वर्षाका कारण धानबालीमा असर, किसान चिन्तित
अखबार टुडे
प्रकाशित:
२०७८, १ कार्तिक

काठमाडौं, १ कार्तिक । गएरातिदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशका किसान चिन्तित भएका छन् ।
चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो । दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएको कैलालीको गोदावरी नगरपालिकाका किसान भक्तराज ओझाले बताए ।

सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा चाडपर्वको समयमा पनि खेतमा पाकेर झुलिसकेको धान बाली भित्र्याउनमा केही दिन देखि किसान व्यस्त थिए । खेतमा पानी जमेपछि काटेर सुकाइएको पूरै धान भिजेर क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए ।

‘यसपाली विगतको भन्दा पाँच देखि सात प्रतिशत धान उत्पादन वृद्धि हुने अनुमान थियो,’ उनले भने, ‘आइतबार दिउँसोसम्म किसान धान काट्नमै व्यस्त थिए, राति अचानक भएको वर्षाले बालीमा क्षति पु¥यायो ।’ क्षतिको एकिन विवरण आउन भने समय लाग्ने बताइएको छ ।

थोरै जग्गा भएका किसानले केही दिन अघि नै बाली भित्र्याइसकेको भएपनि बढी जग्गामा खेती गर्नेले बाली भित्र्याइरहेका थिए । किसानको मुख्य आम्दानी स्रोतका रुपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् ।

प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । सबै भन्दा बढी कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ । यस्तै पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा यो खेती हुने गरेको छ ।

यस वर्ष बालीका लागि अनुकूल वर्षा भएकोले धान बालीको उत्पादन वृद्धि हुने आँकलन गरिएको थियो । यद्यपी धानबालीमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावका साथै कतिपय क्षेत्रमा फड्के र गबारो किराको समस्या देखिएको थियो ।

प्रतिक्रिया