरी एन पनि जन्मिइन् । यसैबीच, एलिजाबेथका बुबा राजा जर्जको अवस्था बिग्रँदै गइरहेको थियो । उनलाई फोक्सोको क्यान्सर थियो ।

जनवरी १९५२ मा, एलिजाबेथ र उनको पति विदेश यात्रामा निस्किए । अस्वस्थताका बावजुद राजा जर्ज, छोरी र ज्वाईंलाई छोड्न विमानस्थलसम्म पुगे । यो बुबा र छोरीबीच अन्तिम भेट थियो ।

एलिजाबेथ र प्रिन्स फिलिप केन्यामा थिए जब उनीहरूले आफ्नो बुबाको मृत्युको बारेमा थाहा पाए । उनी तुरुन्तै बेलायत फर्किइन् । उनलाई तत्काल महारानी घोषित गरियो ।

त्यो समयको स्मरण गर्दै महारानी एलिजाबेथले लेखेकी छिन्, ‘मेरो बुवाको मृत्यु निकै चाँडै भयो । उहाँसँग बस्दा मैले शाही कर्तव्यहरू पनि सिक्ने मौका पाइनँ । त्यसैले अचानक पाएको यो जिम्मेवारीलाई सही तरिकाले निभाउने चुनौती मेरो अगाडि थियो ।’

राज्याभिषेक
जून १९५३ मा एलिजाबेथको राज्याभिषेकलाई पूरा विश्वभरी टिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो । धेरै मानिसहरुले पहिलो पटक टिभीमा कुनै कार्यक्रमको प्रत्यक्ष प्रसारण हेरेका थिए । त्यतिबेला बेलायत दोस्रो विश्वयुद्ध पछि कटौतीको अवधिबाट गुजिरहेको थियो ।

प्रधानमन्त्री विन्स्टन चर्चिललाई यो कार्यक्रम पैसाको बर्बादी मात्र जस्तो लागेको थियो । उनी प्रत्यक्ष प्रसारणविरुद्ध थिए । तर ब्रिटेनका सर्वसाधारणले नयाँ महारानीलाई हात–हातमा लिएका थिए ।

विश्वयुद्धपछि बेलायतको हैसियत निकै कम भएको थियो । उनको साम्राज्य संकुचित भएको थियो । भारतलगायत धेरै देश बेलायती शासनबाट मुक्त भएका थिए । यस्तो अवस्थामा बेलायतको गौरव फिर्ता ल्याउन महारानी एलिजाबेथले कमनवेल्थ देशको भ्रमण गर्ने निर्णय गरिन् । उनी अष्ट्रेलिया र न्युजिल्याण्ड भ्रमण गर्ने बेलायतकी पहिलो महारानी थिइन् । उनलाई अष्ट्रेलियाका दुई तिहाइ नागरिकले निकै नजिकबाट हेरेको बताइन्छ ।

अन्य देशहरू बेलायतबाट स्वतन्त्र हुँदै जाँदा, राष्ट्रमण्डलमा महारानीको लगाव बढ्दै गयो । कतिपयले बेलायती कमनवेल्थलाई युरोपेली आर्थिक समुदायको विरुद्धमा खडा गर्न सकिन्छ भन्ने पनि सोचेका थिए ।

व्यक्तिगत आक्रमण
तर, महारानीको सबै प्रयासको बावजुद, बेलायतको शक्तिको पतन रोक्न सकेन । सन् १९५६ को स्वेज नहर संकटले बेलायतको सम्मानमा थप ठेस् पुर्यायो । जब इजिप्टले स्वेज नहरलाई राष्ट्रियकरण गर्यो तब त्यसलाई रोक्न पठाइएका ब्रिटिश सेनाहरु यत्तिकै फिर्ता हुनु पर्यो । बेलायतका प्रधानमन्त्री एन्थनी इडेनले यसका लागि राजीनामा दिनुपरेको थियो ।

प्रधानमन्त्रीको राजीनामाका कारण महारानी एलिजाबेथ राजनीतिक संकटमा फसिन् । सत्तारुढ कन्जरभेटिभ पार्टीमा नयाँ नेता छान्ने प्रक्रिया टुंगिएको थिएन । तर प्रधानमन्त्री बिना देश चलाउन सकिँदैनथ्यो । त्यसैले रानीले ह्यारोल्ड म्याकमिलनलाई नयाँ सरकार गठन गर्न आमन्त्रित गरिन् ।

यस अवधिमा रानीले व्यक्तिगत आक्रमणको सामना गर्नुपरेको थियो । लर्ड अल्ट्रिन्चमले उनीमाथि धेरै आरोप लगाए । लिखित प्रतिलिपि बिना कुनै भाषण दिन नसक्ने उनको आरोप थियो ।

