विनासर्त रिहा भए गीतकार दर्पण राई : पक्राउबारे यस्तो छ स्पष्टिकरण
अखबार टुडे
प्रकाशित:
२०७८, २२ चैत्र

काठमाडौं, २२ चैत । करिब ढेड साताअघि केही अनलाइन पोर्टलहरुमा समाचार आयो, ‘चर्चित गीतकार दर्पण राई बाउन्स चेक प्रकरणमा पक्राउ’ कतिपयले ‘ठगी आरोप’मा समेत लेखे ।

उक्त समाचार झुुठ थिएन । ‘तिम्ले बाटो फेरर्यौ अरे’जस्ता चर्चित गीतका गीतकार दपर्ण राई पक्राउ परेको साँचो हो । तर, उनी मंगलबार विना सर्त रिहा भएका छन् ।

गीतकार दर्पण राई जुन आरोपमा पक्राउ परेका थिए, त्यो आन्तरिक थियो । मंगलबार उच्च अदालत पाटनले पनि त्यही फैसला गरेपछि उनी विनासर्त रिहा भए ।

‘म माथि अन्याय भयो’ सफाइ पाएपछि म्युजिक भिडियो निर्देशकसमेत रहेका गीतकार दर्पणले भने, ‘मलाई बाउन्स चेक प्रकरणमा पक्राउ गरिएको थियो । तर, म माथिको पक्राउ वैधानिक थिएन ।’

उनले बाउन्स चेक भएको भने स्वीकारे । ‘हो चेक बाउन्स भएकै हो, तर म मा नराम्रो नियत थिएन’ दर्पणले भने, ‘व्यवहार क्लियर गर्छु भनेकै थिएँ । गर्ने तयारी पनि गर्दैथिएँ । तर, न मलाई बैंकले बाउन्स चेकबारे जानकारी नै गराएन । अर्को कुरा पक्राउ पुर्जी थमाएलगत्तै पक्राउ गरियो । यो कानुन सम्मतः भएन ।’

यदि चेक बाउन्स भएमा सम्बन्धीत बैंकले खातालाई जानकारी गर्नुपर्ने हुन्छ । र, तीन पटकसम्म जानकारी गराएर पनि बेवास्ता गरेमा मात्र भुक्तानी पाउने व्यक्ति वा संस्थाले प्रहरीमा उजुरी गर्नुपर्ने हुन्छ । तर, आफूलाई बैंकले कुनै जानकारी नगराएको गीतकार दर्पणले बताए ।

आफ्नो काममा व्यस्त रहेकै बेला अचानक आफूमाथि भएको षडयन्त्रप्रति गीतकार दर्पण राई दुखित भएका छन् । आफूमाथि ‘दुश्मनी लागेको’ उनको भनाइ छ । केही वर्षयता गीतकारका रुपमा चर्चा बटुल्दै आएका दर्पण एक कुसल गीतकारमात्र नभएर मोडल एवं म्युजिक भिडियो निर्देशक पनि हुन् ।

चेक बाउन्स भए के गर्ने त ?

बैंक तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउनुपर्छ ।

यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैंकमा भुक्तानीका लागि आयो र त्यतिखेर पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैंक तथा वित्तीय संस्थाले उजुरी गर्नुपर्छ ।

हरेकपटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट माग्नुपर्छ । चेक बाउन्स हुँदा बैंकले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्दछन् । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैंक आफैले जानकारी दिने गर्दछ । तीनपटक पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले नै सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी गर्न सक्छ ।

दर्पणको गुनासो

केही समय आएका दर्पणबारे आएका समाचारहरुका अनुसार दर्पण राई ४८ लाखको चेक बाउन्स प्रकरणमा पक्राउ परेका थिए । केही अनलाइनहरमा ‘ठगी आरोपमा दर्पण पक्राउ परे’ भन्ने शीर्षकमा समेत समाचार आएको थियो । त्यसप्रति दर्पणको गुनासो छ ।

‘मैले ठगी गरेको होइन, व्यवहार गर्दै जाँदा केही तलमाथि भएको हो’ दर्पणले भने, ‘तर, केही नजिकै साथीहरुले मलाई ठगीको आरोप लगाउँदै समाचार बनाए । त्यसप्रति मेरो चित्त बुझाइ छैन । यदि ठगी गरेको भए अदालतले मलाई किन सफाइ दिन्थ्यो ? मलाई ठगीको आरोप लगाउनेहरुलाई मेरो प्रश्न छ ।’

अदालतले न्याय दिएकामा उनले खुसीसमेत व्यक्त गरे । उनले भने, ‘आखिर न्यायलय भनेको न्यायालय नै रहेछ ।’ आफूलाई विना प्रमाण ठगीको भिल्ला भिराउनेहरुमाथि कानुनी उपचार खोज्नेसमेत दर्पणले बताए ।

यस्तो छ राष्ट्र बैँकको निर्देशन

अर्बौं रुपैयाँभन्दा बढी रकमको चेक बाउन्स भएपछि नेपाल राष्ट्र बैंकले फर्म, कम्पनी, संस्था तथा कार्यालयको नाममा खिचिएका (भुक्तानीका लागि जारी भएका) चेकहरू अनिवार्यरूपमा एकाउण्टपेयी हुनुपर्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले खिचेका चेकहरूको अग्रभागको खाली स्थानमा अनिवार्य रूपमा चेक राइटर लगाउन पनि राष्ट्र बैंकको पछिल्लो निर्देशनमा उल्लेख छ ।

सो निर्देशनले चेकमा लेखिएको रकम अंक र अक्षरमा फरक परे अक्षरलाई मान्यता दिन सकिने पनि व्यवस्था गरेको छ । त्यसैगरी, बैङ्क तथा वित्तीय संस्थाको चेकको अग्रभागमा अन्य संस्थाको क्रस छाप वा कुनै पनि छाप लगाउन नपाइने, इलेक्ट्रोनिक चेक क्लियरेन्सको इमेज प्राप्त हुने भएकाले त्यसका पछाडि कालो रङमा डिजिटल हस्ताक्षर अनिवार्य हुनुपर्नेछ ।

प्रतिक्रिया