कोरोना महामारीपछि रुपाको अनुभव : मान्छेलाई पैसा नै चाहिने रहेछ (अन्तर्वार्ता)
अखबार टुडे
प्रकाशित:
२०७८, १० चैत्र

रुपा आङबुहाङ लिम्बूले कलाकारितामै एक दशक विताइसकेकी छन् । तर, रुपाको परिचय यतिमै काफी हुन्न । ताप्लेजुङकी रुपा व्यवसायी र समाजसेवा पनि गर्छिन् । कलाकारितामा उनको आफ्नै मान्यता छ । फिल्म होस् वा म्युजिक भिडियो, ‘कल्चरल’लाई प्राथमिकता दिन्छिन् उनी । रुपा भन्छिन्, ‘मेरा उद्देश्य आफ्नो कल्चरलाई प्रमोशन गर्नु हो, त्यसैले कल्चरल भिडियोहरुमै बढी गर्दै आएकी छु ।’ याक्थुङ हाक्पारे पालाम सयङकी अध्यक्षसमेत रहेकी रुपा दर्जनौँ भिडियोहरुमा देखिसकेकी छन् । पछिल्लो समय कृषि फार्म हाउस र सिक्वेन्स फेसन हाउसकी सञ्चालक उनी भन्छिन्, ‘मान्छेलाई पैसा नभइ नहुनेरहेछ, त्यसैले कलाकारिताभन्दा पनि अहिले ‘आर्थिक क्रान्ति’मा जोड दिन थालेकी छु ।’

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
आफ्नो व्यवसायी स्याहार्दैमा व्यस्त छु । कहिले फार्म हाउस, कहिले सिक्वेन्स फेसन हाउस धाएरै दिन बितिरहेको छ । कलाकारिता क्षेत्रमा चाहिँ अलिक सुस्ताएकी छु ।

तपाइँ कलाकार कि व्यवसायी ?

कलाकारिता एकातिर छ । खाशमा अहिले व्यवसायी बनेकी छु किनकि मान्छेलाई पैसा नभइ नहुने रहेछ । कोरोना महामारीपछि यो अनुभव भएको हो । त्यसैले आर्थिक क्रान्तितिर पो लागेकी छु ।

कलाकारिताचाहिँ रहर हो ?
रहर र इच्छा दुवै हो । रहरै रहरमा कलाकारितामा पनि एक दशक बिताइसकेँ । यो क्षेत्रमा समय बितेकै पत्तो नहुने रहेछ ।

तपाइँ कल्चरल भिडियोमा बढी देखिनुहुन्छ । यो रहर कि बाध्यता ?

रहर र बाध्यताभन्दा कल्चरप्रति मोह र प्राथमिकता हो । अहिलेसम्म मैले जति पनि भिडियो र फिल्म गरेकी छु, कल्चरल नै छन् । त्यसबाहेक पूर्वेली मौलिक लोकगीतका भिडियोहरु पनि गर्दै आएकी छु ।

तपाइँले फिल्ममा पनि काम गर्नुभएको छ ?
फिल्म पनि कल्चरल नै गरेकी छु । लिम्बू समुदायको संस्कृति र रहनसहनमा आधारित फिल्म ‘केः’मा अभिनय गरेकी छु । म्युजिक भिडियोमात्र काम गर्दै आएको बेला ‘केः’मा अफर आयो । सुरुमा गर्न सक्दिनँ कि जस्तो लाग्यो । खाशमा म कलाकार हुन जन्मेकी होइन जस्तो लाग्छ ।

हाक्पारे पालम सयङको अध्यक्ष हुनुहुन्छ । अहिले सयङको गतिविधि खाश देखिँदैन नि ?
याक्थुङ हाक्पारे पालम सयङमात्र होइन, कोरोना महामारीले सबै क्षेत्र प्रभावित बन्यो । महामारीका कारण काम गर्ने अवस्था भएन । कोरोना महामारी सामान्य अवस्थामा फर्किएसँगै गतिविधि अगाडि बढाउन छलफल भइरहेको छ । चाँडै ‘वेस्मा लाङ्योक–३’ गर्ने तयारी हुँदैछ ।

याक्थुङ हाक्पारे पालम सयङको उद्देश्य के हो ?

यो संस्थाको उद्देश्य र लक्ष्य भनेको लिम्बू भाषा, कला संस्कृति र भेषभूषाको संरक्षण र प्रवद्र्धन गर्नु हो । ‘वेस्मा लाङ्योक’ कार्यक्रममा यसैमा आधारित छ । यो एउटा विशुद्ध मौलिक एवं सांस्कृतिक कार्यक्रम हो । यो कार्यक्रमलाई धरान र ताप्लेजुङमा पनि गर्ने योजना बनाएका छौँ ।

आर्थिक क्रान्ति कतिको भइरहेको छ ?
कोरोना महामारी र लकडाउनका बेला ठप्प भएको व्यवसायी अहिले तंग्रिँदै छ । व्यापार बढ्दै गएको छ । जसले गर्दा महामारीका बेला निराश भएको मनमा आश पलाउन थालेको छ ।

कलाकारिताबाट खुसी हुनुहुन्छ कि हुन्न ?
खुसी छु किनकि, मैले जति पनि कलाकारिता क्षेत्रमा रहेर काम गरेकी छु, जीवन्त गरेकी छु । जसले भोलिका दिनमा पनि मलाई जीवन्त राख्ने छ भन्ने लागेको छ ।

तपाइँको पछिल्लो भिडियो कुन हो ?
कोरोना महामारीपछि नयाँ काम गरेकी छैन । त्यसअघि गीता पालुङवाको शब्दरचना र माया गुरुङको स्वर रहेको ‘कम्याक नुमा’ गीतको भिडियो गरेकी थिएँ । जुन भिडियोबाट हालै सम्पन्न ‘एफएलएफ अवार्ड–२०७८’मा उत्कृष्ट लिम्बू म्युजिक भिडियो अभिनेत्रीको अवार्ड पाएकी छु ।

कलाकारिता, व्यवसायी र समाजसेवामै व्यस्त हुनुहुन्छ । घरजम गर्ने सोच बनाउनुभएको छैन ?
यो कुरामा शुभ खबर छ । कतिपयले व्यक्तिगत सम्बन्धहरु देखाउन चाहन्छन् भने कोही लुकाउँछन् । मेरो सवालमा पनि अब सार्वजनिक गर्न मात्र बाँकी छ ।

यही अन्तवार्तामार्फत उहाँ (जो तपाइँलाई पाउने भाग्यमानी हुनुहुन्छ)को नाम सार्वजनिक गर्न मिल्दैन ?

योचाहिँ अहिले नगरौँ । चाँडै औपचारिकरुपमै उद्घोष गर्नेछु । त्यसबेलासम्म मेरो सोल्टीहरुलाई सस्पेन्स होस्, जबकि ‘कतै मै पो होकि’ भन्ने कौतुहलता गरोस् ।

प्रतिक्रिया