राजतन्त्रदेखि शाही परिवारसम्म
महारानी विरुद्धको यस्तो बयान पछि लर्ड अल्ट्रिन्चमलाई पनि आक्रमण गरिएको थियो । तर यो घटनाबाट एउटा कुरा प्रस्ट भयो कि बेलायती राजपरिवारको बारेमा जनताको धारणा परिवर्तन हुँदैछ । अब मानिसहरूले प्रश्न गर्न थालेका थिए ।

आफ्नो पतिको सल्लाहमा, महारानी एलिजाबेथले आफूलाई नयाँ समय अनुसार ढाल्न सुरु गरिन् । शाही दरबारका धेरै प्रथाहरू खारेज गरियो । रानीले राजतन्त्रको सट्टा शाही परिवार शब्दको प्रयोगमा जोड दिन सुरु गरिन् ।

सन् १९६३ मा ह्यारोल्ड म्याकमिलनले प्रधानमन्त्रीको पद छोडेपछि महारानीले अर्को राजनीतिक चुनौतीको सामना गर्नु पर्यो । त्यतिन्जेलसम्म पनि कन्जरभेटिभ पार्टीमा नेता चयन गर्ने नयाँ प्रणाली तय भइसकेको थिएन । यस्तो अवस्थामा, म्याकमिलनको सल्लाहमा, रानीले अर्ल अफ होमलाई नयाँ सरकार गठन गर्न बोलाइन् ।

हुन त बेलायतकी महारानीको रूपमा, उनीसँग धेरै संवैधानिक अधिकार थिएन । तर उनी सूचना र सल्लाहको अधिकारको बारेमा धेरै सचेत थिइन् । तर उनले आफ्नो संवैधानिक सीमा नाघ्ने प्रयास कहिल्यै गरिनन् ।

यद्यपि, त्यसपछि रानीले त्यस्तो समस्याको सामना गर्नु परेन । ६० को दशकको उत्तरार्धमा, शाही परिवारले आम जनतासँग नजिक हुने निर्णय गरेका थिए ।

बीबीसीले शाही परिवारमाथि एउटा डकुमेन्ट्री बनाएको थियो जसमा शाही परिवारका सदस्यहरूलाई पहिलो पटक साधारण मानिसजस्तै काम गरेको देखाइएको थियो । महारानीका पति प्रिन्स फिलिप काम गरिरहेको देखिएका थिए । शाही परिवारका अन्य सदस्यहरूले आफ्नो क्रिसमस ट्री सजाएको देखाइएको थियो । परिवारका पुरुषहरूले आफ्ना छोराछोरीलाई घुमाइरहेको देखाइएको थियो ।

यो डकुमेन्ट्रीमा धेरैले आपत्ति जनाएका छन् । राजपरिवार सर्वसाधारणजस्तै देखिन थालेको उनीहरुको भनाई थियो । केहीका आपत्ति बाहेक यो डकुमेन्ट्रीलाई आम जनताले निकै प्रशंसा गरे । सन् १९७७ मा, जब महारानी को राज्याभिषेक को पच्चीसौं वार्षिकोत्सव मनाइयो तब मानिसहरूले धुमधामका साथ उत्सव मनाए ।

दुई वर्षपछि, मार्गरेट थ्याचर बेलायतको पहिलो महिला प्रधानमन्त्री भइन् । यद्यपि, महारानी एलिजाबेथसँग उनको सम्बन्ध सामान्य थिएन । महारानीलाई थ्याचरको व्यवहार मन परेन ।

कारण यो हो कि महारानी ब्रिटिश राष्ट्रमण्डल र विशेष गरी पुरानो अफ्रिकी उपनिवेशहरूसँग सम्बन्ध सुधार गर्न धेरै चासो राख्थिन्, तर अफ्रिकी देशहरूप्रति मार्गरेट थ्याचरको दृष्टिकोण रानीलाई मन परेन ।

आलोचना र समस्या
एकपछि अर्को गरी वर्षौंसम्म एलिजाबेथले महारानीको रूपमा आफ्नो सम्पूर्ण जिम्मेवारीहरू निभाइरहिन् । सन् १९९१ को खाडी युद्धपछि उनी अमेरिकाको भ्रमणमा गइन् । त्यहाँ उनी अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने पहिलो बेलायती महारानी बनिन् । अमेरिकी राष्ट्रपति जर्ज बुसले उनको धेरै प्रशंसा गरेका थिए ।

