श्रीलङ्कामा २६ मन्त्रीको सामूहिक राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७८, २१ चैत्र

काठमाडौं, २१ चैत (एजेन्सी) । श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएको शिक्षामन्त्रीले पुष्टि गरेका हुन् । उनका अनुसार मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि रहेका छन् । तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा दिएका छैनन् ।

देशमा आर्थिक सङ्कट बढेपछि सरकारका विरुद्धमा आन्दोलन सुरु भएकाले सरकारले सङ्कटकाल लागू गरेको छ । सङ्कटकालसँगै राजनीतिक सङ्कट बढ्न थालेपछि उनीहरूले राजनीतिक सङ्कट न्यूनिकरण गर्न भन्दै राजीनामा दिएको बताइएको छ ।

श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँ गुज्रिएको छ । विदेशी मुद्राको अभावका कारण इन्धनको आयातको भुक्तान गर्न नसकिएपछि मुलुकमा बहुपक्षीय सङ्कट उत्पन्न भएको छ । अहिले दैनिक १२ घण्टा लोडसेडिङ हुने गरेको छ भने खाद्यान्न, औषधि र इन्धनको अभावका कारण सर्वसाधारण आक्रोशित भएका छन् ।

आक्रोशित जनता खाद्यान्न र इन्धन अभाव हुनुमा सरकार दोषी रहेको भन्दै सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलन चर्किदै गएपछि सरकारले ३६ घण्टाको कफ्र्यु घोषणा गरेको छ ।

आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबय राजापाक्षेको निवास घेराउ गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका कारण आन्दोलन अझ चर्किने देखेर सरकारले सङ्कटकाल घोषण गर्दै कफ्र्यु आदेश जारी गरेको हो ।

कर्फ्युका कारण मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी केही समयका लागि भन्दै सामाजिक सञ्जाल पनि बन्द गराएको छ ।

अहिलेको विरोध प्रदर्शनका कारण सन् २०१९ मा भएको निर्वाचनमा अत्यधिक मतसहित विजयी भएका राष्ट्रपति राजपक्षको लोकप्रियता पनि घटेको छ ।

प्रतिक्रिया