ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति पुष्टि गर्न ओलीलाई प्रचण्डको चुनौती, ओलीले के बोलेका थिए ?
अखबार टुडे
प्रकाशित:
२०७८, १ पुष

काठमाडौं, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति नभएको स्पष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले बिहीबार प्रेस जारी गर्दै एमाले अध्यक्ष केपी ओलीलाई सो आरोप पुष्टि गर्न चुनौती दिएका छन् । राजासँग पाँच बुँदे सहमति भएको भन्ने शत प्रतिशत झुटो कुरा प्रचार भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

एमालेका अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँचबुँदे सहमति भएको’ बताएका थिए । ओलीले भने यो आरोपको ‘फ्याक्ट’ चेक गर्ने जिम्मा आफूले नलिई ज्ञानेन्द्र र प्रचण्डलाई नै छाडेका थिए ।

प्रचण्डले ओलीलाई उक्त दाबी प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न समेत चुनौती दिएका छन् । उनले ओली झुट, बेइमानी र धोकाको अर्को नाम भएको भएको वक्तव्यमा उल्लेख गरेका छन् ।

ओलीले के बोलेका थिए ?

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँचबुँदे सहमति भएको’ दाबी गर्दै भनेका थिए, ‘साथीहरूलाई बताऊँ, प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर, सहमतिका साथ उपद्रव भएको थियो । त्यसपछि ०६० साल मङ्सिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति गरेर…, के सहमति भएको थियो त्यो ? कि ज्ञानेन्द्रले कि त प्रचण्डले भन्नुप¥यो नि । के सहमति भएको थियो ? कसका विरुद्ध सहमति भएको थियो ?’

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गर्ने कार्यक्रममा ओलीले यस्तो दावी गरेका हुन् । उनले यो आरोपको ‘फ्याक्ट’ चेक गर्ने जिम्मा आफूले नलिई ज्ञानेन्द्र र प्रचण्डलाई नै छाडेको समेत बताएका थिए ।

ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएपछि ज्ञानेन्द्रले देशव्यापी अभिनन्दन कार्यक्रम चलाएको ओलीले बताउँदै भने, भने, ‘त्यो सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए देशव्यापीरुपमा । लोकतान्त्रिक शक्ति रुकुम, रोल्पामा पाइलो टेक्न नसक्ने, नेताहरू जान नपाउने, त्यहाँ भएका नेताहरू मारिने । ज्ञानेन्द्र जाने र त्यहाँ धूमधाम स्वागत हुने । विराटनगर, यहीँ काठमाडौँमा पनि हामीले देख्यौँ, थापाथलीदेखि हिँडेर मंगलबजारसम्म उधुम स्वागत । को थिए स्वागत गर्ने ?’

शपथ ग्रहण गरेका केन्द्रीय सदस्यहरूलाई आगामी कार्यभारबारे निर्देशन दिने क्रममा केपी ओलीले नेपाली काँग्रेसलाई खराब तत्त्वहरूको साँठगाँठमा लागेको आरोप लगाए । उनले काँग्रेसलाई सच्चिन आग्रह गरे । ओलीले भने, अस्थिरताका निम्ति औजार भएका व्यक्तिहरू क्रियाशील छन् । त्यस्तो कुरालाई प्रयोग गर्न पुरानो इतिहास बोकेको नेपाली काँग्रेस (लागेको छ) । तर, नेपाली काँग्रेसको इतिहास पनि के हो भने सधैँ बाहिरबाट हतियार ल्याउने । नेपाली काँग्रेसले अहिलेसम्म खराब तत्त्वसँग साँठगाँठ गर्ने र देशभक्त र अग्रगामी, प्रगतिशील, वामपन्थी शक्तिका विरुद्ध जाइलाग्ने । सधैँ नेपाली काँग्रेसको नीति त्यही रह्यो ।’

अध्यक्ष ओलीले आगामी चुनावमा वामपन्थी शक्तिसँग एकता वा तालमेल होला कि भन्ने आफ्नै पार्टीका नेताहरूको आशालाई ‘भ्रम’को संज्ञा दिएका थिए ।

प्रेस वक्तव्य

दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।

म, के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । साथै माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।

आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।

०१ पुष, २०७८

पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष

प्रतिक्रिया