तर नब्बेको दशक शाही परिवारको लागि धेरै खराब थियो । महारानी एलिजाबेथका अर्का छोरा ड्युक अफ योर्क र उनकी श्रीमती सारा अलग्गिए । यसैगरी उनकी छोरी राजकुमारी ऐनको पनि उनका श्रीमान् मार्क फिलिप्ससँग सम्बन्धविच्छेद भयो । पछि, प्रिन्स चार्ल्स र राजकुमारी डायना बीचको तीतो सम्बन्धको वास्तविकता पनि सार्वजनिक भयो । पछि दुवै अलग भए ।

९० को दशकमा नै शाही दरबार विन्डसर दरबारमा भीषण आगलागी भएको थियो । यसपछि बेलायतमा दरबार मर्मतको खर्च कसले बेहोर्ने भन्ने बहस चलेको थियो । मर्मतको काम शाही खर्च वा बेलायती जनताको पैसामा, कसरी हुन्ने भन्ने विषयमा ब्रिटेनका जनता दुई भागमा विभाजित देखिएका थिए ।

महारानीले यसको हल पनि निकालिन् । बकिङ्घम प्यालेस दरबारको मर्मत खर्चको लागि यसलाई सर्वसाधारणका लागि खुल्ला गरियो । यस्तै महारानी र उनका युवराज प्रिन्स अफ वेल्स, दुबैले आफ्नो आम्दानीको कर तिर्ने पनि राज परिवारले घोषणा गर्यो ।

सन् १९९२ लाई महारानी एलिजाबेथले आफ्नो जीवनको सबैभन्दा खराब वर्ष भनिन् । उनले एक भाषणमा कुनै पनि संस्था वा मानिस जवाफदेहिताबाट भाग्न नहुने बताइन् । बेलायतको राजपरिवार पनि कुनै पनि प्रकारको अनुसन्धानका लागि तयार भएको उनले स्पष्ट पारिन् ।

खैर, खराब परिस्थितिको बीचमा सुखद समाचार आयो । दक्षिण अफ्रिकाले रंगभेद अन्त्यको घोषणा गरेको थियो । रानी सधैं राष्ट्रमंडल देशहरूसँग सम्बन्धमा चासो राख्थिन्, त्यसैले उनले रंगभेदको अन्त्य पछि सन् १९९६ मा दक्षिण अफ्रिकाको भ्रमण गरिन् ।

वेल्सकी राजकुमारी डायनाको निधन
घरेलु मोर्चामा, रानीले शाही परिवारको सम्मान कायम राख्ने चुनौतीको सामना गर्नुपरेको थियो । तर राजकुमारी डायना र प्रिन्स चार्ल्स बीचको उथलपुथल सम्बन्ध र बिछोडको कारण शाही परिवारको प्रतिष्ठा खस्किएको थियो । सन् १९९७ मा राजकुमारी डायनाको मृत्यु पछि, जनता पूर्ण रूपमा शाही परिवारको विरुद्धमा परे । व्यक्तिगत रूपमा रानी विरुद्ध धेरै आरोपहरू लागेका थिए ।

पेरिसमा भएको दुर्घटनामा राजकुमारी डायनाको मृत्यु भएपछि डायनालाई श्रद्धाञ्जली दिन हजारौं मानिस आफ्नो घरबाहिर निस्केका थिए । केही समय पछि, उनले राजकुमारी डायनाको मृत्युमा देशको नाममा सन्देश दिइन् । उनले देशलाई बचन दिँदै शाही परिवार आफूलाई परिवर्तन गर्दै समयको हिसाबले चल्ने कोसिसस गर्ने बताइन् ।

सन् २००२ मा, उनको शासनको पचासौं वर्षगाँठमा, रानीले व्यक्तिगत आघात भोगिन् । उनकी आमा, राजकुमारी मार्गरेटको मृत्यु भएको थियो । यद्यपि, उनको राज्याभिषेकको पचासौं वार्षिकोत्सव धूमधामका साथ मनाइयो ।

लन्डनको द मलमा दश लाखभन्दा बढी मानिसहरु उत्सव मनाउन भेला भएका थिए । जब रानी अप्रिल २००६ मा उनको ८० औं जन्मदिनमा जनतालाई भेट्न बाहिर गइन्, विन्डसर दरबारको अगाडि अत्यधिक भीड जम्मा भएको थियो ।

सन् २००७ मा, रानी एलिजाबेथ र राजकुमार फिलिपले आफ्नो ६० औं विवाह वार्षिकोत्सव मनाए । यस अवसरमा वेस्टमिन्स्टर एबेको रोयल चर्चमा विशेष प्रार्थना गरिएको थियो । जसमा दुई हजार मानिस सहभागी थिए ।

अप्रिल २०११ मा, शाही परिवारमा अर्को खुसीको अवसर आयो । जब रानीका नाती प्रिन्स विलियमले केट मिडलटनसँग विवाह गरे । सारा देशले यो शाही विवाहको उत्सव मनायो ।

मे २०११ मा, रानी एलिजाबेथ आयरल्याण्ड भ्रमण गर्ने पहिलो ब्रिटिश महारानी बनिन् । उनले आयरल्याण्डसँगको ऐतिहासिक तनाबपूर्ण सम्बन्ध सुधार्न पहल गरिन् । रानीले आयरिश जनतामाथि बेलायतको पुरानो दमनप्रति खेद पनि व्यक्त गरिन् ।

सन् २०१२ मा उत्तरी आयरल्याण्डको भ्रमणमा, उनले ब्रिटिश सरकार विरुद्ध विद्रोही संगठन, आयरिश रिपब्लिकन आर्मीका नेता मार्टिन म्याकगिनससँग हात मिलाएर नयाँ सन्देश दिने प्रयास गरिन् । सोही आयरिश रिपब्लिक आर्मीले कुनै बेला महारानीका काकाका भाइ लर्ड माउन्टबेटनको हत्या गरेको थियो ।

महारानीको राज्याभिषेकको ६०औँ वार्षिकोत्सव पनि त्यो वर्ष धुमधामका साथ मनाइएको थियो । सन् २०१४ मा रानीका लागि राजनीतिक रूपमा कठिन समय पनि आयो । स्कटल्याण्डमा बेलायतबाट अलग हुने जनमत संग्रह भएको थियो । रानीले सधैं बेलायतको एकतालाई समर्थन गरेकी थिइन् । उनी जनमत संग्रहद्वारा स्कटल्याण्ड अलग होस् भन्ने चाहन्नथिन् ।

यसअघि, रानीले बालमोरल महल बाहिरका मानिसहरूलाई बुद्धिमानी निर्णय लिन अपील गरिन् । सायद जनताले उनको मनको कुरा सुने र स्कटल्याण्डको अलगावको प्रस्तावलाई आवश्यक समर्थन प्राप्त भएन ।

जब सर्वेक्षणको तथ्याङ्क बाहिर आयो, रानीले राहतको सास फेरिन् । सन् १९९७ मा संसदमा दिएको भाषणमा उनले बेलायतको एकता कायम राख्ने बाचा गरेकी थिइन् । त्यो जिम्मेवारी पूरा गर्न महारानी सफल भइन् ।

यस अवसरमा महारानीले भनेकी थिइन्, ‘अब हामी अगाडि बढिरहेका छौं, हामीले यो याद गर्नुपर्छ कि धेरैले आफ्नो फरक मत व्यक्त गरेका छन् । तर, यी सबैमा एउटा कुरा छ जसमा सबै सहमत हुनेछन् । यो हो कि हामी सबै स्कटल्याण्डलाई धेरै माया गर्छौं ।’

९ सेप्टेम्बर २०१५ मा, उनी रानी भिक्टोरिया भन्दा पनि लामो समयसम्म शासन गर्ने रानी बनिन् । तर, महारानी एलिजाबेथले यसमा खासै खुसी व्यक्त गरिनन् ।

उनका श्रीमान् प्रिन्स फिलिप लामो समयसम्म बिरामी भएपछि ९ अप्रिल २०२१ मा मृत्यु भयो । महारानी एलिजाबेथको शासनकालको अन्त्यमा, शाही परिवारको हैसियत सन् १९५२ मा उनको राज्याभिषेकको समयमा थियो जस्तो उच्च छैन । तर सामान्य बेलायती नागरिकहरु माझ उनी राजपरिवारको हैसियत र स्नेह कायम राख्न सफल भइन् ।

उनको राज्याभिषेकको पच्चीसौं वार्षिकोत्सवमा, रानी एलिजाबेथले तीस वर्ष अघि गरेको शपथ सम्झेकी थिइन् । त्यो बचन उनले दक्षिण अफ्रिकाको भ्रमणमा आफ्नो जनतासँग गरेकी थिइन् । उनले

‘म २१ वर्षको हुँदा जनताको सेवामा समर्पित भएँ । त्यतिबेला मैले यो जिम्मेवारी पूरा गर्न भगवानसँग सहयोग मागेको थिएँ । ती मेरा बाल्यकालका दिन थिए । जब मलाई सहि र गलत बिचको फरक थाहा थिएन । तर मैले त्यो बेला गरेको बाचामा। म अझै अडिग छु । त्यतिबेलाको एक शब्दबाट पनि म पछि हटेको छैन ।’ – बीबीसीबाट

प्रतिक्रिया